कमरेड कृष्णदास श्रेष्ठसँग एक दशकको भलाकुसारी

इन्द्र राउत

प्रकाशित मिति : २०७५ फाल्गुन २७

कमरेड कृष्णदास श्रेष्ठ नेपालमा माक्र्सवादको कखरा जान्ने सबैबीच परिचित हुनुहुन्छ । माक्र्सवादको कखरा जान्न उहाँका कृतिहरु अध्ययन गर्नैपर्ने स्थिति अहिले पनि विद्यमान छ । वर्तमानमा त्यसको आवश्यकता अझ बढेर गएको छ । माक्र्सवादी सिद्धान्तको ज्ञानको अभावकै कारण नेपालको कम्युनिष्ट आन्दोलनमा ठूल्ठूला विचलनहरु पैदा हुन पुगेका छन् र कम्युनिस्ट आन्दोलन विभाजित र विघटित अवस्थाबाट गुज्रदो छ । अन्तर्राष्ट्रिय र नेपालमा पनि कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिनुको कारण मुख्यतः कम्युनिस्ट आन्दोलनभित्रकै कमजारी हो, त्यसमा पनि वैचारिक तथा सैद्धान्तिक अध्ययन, चिन्तन, मनन र मन्थनको अभाव नै हो ।

माक्र्सवाद–लेनिनवाद–माओवाद नै आजको माक्र्सवाद हो । वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगबाट नै सही ज्ञानको प्राप्त हुन सक्छ भन्ने माओको भनाइ र किताबी दर्शन र जीवन दर्शनको द्वन्द्वात्मक सम्बन्धलाई ठीक ढंगले बुझ्न र प्रयोग गर्न नसक्दा आजको कम्युनिस्ट आन्दोलनले आफ्नो अगाडि खडा भएका चुनौतीहरुको सामना गरेर अगाडि बढ्न सकिरहेको छैन । र, घुमिफिरी रुम्झाटार भनेजस्तै हुन पुगेको छ । यसको गहिरो अध्ययन, अनुसन्धान, विचार विमर्श र निर्मम समीक्षाको खाँचो निकै बढेर गएको छ । त्यसका लागि कमरेड कृष्णदास श्रेष्ठका कृतिहरुले सन्दर्भ सामग्रीका रुपमा निकै ठूलो भूमिका खेल्न सक्दछन् ।

कृष्णदास श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको समकालीन हुनुहुन्छ । उहाँसँग कमरेड पुष्पलालदेखि पुष्पकमल हुँदै कमरेड किरणसम्म संगत गरेका अनगिन्ती शिक्षाप्रद अनुभवहरु थिए । नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो पुस्तासँग गरिएका संगतका पनि उहाँसँग जीवन्त अनुभवहरु पनि थिए । उहाँका ती अनुभवहरुलाई पनि लिपिबद्ध गर्न सकेको भए, त्यसले पनि कम्युनिष्ट आन्दोलन, नेतृत्व र प्रवृत्ति बुझ्नलाई ठूलो सहयोग पु¥याउँथ्यो । त्यतातर्फ स्वयम् क.श्रेष्ठले प्रयत्न गरिरहनु भएको थियो । तर ११ फागुन २०७५ मा भएको उहाँको देहान्तसँगै उहाँको प्रयत्न अधुरै रह्यो । जीवनको उत्तराद्र्धमा उहाँले आफ्ना कैयौं मौलिक तथा अनुदित पाण्डुलिपीलाई पुस्तकको रुपमा प्रकाशित गर्ने इच्छा र तत्परता देखाउनु भएको थियो । तर गर्दा गर्दै र भन्दा भन्दै पनि त्यो काम पुरा गर्न भ्याउनुभएन । अब यो कार्यभार उहाँको नाममा बनेको फाउण्डेशन र सम्बद्ध पार्टीले पुरा गर्नुपर्ने भएको छ ।

यहाँ उहाँसँग करिब एक दशकसम्म नजिक रहेर गरिएका भलाकुसारी तथा त्यस क्रममा व्यक्त उहाँका विचारहरुलाई लिपीबद्ध गर्ने प्रयत्न गरिएको छ ।

