केपी शर्मा ओलीले सिके राउतसँग ११ बुँदे सम्झौता गरेर जुवा खेले : सीपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा १५ दिने मेची–महाकाली अभियान सम्पन्न गर्नु भएको छ । समग्रमा कस्तो रह्यो यो अभियान ? उद्देश्य हासिल गर्न अभियान कत्तिको सफल रह्यो ?

–देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यहि ०७५ फागुन ७ देखि २१ सम्म –मेची–महाकाली जनजागरण तथा जनपरिचालन अभियान’ संचालन गरेको थियो । फागुन ७ गते यसको उद्घाटन एकै साथ चार स्थानबाट भएको थियो– पूर्वको काकडभिटा, पश्चिमको गड्डाचौकी, राजधानी काठमाडौं र पोखराबाट । पूर्वको अभियान टिम अभियान संचालन गर्दै झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर हूँदै चितवन आइपुगेको थियो । यसैगरी पश्चिमको अभियान टोली पनि अभियान संचालन गर्दै कंचनपुर, कैलाली, बाँके, बर्दिया, दैलेख, दाड., कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर आदि जिल्ला हुँदै चितवन आइपुगको थियो । फागुन २१ गते चितवनको भरतपुरमा भव्य र शानदार जनसभा गरी यो अभियानका समापन गरिएको थियो । यसैगरी काठमाडौंमा उद्घाटन भैसकेपछि ३ नं प्रदेशका विभिन्न जिल्लामा अभियानको प्रचार प्रसार गरिएको थियो । यसैगरी पोखरामा उद्घाटन भएको कार्यक्रम पश्चात् ४ नं प्रदेशका जिल्लाहरुमा प्रचार प्रसार गरिएको थियो । यसप्रकार यो अभियानले एकपटक देशको ठुलो हिस्सालाई जगाउने र झक्झकाउने काम गरेको थियो । अभियानका दौरानमा यो सरकार बनिसकेपछि बढेको महँगी, कर बृद्धि, तस्करी, संस्थागत भ्रष्टाचार, बलात्कार र हत्या जस्ता जघन्य अपराध तथा राष्ट्रिय स्वाधिनता विरोधी जघन्य जनघाती र राष्ट्रघाती कामहरुको भण्डाफोरद्वारा जनतामा यो प्रतिकृयावादी सरकार, यो पश्चगामी संविधान र व्यवस्था कति घातक रहेछन् भन्ने विषयमा व्यापक जनचेतना बढाउने काम शानदार रुपमा सम्पन्न भयो ।
अभियानको अर्को र प्रमुख उद्देश्य थियो– यो लोकतान्त्रिक गणतन्त्रको प्रतिकृयावादी चरित्रको पर्दाफास गर्नु र यसको विकल्पमा संघीय जनगणतान्त्रिक व्यवस्थाबारे जानकारी गराउनु र त्यसको निमित्त संघर्षको तयारी गर्नु ।

अभियान यी सबै उद्देश्य हासिल गर्न मूलतः सफल भएको छ । करिब ५० जनाको अभियान टिम दिनरात सक्रियरुपमा सञ्चालन भइरहँदा संगठनमा गतिशीलता र क्रियाशिलता तीब्ररुपमा बढेको छ र क्रान्तिकारी आशावादको सञ्चार भएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीवीका लगायतका समस्याहरुका सवालमा जनताको बुझाई के कस्तो पाउनु भयो ? र यी सवालहरुलाई लिएर एउटा सशक्त आन्दोलनको तयारी गरिरहेको राजनीतिक शक्ति भएको हैसियतले मोर्चाबाट जनताले के कस्तो आशा अपेक्षा गरेको पाउनु भयो ?
–यतिखेर नेपाली जनतामा माथि उल्लेख गरिएका समस्याको समाधान छ कि छैन ? यो सररकार, यो व्यवस्था र यो संविधानको विकल्प छ कि छैन ? भन्ने विषयमा ठूलो भ्रम र अन्योल थियो । त्यो भ्रम र अन्योल धेरै मात्रामा साफ भएको छ । जनता अब आन्दोलन, संघर्ष र क्रान्तिबाट थकित भइसके, अब जनता जाग्नै सक्दैनन् भन्ने अवसरवादी र प्रतिक्रियावादीको चाहना अब चाँडै नै ध्वस्त हुँदैछ । जनता अब फेरि अर्को जनआन्दोलन आवश्यक छ भन्ने सोचाईमा पुगेका छन् । अन्य वैकल्पिक शक्ति देखा नपरेको अहिलेको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाबाट जनताले पर्याप्त अपेक्षा गरेका छन् । अब हामी देशको क्रान्तिकारी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने सम्भावना प्रवल बनेको छ ।

अभियानकै क्रममा जनयुद्ध तथा जनआन्दोलनका सहिद परिवारहरुसँग पनि सहिद सप्ताहको सन्दर्भ पारेर भेटघाट तथा अन्तक्र्रिया गर्नुभयो । के भन्छन् सहिद परिवारहरु ? उनीहरुको स्थिति कस्तो पाउनु भयो ?
–यो एउटा सुखद संयोग नै मान्नु पर्दछ कि ‘सहिद सप्ताह’ पनि ठिक यसै समयमा परेको थियो । यस दौरानमा सहिद परिवार, बेपत्ता परिवार, घाइते र अपाङ्ग योद्धाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम राखिएको थियो । चितवनको समापन कार्यक्रममा त दुबै कार्यक्रमलाई एकसाथ हामीले सञ्चालन ग¥यौं । वहाँहरुका परिवारजनहरुलाई सहिदहरुको बलिदान र रगत खेर जाने हो कि भन्ने जुन चिन्ता थियो, त्यो धेरै हदसम्म आशा र आक्रोसमा बदलिँदै छ । वहाँहरुमध्ये कतिपय पार्टी प्रवेश पनि गर्नु भयो र क्रान्तिमा लामबद्ध हुने काममा संलग्न पनि हुनु भएको छ । यो अभियानको यो अर्को महत्वपूर्ण उपलव्धि हो ।

हिजो सँगै युद्ध तथा आन्दोलन गरेका एकथरि नेताहरु राजनीतिक क्रान्ति सफल भयो अब आर्थिक क्रान्ति अर्थात् समृद्धिको पालो भन्दै होहल्ला मच्चाइरहेको बेला तपाईहरु क्रान्ति वा परिवर्तनको कुरा गरिरहनु भएको छ । यो कतिको चुनौतीपूर्ण र सम्भावनायुक्त छ ?
–क्रान्तिबाट भागेका र प्रतिक्रियावादमा पतन भैसकेकाहरुले “अब नेपालमा राजनैतिक क्रान्तिको आवश्यकता छैन, अब आर्थिक विकास र समृद्धि” भन्ने जुन भ्रम फैलाएका थिए, अब त्यो निकै मात्रामा साफ हुँदै गएको छ । यो अभियानले जनतामा त्यो फगत प्रतिकृयावादीहरुको स्वार्थका लागि गरिएको बकबास मात्र हो भन्ने कुराको राम्रो सन्देश दिएको छ । यि तत्वहरु सरकारमा वा सत्तामा भएका हुनाले जनआन्दोलनमा यिनीहरुले चुनौती त खडा गरिरहेका छन् र गर्ने पनि छन् । तर, जनता सचेत भएर संघर्षमा हाम फालिसकेपछि यिनीहरु धरासायी हुने छन् ।

मोर्चाले चैत्र २४ मा काठमाडौंमा संघर्षमय रुपमा आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय सम्मेलन गर्दैछ । मोर्चाको शक्ति प्रदर्शनको रुपमा समेत हेरिएको चैत्र २४ को समग्र तयारी कसरी अगाडि बढिरहेको छ ? बताइदिनुस् न ।
–हो ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा बृहद् जनपरिचालन गर्ने र विशाल जनसभाकै बीचमा काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने हाम्रो तयारी भव्यरुपमा चलिरहेको छ । त्यस दिन राजधानीलाई जनआन्दोलनमय बनाउने दिशामा हामी अघि बढिरहेका छौं ।

नेपालको राजनीतिमा असम्भव जस्तो देखिने घटनाक्रमहरु पनि पछिल्ला दिनमा घटिरहेका छन् । पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउत र प्रम केपी–पिकेबीचमा भएको ११ बुँदे राजनीतिक सहमतिलाई मोर्चाले कसरी हेरेको छ ? यो सहमतिको पर्दा पछाडिको खेल के हुन सक्छ ?
–ओली सरकार र नेपालको विखण्डनलाई घोषित उद्देश्य बनाएर सक्रिय रहेका सि के राउत बीचको ११ बुँदे सम्झौता र ओलीद्वारा राउतको महिमा मण्डन देख्दा मलाई बाबुराम भट्टराईले दिल्ली गएर “बिप्पा सम्झौता” गरेको सम्झना भैरहेको छ । त्यतिखेर हामी एउटै पार्टीमा भए पनि उनलाई नेपाल फर्कँदा विमानस्थलमा कालोझण्डा देखाउने र उनको पुत्ला जलाउने काम गरेका थियौं । उनले यो सम्झौता गरेर “जुवा खेलेको” भन्ने स्वीकार गरेका थिए । मलाई लाग्छ केपी शर्मा ओलीले सिके राउतसँगको ११ बुँदे सम्झौता गरेर जुवा खेलेका छन् । आफू विगतमा नेपाललाई विखण्डन गराउने काममा लागेको विषयमा कुनै पश्चाताम वा आत्मालोचनासम्म पनि नगरिएको यो सम्झौताबाट सिके राउत पछि हटेको मात्र प्रमाणित भयो भने केपी शर्मा ओली मात्र होइन, डबल नेकपालाई नै धरासायी हुनबाट कसैले बचाउन सक्ने छैन । सिके राउतले भने जस्तै यदि त्यस प्रकारको जनमत संग्रहको कुनै सहमति मात्र पनि भएको रहेछ भने नेपाली जनताको तारो, के पी ओली, प्रचण्ड र डबल नेकपा हुने कुरामा दुई मत नहोला ।

सांसदको रुपमा सपथ समेत खुवाइसकेका रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला गरेको छ । सिकेलाई सेटिङमै अदालतले रिहाई गरेको देखिएजस्तै चौधरीको विषयमा पनि त्यस्तै सेटिङले काम गरेको त होइन ?
–रेशम चौधरीको केसमा कति सेटिङ भएको थियो, त्यो प्रमाणित भइसकेको छैन, हेर्दै जानु पर्छ होला । तर सिके राउतको केसमा सर्बोच्च अदालतसँग सेटिङ भएको हो भन्ने कुरा ‘खुला गोप्य’ नै भैसकेको छ । गोप्य साँठ गाँठ बिना यो घटना यति नाटकीय रुपमा हुन सक्ने संभावना नै देखिँदैन ।

पछिल्लो चरणमा नेपालमा बढ्दो अमेरिकी उपस्थिति र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबीचको बढ्दो अन्तरविरोधलाई मोर्चाले कसरी केलाएको छ ? यसले नेपालको तथा एशियाको राजनीतिक सन्तुलन तथा भविष्यलाई के कस्तो असर पार्ने देख्नुहुन्छ ?

–यो सरकार जसरी विदेशी शक्तिहरु र देशभित्रका दलाल र नोकरशाही पँुजीपति वर्गको बैशाखी टेकेर उभिन खोजिरहेको छ, त्यसले गर्दा नेपाल महाशक्तिहरुको गोटी बन्ने वा नेपाल शक्ति केन्द्रहरुको क्रिडास्थल बन्न सक्ने खतरा पैदा भएको छ । ओली सरकारले वास्तवमा नेपालको लागि सुहाँउदो असंलग्न परराष्ट्र नीति अनुसार विदेश मामिलाको संचालन गर्न सकिरहेको छैन । जहाँसम्म दक्षिण एशियाको कुरा हो, नेपालले सार्कको अध्यक्षको हैसियतमा भूमिका निर्वाह गर्न सकिरहेको छैन ।

अन्तमा, आम श्रमजीवी शोषित–पीडित जनता, महान् सहिद तथा वेपत्ता योद्धा परिवार, आम क्रान्तिकारी पंक्तिलाई वर्तमान राजनीतिक परिस्थितिमा मोर्चाको अध्यक्षको हैसियतमा के आव्हान तथा अपील गर्न चाहनु हुन्छ ?
–सबै कोणबाट विचार गर्दा के देखिन्छ भने नेपालको विद्यमान प्रतिक्रियावादी सरकार र व्यवस्था तथा पश्चगामी संविधान परिवर्तन नगरी नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा, नेपालको समृद्धि र विकास, नेपाली जनतामाथिको उत्पीडनको अन्त्य संभव छैन । विगतमा भएका क्रान्ति र बलिदानका उपलव्धिको प्राप्ति र रक्षाको लागि पनि नेपालमा एउटा सशक्त जनआन्दोलनको आवश्यकता छ । तमाम क्रान्तिकारी जनतासँग यसका निमित्त तयार रहन अनुरोध र आह्वान गर्न चाहन्छु । त्यसको नेतृत्व गर्न हामी तयार रहेको कुरा पनि जानकारी गराउन चाहन्छु । धन्यवाद !