काठमाडौंको गोकर्णेश्वरमा देजमोको जनसुनुवाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन २८

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं जिल्लाको आयोजनामा मंगलबार गोकर्णेश्वरमा नागरिक÷जनसुवाइ कार्यक्रम सप्पन्न भएको छ । जनप्रतिनिधिहरुलाई स्थानीय जनताका समस्याहरुसँग प्रत्यक्षरुपमा साक्षात्कार गराउने र समस्याहरु समाधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले मोर्चाले जनसुनुवाइ कार्यक्रमको आयोजना गर्दै आएको छ ।
मंगलबार गोकर्णेश्वरमा आयोजित जनसुनुवाइ कार्यक्रममा वक्ताहरुले स्थानीय जनताले उठाएका समस्याहरुको समाधानका निम्ति ठोस कदम चाल्ने बताएका थिए । नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा नेता श्रेष्ठले स्थानीय जनसमुदायका समस्याहरु लगायत राष्ट्रियता, जनतन्त्र र जनजीवीका समस्या समाधान गर्न आफ्नो पार्टी दृढतापूर्वक संघर्षरत रहेको र रहने प्रतिबद्धता जनाए ।


मोर्चाका काठमाडौं जिल्ला कोषाध्यक्ष ढोग प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शेखर आचार्यले गरेका थिए । शिवहरी नेपालले स्वागत गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै प्रदेश सभा सदस्य समेत सहभागी रहेका थिए ।


बिनामुआब्जा अधिकार सम्पन्न बागमती सुधार आयोजनाले अधिग्रहण गरेको जमिनका बिषयमा व्यापक बिरोधका आवाज उठिरहेको र सरकारले स्थानीय किसानहरूको समस्या समाधान नगरी बिकासको नाममा आतंक मच्चाउन कोशिस गरिरहेको भन्दै स्थानीय जनताले सरकारको चर्को विरोध गरेका थिए ।