कमरेड कृष्णदास श्रेष्ठले पारेको छाप

स्कूल पढ्दासम्म माक्र्सवादी किताबहरु खासै पढ्न पाइएन । त्यसो त हाम्रो घर र गाउँ म सानै छँदादेखि नै कम्युनिष्ट आन्दोलनको प्रभावमा थियो । त्यता जाँदा कमरेड ऋषि देवकोटा‘आजाद’को सेल्टर नै हाम्रो घरमा हुने गर्दथ्यो । कमरेड आजादकै प्रभावका कारण हाम्रो घर परिवार कम्युनिष्ट राजनीतिको प्रभावमा रह्यो । पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गर्दा मेरा बुवा (रुद्रबहादुर राउत) लगायत गाउँलेहरुलाई पक्रन प्रहरी घरमा पुगेको थियो । राइफल बोकेका करिब ७ जना पुलिसहरुले चकलेट दिएर बुवा कहाँ जानुभएको छ भनेर सोधेको घटनाले मलाई लामो समयसम्म छाप पारिरह्यो । मैले त्यसैबेला सुनेको थिएँ– ‘कम्युनिष्ट’, ‘क्रान्तिकारी’ र ‘भूमिगत’ भन्ने शब्द । जतिबेला म ७ वर्षको थिएँ ।

म कक्षा ८ मा पढ्दै गर्दा जनयुद्ध सुरु भयो । ०५३ मा म जनयुद्ध सुरु गरेको पार्टी तत्कालीन नेकपा (माओवादी)को विध्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को स्कूल इकाईमा आबद्ध बनेँ । ०५३ मै भएको संगठनको जिल्ला सम्मेलनमा प्रतिनिधिको रुपमा सहभागी भइयो । ०५४ मा एसएलसी दिएलगत्तै जनयुद्धमाथि राज्यको त्यस क्षेत्रमा दमन सुरु भयो । स्थानीय प्रशासनले वारेन्ट जारी गरेपछि त्यसबेलादेखि भूमिगत राजनीति सुरु गरियो । त्यसपछि बल्ल माक्र्सवादी किताब तथा साहित्यहरुको अध्ययन गर्न थालियो । त्यसबेला बजारमा भेटिने र साथीहरुबाट पाइने किताबहरुको भीडमा कमरेड कृष्णदास श्रेष्ठद्वारा रचित तथा अनुदित कृतिहरु नै अधिकांश हुन्थे । तिनै किताबहरु पढेर माक्र्सवादी दर्शन, राजनीति अर्थशास्त्र र वैज्ञानिक समाजवादसम्बन्धी ज्ञान प्रायः नेता कार्यकर्ताहरुले लिने गर्दथे । युद्धको समयमा अधिकांंश कार्यकर्ताहरुको अध्ययन व्यवस्थित हुन सकेन र हुन सक्ने बातावरण पनि हुँदैनथ्यो । तथापि किताब, कपि, रेडियो नबोक्ने नेता कार्यकर्ताहरु विरलै पाइन्थे । त्यसबेला अध्ययनप्रतिको रुचि, तत्परता र आवश्यकताबोध भने निकै नै थियो । चाहेर पनि त्यसबेला पर्याप्त मात्रामा माक्र्सवादी किताबहरु नपाइने, जसोतसो जम्मा पारेका किताबहरु पनि सेल्टर गरेर राखेको ठाउँमा सेना पुलिसले कब्जा गरेर लगिदिने, जलाएर नष्ट गरिदिने र पार्टीको योजना लगायतका कारण पनि गहिरो अध्ययन सम्भव भएन, थिएन । निकै दुःख गरेर जम्मा गरिएका तीन बाकस किताब तत्कालीन राज्यप्रशासनले कब्जा गरेर जलाउँदा निकै पीडा भएको थियो मलाई त्यसबेला । यस्तै समस्याका कारण जनयुद्धको कालखण्डमा अधिकांश कार्यकर्ताका लागि नेता र कमाण्डरको भाषण, प्रशिक्षण नै माक्र्सवादी ज्ञानको विकल्प बन्न पुग्यो ।

नेपाली भाषामा लेखिएका माक्र्सवादी पुस्तकहरु निकै कम मात्रामा पाइन्थे बजारमा । उपलब्ध पुस्तकहरु मध्ये कमरेड कृष्णदास श्रेष्ठद्वारा लिखित तथा अनुदित पुस्तकहरुलाई नै आधिकारिक मानिन्थ्यो र अधिकांश नेताहरुले कमरेड श्रेष्ठकै किताब अध्ययन गर्न सुझाब दिने गर्दथे । त्यसबेला कमरेड कृष्णदास श्रेष्ठका ‘कार्लमाक्र्स ः व्यक्तित्व र कृतित्व’, अतिरिक्त मूल्यको सिद्धान्त, लेनिन कस्ता थिए ?, …….. लगायतका पुस्तकहरुको अध्ययनले उहाँप्रति ममा अमिट छाप परेको थियो । उहाँको खोज अनुसन्धानमूलक र सरसपूर्ण लेखाइबाट म प्रभावित थिएँ । र, उहाँसँग भौतिक भेटको तीव्र भोक जागेको थियो ।

भेटघाट, कुराकानी र अनुभूतिमा कृष्णदास श्रेष्ठ

कमरेड कृष्णदास श्रेष्ठसँगको पहिलो भेटमा नै धेरै पहिलेदेखिको चिनजान भएजस्तै विभिन्न विषयमा आत्मियतापूर्ण कुराकानी भए । सरल जीवन शैली र उच्च विचार तथा चिन्तनको धनी क.कृष्णदासलाई नेपाली कम्युनिष्ट आन्दोलनको अथक साधक र अनुकरणीय व्यक्तित्वको अमूल्य निधि पाएँ । हाम्रो भेट कतिपय सन्दर्भमा किताबी दर्शन र जीवन दर्शनबीचको भेटजस्तो पनि बन्यो । जनयुद्धमा होमिएको हाम्रो जीवनका सबै पाटा पक्षको बारेमा उहाँ निकै उत्सुकतापूर्वक सोधीखोजी गर्नुहुन्थ्यो । भेटघाट र भलाकुसारी बाक्लिदै जाँदा सम्बन्ध प्रगाढ र सुमधुर बन्दै गयो । र, उहाँबाट विचार र सिद्धान्तका मात्र होइन, धेरै व्यवहारिक कुराहरु सिक्ने अवसर प्रदान भएको थियो ।

१– उहाँले प्रत्येक भेटमा आफ्नो जीवनको अनुभव सुनाउँदै भन्नुहुन्थ्यो– “मान्छेको सबैभन्दा ठूलो सफलता भनेको ‘आफूले आफैलाई चिन्न सक्नु’ हुने रहेछ । म लेख्न सक्छु भन्ने पहिचान गर्न नसकेको भए लेखक तथा अनुवादकको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक तथा सैद्धान्तिक क्षेत्रमा मैले यो योगदान गर्न सक्ने थिइनँ ।” हरेक मानिसभित्र एउटा अद्भूत क्षमता हुन्छ, त्यसको पहिचान गरेर त्यही क्षेत्रमा निरन्तर लाग्ने हो भने मानिस आफू अब्बल मात्र हुँदैन, उसले पार्टी, क्रान्ति, देश र जनताको लागि ठूलो योगदान पनि पु¥याउन सक्छ । त्यसैले उहाँ पार्टी नेतृत्वलाई सुझाव दिनुहुन्छ– नेता कार्यकर्ताहरुको क्षमता र रुचिको पहिचान गरेर कार्यविभाजन गर्नुपर्छ । पार्टीमा ‘राइट पर्सन टु राइट प्लेस’ नअपनाउँदा अपेक्षित परिणाम आउँदैन र नेता कार्यकर्ताहरुको क्षमताको विकास पनि हुँदैन ।
कमरेड कृष्णदास श्रेष्ठले पटक पटक भन्नुभयो, “०३५÷०३६ सालतिर नै आफूमा मास लिडर बन्नेभन्दा पनि राम्रो लेखक बन्ने क्षमता अन्तर्निहित रहेछ भन्ने बोध भएपछि म अध्ययन, लेखन र अनुवाद कर्ममा निरन्तर साधना गरिरहेँ ।” उहाँ कम्युनिष्ट आन्दोलनमा लागेका सबै नेता कार्यकर्तालाई आफ्नो क्षमताको पहिचान गरेर अगाडि बढ्न सुझाव सल्लाह दिनुहुन्छ ।

२– मानिसको सफलता, व्यक्तित्व निर्माण तथा योगदानमा एक्लो व्यक्तिको मात्र हात हुँदैन । त्यसमा प्रत्यक्ष परोक्ष रुपमा धेरैको हात हुन्छ । खास गरेर घर परिवार त्यसमा पनि पुरुषका लागि महिलाको र महिलाको लागि पुरुषको हात महत्वपूर्ण रहेको हुन्छ । कमरेड कृष्णदास श्रेष्ठ लेखक, चिन्तक तथा अनुवादकको रुपमा आफ्नो व्यक्तित्व निर्माणमा आफ्नी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठको निकै महत्वपूर्ण हात रहेको सगर्व बताउनु हुन्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता क.पुष्पलाल श्रेष्ठको पहलमा कमरेड कृष्णदास श्रेष्ठको विवाह समाजसेवी पृष्ठभूमि भएको परिवारकी छोरी महालक्ष्मी श्रेष्ठसँग भयो । क. कृष्णदासको परिवारको आर्थिक दुरावस्थालाई देखेर छोरीले दुःख पाउने भई भनेर सासुआमाले घर नै छोरीको नाममा पास गरिदिएपछि कृष्णदास श्रेष्ठले ०३५ सालदेखि घर परिवार, छोराछोरी कसैलाई हेरविचार गर्नु परेन, गर्नु भएन । घर परिवारको सारा व्यवस्थापकीय काम महालक्ष्मी श्रेष्ठले गरेर क. श्रेष्ठलाई अध्ययन, लेखन र अनुवाद कर्ममा साधना गर्ने महत्वपूर्ण समय उपलब्ध गराउनु भयो । यहाँसम्म कि क.कृष्णदास श्रेष्ठले अहिलेसम्म आफैले खाने सामानदेखि लगाउने कपडासम्म केही नकिनेको अनुभव सुनाउनु हुन्छ । कमरेड कृष्णदास श्रेष्ठको यस्तो जीवनशैली बन्यो कि उहाँ घण्टौं होइन महिनौ दिनसम्म पनि एउटै कोठामा बसेर अध्ययन लेखन गर्न सक्नुहुन्थ्यो, त्यसका लागि उहाँलाई नयाँ नयाँ किताब भए पुग्थ्यो । ‘कि खाट छ कि मान्छे छ’ भनेर यही जीवनशैलीका कारण जीवन संगिनीले भन्ने गरेको उहाँ कुराकानी हुँदा सुनाउनु हुन्थ्यो । कुनै पनि क्षेत्रमा सफलताका लागि त्याग, तपस्या र व्यवस्थापनको सन्तुलन मिल्न जरुरी हुन्छ ।

३– कमरेड कृष्णदास श्रेष्ठ जोड दिएर भन्नुहुन्छ– ‘कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा आलोचनात्मक चेतको विकास गर्नुपर्छ, हुनुपर्छ । त्यसका लागि नेता कार्यकर्ताहरु आर्थिक रुपले पार्टी निर्भर होइन, आत्मनिर्भर हुन सक्नुपर्छ ।’ आर्थिक रुपले पार्टी निर्भर नेता कार्यकर्ताहरु नेतृत्वका कमीकमजोरीप्रति आलोचक बन्न नसक्ने र कमीकमजोरीप्रति आलोचक बन्न नसक्दा पार्टीमा विभिन्न खाले खराबी पैदा हुने र नेतृत्वले पनि आफ्नो रंग बदल्दै जाने समस्या उत्पन्न हुने आफ्ना अनुभवसिद्ध विचारहरु भेटमा राख्नुहुन्छ । आर्थिक रुपले पार्टी निर्भरता, पदीय भोकका कारण नेतृत्वको चाकडी, चाप्लुसी गर्ने र नेतृत्वको झुठो प्रशंसाले गर्दा कम्युनिष्ट आन्दोलनमा विभिन्न खाले खराबीहरु उत्पन्न भएको उहाँको ठहर छ । एउटा सच्चा कम्युनिष्ट क्रान्तिकारी पार्टी निर्माण गर्न विचार, सिद्धान्तले लैस आलोचनात्मक चेत भएका नेता कार्यकर्ताहरुको विशाल पंक्ति निर्माण गर्न जरुरी छ ।

कमरेड कृष्णदास पार्टीलाई पनि आर्थिक रुपले आत्मनिर्भर बनाउन सके मात्र स्वतन्त्र हैसियतमा काम गर्न सक्ने स्थिति रहने विचार राख्नुहुन्छ । चन्दा र सहयोगमा चलेको पार्टीले स्वतन्त्र हैसियतमा आफ्नो उद्देश्यमा अगाडि बढ्न नसक्ने उहाँको ठहर छ ।
४– नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न कालखण्डमा देखापर्ने वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवाद, संशोधनवाद, अवसरवाद तथा विसर्जनवादलगायतका विचलनहरु कमरेड कृष्णदास श्रेष्ठ विचार तथा सिद्धान्तको क्षेत्रमा आएको स्खलनको अभिव्यक्ति ठान्नुहुन्छ । पछिल्लो कालखण्डमा माक्र्सवादी साहित्य अध्ययन तथा विमर्शमा आएको कमीप्रति उहाँ अत्यन्तै चिन्तित हुनुहुन्छ । उहाँ प्रायजसो प्रत्यक भेटमा भन्नुहुन्छ, “एकातिर नेपाली भाषामा माक्र्सवादी साहित्यको आधिकारिक अनुवाद तथा लेखनको कमी आउनु र अर्कोतिर वैचारिक तथा सैद्धान्तिक क्षेत्रको अध्ययन र बहसको कमी हुँदा कम्युनिष्ट आन्दोलनले गलत दिशा समात्ने खतरा रहन्छ । अब कम्युनिष्ट युवाहरुले वैचारिक काममा विशेष ध्यान दिन जरुरी छ ।”

चौतर्फी रुपमा उत्तरमाक्र्सवादी, नवमाक्र्सवादी, संशोधनवादी तथा अवसरवादीहरुबाट माक्र्सवादमाथि दिनदिनै हमला भइरहँदा माक्र्सवादको प्रतिरक्षार्थ पर्याप्त प्रतिरोध हुन नसकेको प्रति कमरेड कृष्णदास धेरै चिन्तित हुनुहुन्छ । विचारधारात्मक संघर्षमा कमरेड मोहन वैद्य‘किरण’ नेतृत्वको पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले केही काम गरेको भएपनि त्यो अपर्याप्त रहेको उहाँ बताउनुहुन्छ । कमरेड किरणको पार्टी नेतृत्वको जिम्मेवारीले गर्दा पनि वैचारिक क्षेत्रमा पर्याप्त काम हुन नसकेको उहाँको बुझाइ छ । भीषण विचारधारात्मक संघर्ष तथा वर्गसंघर्षको प्रक्रियाबाट नै गैरमाक्र्सवादीहरुले कम्युनिष्ट र वामका नाममा छरेका भ्रमहरु चिर्न सकिने र कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट पुनर्संगठित गर्दै लक्षित उद्देश्यतर्फ अगाडि बढाउन सकिने उहाँको ठहर छ ।

५– नेपाली माक्र्सवादी साहित्य अनुवाद तथा लेखनमा जथाभावी शब्दको प्रयोग गरिंदा त्यसको अध्ययनले कतिपय सन्दर्भम भ्रम पैदा गर्ने गरेको भन्दै त्यस्तो प्रवृत्तिको उहाँ खुलेर आलोचना गर्नुहुन्छ । बजारमा कम्युनिष्ट आन्दोलनको भविष्यलाई भन्दा पनि अर्थोपार्जनलाई केन्द्रमा राखेर गरिएका अनुवाद र लेखनमा आधारित प्रकाशनको आधिकारितामाथि उहाँले पटक पटक प्रश्न उठाउनु भएको छ । नेताहरुले आफ्नो स्वार्थनुकूल माक्र्सवादको व्याख्या गर्ने र बजारमा उपलब्ध किताबहरुमा पनि व्यक्तिको वैचारिक अध्ययनको सीमा र दृष्टिकोण झल्किने प्रवृत्तिले गर्दा माक्र्सवादप्रतिकै बुझाइमा समेत समस्या उत्पन्न हुने गरेको कमरेड कृष्णदास श्रेष्ठको अनुभवसिद्ध भनाइ छ । एउटा सच्चा कम्युनिष्ट क्रान्तिकारी पार्टीले माक्र्सवादको अध्ययन, अनुसन्धान, अनुवाद तथा लेखन र प्रचारको आवश्यकता बोध गर्नुपर्ने र यसलाई एउटा महत्वपूर्ण कार्यभारको रुपमा लिनुपर्ने उहाँको सुझाव छ ।

६– नेपाली समाजको स्वरुप र भूराजनीतिक स्थितिका आधारमा नयाँ जनवादी क्रान्ति अपरिहार्य देख्नुहुन्छ कमरेड कृष्णदास श्रेष्ठ । अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रमा नवऔपनिवेशिक चरित्र हावी हुँदै गएकोले राष्ट्रिय स्वाधीनताको आन्दोलनसँग जनतन्त्र र जनजीविकासँग सम्बन्धित आन्दोलनहरु पूरक आन्दोलनको रुपमा अगाडि बढाएर÷लिएर जानुपर्ने उहाँको विश्लेषण छ । नेपालको सन्दर्भमा भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्धको आन्दोलन नै राष्ट्रिय स्वाधीनताको आन्दोलन हो । कमरेड कृष्णदास श्रेष्ठ भन्नुहुन्छ, “भारतीय विस्तारवादसँग लड्दा त्यहाँका शासकवर्ग र जनतालाई एउटै टोकरीमा हालेर बुझ्नु हुँदैन । नेपालको सार्वभौमिकताको रक्षा चाहने भारतीय जनता पनि छन् । नेपालमाथि भारतीय शासकवर्गले गर्ने हस्तक्षेपको विरोध गर्ने भारतीय जनतासँगको सम्बन्ध सुमधुर बनाउनु पर्दछ ।”

नेपालको प्राकृतिक र मानवीय स्रोतसाधनमाथि एकाधिकार कायम गरी नेपाली जीवनका सबै क्षेत्रमा प्रभुत्व लाद्न खोज्ने भारतीय विस्तारवादी शासकका विरुद्ध नलडेर मुलुकलाई राजनीतिक हिसाबले स्वाधीन नबनाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउन सकिन्न । अहिलेको दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थामा आर्थिक समृद्धि र स्थायित्व कायम हुन सक्दैन । मुलुक फेरि द्वन्द्वमा हेलिने सामाजिक, राजनीतिक तथा आर्थिक सूचकांकहरुले बताइरहेको कमरेड कृष्णदासको ठहर छ ।
७– नेपाली कम्युनिष्ट आन्दोलनले वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक अन्तरविरोधहरुको समाधान गर्न नेपाली विशिष्टतामा आधारित कार्यदिशा र कार्यनीतिक श्रृङ्खलाको विकासमा विशेष ध्यान दिन जरुरी छ । सानातिना कार्यनीतिक सवालमा विभाजित अवस्थामा रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध गरेर क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने दिशामा आन्दोलनलाई अगाडि बढाउन नेताहरुले विशेष जोड दिन जरुरी देख्नुहुन्छ कमरेड कृष्णदास श्रेष्ठ ।

८. नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुले विचार, राजनीति, संगठन र संघर्षमा कमरेड माओले भनेजस्तो ‘थ्रि इन वन’को तालमेल र सेटिङ मिलाउन नसकेको र पार्टी समर्थित बुद्धिजीबीहरु तथा सल्लाहकारहरुको अनुभव र क्षमतालाई पार्टी र क्रान्तिको हितमा भरपुर उपयोग गर्न नसकेको ठान्नुहुन्छ कमरेड कृष्णदास श्रेष्ठ । क. श्रेष्ठका अनुसार कम्युनिष्ट पार्टीले एउटा पुस्ताबाट ज्ञान तथा अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने वातावरण पनि मिलाउन आवश्यक छ ।

९. कमरेड कृष्णदास श्रेष्ठ एउटा कम्युनिष्ट क्रान्तिकारी पार्टीका निम्ति ‘कार्यकर्ता साधन नभएर साध्य हुन्’ भन्नुहुन्छ । तर नेपालमा भएका कम्युनिष्ट पार्टीले कार्यकर्तालाई साध्यभन्दा साधनको रुपमा प्रयोग गर्ने प्रवृत्तिले गर्दा विभिन्न खराबीहरु पैदा हुने गरेको उहाँको अनुभव छ, “सिद्धान्त र व्यवहारको, संगठन र संघर्षको द्वन्द्वात्मकतालाई ठीक ढंगले पार्टी जीवनमा लागू नगर्दा पनि समस्याहरु जन्मिने गर्दछन् ।”

नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो पुस्ताले माक्र्सवादप्रतिको सही बुझाई कायम गर्न कमरेड कृष्णदास श्रेष्ठको व्यक्तित्व र कृतित्वको सूक्ष्म अध्ययन गर्नैपर्दछ । माक्र्सवादी विचारको खडेरी परेको र चौतर्फी रुपमा अवसरवाद हावी भएको अहिलेको समयमा कमरेड कृष्णदास श्रेष्ठ र उहाँका कृतिहरु मरुभूमिको पानी जस्तै हो । चरम आर्थिक संकटबाट गुज्रदो साम्राज्यवाद माक्र्सवादकै साहराले अहिले श्वास फेरिरहेको अवस्थामा र अहिले पश्चिमा विकसित तथा साम्राज्यवादी मुलुकहरुमा कम्युनिष्ट घोषणा पत्र तथा माक्र्सवादी पुस्तकहरुको खोजी, अध्ययन र अनुसन्धानले तीव्र रुप लिइरहेको पृष्ठभूमिमा नेपाल र नेपाली समाजमा विद्यमान अन्तर्विरोध तथा समस्या हल गर्न माक्र्सवादी विचार सिद्धान्त नै एउटा अचुक अस्त्र हो । अहिले नेपालमा माक्र्सवादको खोजी, अध्ययन, बहस तथा अनुसन्धानप्रति उदासिनता जस्तो देखिए पनि समय फेरि यस्तो आउनेछ– मानिसहरुले माक्र्सवादलाई खोजी खोजी अध्ययन, बहस र अनुसन्धान गर्नेछन्, र संकटका समाधान माक्र्सवादमा नै भेट्नेछन् । त्यसबेला कमरेड कृष्णदास श्रेष्ठको व्यक्तित्व र कृतित्वको अध्ययनको आवश्यकता र महत्व अहिलेको भन्दा कैयौं गुणा बढेर जाने निश्चित छ । त्यसैले कमरेड कृष्णदास श्रेष्ठ बारम्बार भन्ने गर्नुहुन्थ्यो– “युवाहरुले वैचारिक काममा ध्यान दिनु प¥यो । अध्ययन, अनुसन्धान गर्नुप¥यो । अध्ययन विना पार्टी र क्रान्ति अगाडि बढ्न सक्तैनन् । अध्ययन अनुसन्धान कम्युनिष्ट पार्टी र क्रान्तिका लागि अनिवार्य शर्त हुन् ।”

(प्रस्तुत लेख ‘सहकर्मी र मित्रहरुका दृष्टिमा कृष्णदास श्रेष्ठ’ शीर्षक पुस्तकमा प्रकाशित लेखको सम्पादित अंश हो ।)