क्रान्तिकारी माओवादी सम्बद्ध संगठनहरुले गरे ओली–सिके सम्झौताको घोर भत्र्सना (विज्ञप्तीसहित)

प्रकाशित मिति : २०७५ फाल्गुन २८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न ६ वटा संगठनहरुले हालै प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच भएको सम्झौतालाई राष्ट्रभाती भएको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।

क्रान्तिकारी माओवादी सम्बद्ध विभिन्न संगठनहरुका नेताहरुले आज संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै त्यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो । उनीहरुले सरकारले तयार गरेको नागरिकता सम्बन्धी विधेयक समेत परिमार्जनको माग अघि सारेका छन ।

पत्रकार, जनसाँस्कृतिक महासंघ, प्राध्यापक, मजदुर, लेखक लागयतका संघ, संगठनहरुले विज्ञप्तीमार्फत् त्यसको विरोध गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्ती तल रहेको छ ।

संयुक्त प्रेस वक्तक्य

“हालै संसदमा प्रस्तुत नागरिकता सम्बन्धी विधेयक नेपालको सार्वभामिक अखण्डता, स्वतन्त्रता र स्वाधीनतालाई आघात पार्ने र मुलुकको अस्तित्व नै समाप्त पार्ने उद्देश्यले ल्याइएको हुँदा हामी उक्त विधेयक तुरुन्त फिर्ता गरी राष्ट्रियतालाई समृद्ध पार्ने र सार्वभौमिकतामाथि कुनै आघात आउन नदिने रुपमा सुधार तथा परिमार्जन गरी मात्र विधेयक प्रस्तुत गर्न माग गर्दछौं । साथैं कुनै पनि प्रकारका राष्ट्रघात गर्ने मनसायका कुनै विधेयक पेश नगर्न पनि चेतावनी दिन चाहन्छौं । त्यसगरी भर्खरै राष्ट्रघातमा मुछिएका तथा विदेशी शक्तिबाट परिचालित कथित स्वतन्त्र मधेशी गठबन्धनका संयोजक सीके राउतसँग समाधानको नाममा गरिएको सम्झौता राष्ट्रको विखण्डन गराउने, स्वाधीनतालाई घात गर्ने, दलाल तत्वलाई प्रश्रय दिने र भारतीय विस्तारवादी स्वार्थलाई मलजल गर्ने प्रकारको रहेको हामीलाई लागेको छ । आफूलाई राष्ट्रवादी र कम्युनिस्ट भनिने शक्तिको सरकारबाट गरिएको यस किसिमको सम्झौताले देशको सार्वभौमिकता, अखण्डता र स्वाभिमानमाथि ठाडै प्रहार गर्ने काम घोर भत्र्सनायोग्य छ । हामी सो सम्झौता खारेज गरी राष्ट्रियताप्रति सम्मान गर्न अपिल गर्दछौं । र, कुनै पनि प्रकारका राष्ट्रघाती सम्झौता कुनै शक्तिसँग फेरि नगर्न पनि माग गर्दछौं ।

ईश्वरचन्द्र ज्ञवाली, अध्यक्ष, अखिल नेपाल जनसाँस्कृतिक महासंघ
प्रा. जगदिशचन्द्र भण्डारी, अध्यक्ष नेपाल राष्ट्रिय प्राध्यापक संगठन
इन्द्र राउत, अध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ
हुकुमबादुर सिंह, अध्यक्ष, नेपाल राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संघ
मित्रलाल पंगेनी, अध्यक्ष, अखिल नेपाल लेखक संघ
ईश्वर तिमिल्सेना, संयोजक, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ”