काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका विषयलाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले राष्ट्रिय स्वाधीनताको सवालमा सबै राजनीतिक पार्टीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने विचार प्रस्तुत गरेका छन् । पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको काठमाडौं जिल्लाले आयोजना गरेको ‘देशको स्वाधीनता र नेपालको वास्तविक नक्सा प्रयोगको प्रश्न’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो विचार प्रस्तुत गरेका हुन् । महासचिव किरणले नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै राष्ट्रियताको विषयलाई प्रमुख मुद्दा बनाउँदै आएको चर्चा गर्दै अहिले कम्युनिस्ट नामको सरकार छ तर राष्ट्रियताको विषय यति गम्भीर र संवेदनशील रुपमा अगाडि आउँदा पनि सरकार चुँसम्म नबोल्नु बिडम्बना भएको बताए ।
राष्ट्रियताको विषयमा आफूहरु गम्भीर रहेको बताउँदै महासचिव किरणले राष्ट्रिय स्वाधीनताको विषयमा जुनसुकै पार्टी र आस्थाको मान्छे भएपनि एकढिक्का भएर अगाडि बढ्नु पर्छ भने, “सीमा अतिक्रमण भइरहेको छ, हस्तक्षेप बढिरहेको छ, राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकटहरु देखापरिरहेका छन्, त्यसका विरुद्ध सबै पार्टीहरु एकढिक्का भएर लड्नु पर्छ ।”
नेपालमा कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै राष्ट्रियताको विषयलाई प्रमुख मुद्दाको रुपमा उठाएको चर्चा गर्दै महासचिव किरणले भने, “कम्युनिस्ट नामको सरकारले अहिले किन राष्ट्रियताको विषयमा बोल्न सकेको छैन, यसको बारेमा हामी सरकारलाई पनि घचघच्याउँछौं, जनतालाई पनि जागृत पार्छौ ।”
कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले मोर्चाको हालै सम्पन्न मेची–महाकाली अभियान राष्ट्रिय स्वाधीनताकै विषयलाई केन्द्रमा राखेर १५ दिनसम्म चलाएको र अतिक्रमित भूमिको निरीक्षण समेत गरेको चर्चा गर्दै राष्ट्रिय स्वाधीनताको विषयमा जनतामा समेत जागरण पैदा भइरहेको बताए । यस्ता कार्यक्रमलाई मोर्चाले आगामी दिनमा निरन्तरता दिने जनाउँदै सबै देशभक्त तथा राष्ट्रवादीहरुलाई एकढिक्का भएर आवाज उठाउन आव्हान समेत गरे ।
“अहिले प्रयोगमा आएको नक्सा के शुद्ध छ ? सुगौली सन्धिले इङ्गित गरेको सिमाना के नक्सामा देखाइएको छ ? निशाना छापमा हालिएको नक्सा शुद्ध छ ? नेपालको संविधानमा के नेपालको नक्सा परेको छ ? भारतबाट प्रकाशित गरेको नेपालको नक्सा के शुद्ध छ ? नेपाल सरकारको भूमि व्यवस्था मन्त्रीले आजभन्दा चार दिन सार्वजनिक गरेको नेपालको नक्सा के शुद्ध छ ? पुराना ऐतिहासिक नक्साले नेपालको सिमाना कहाँ इङ्गित गरेको छ, के यसबारे यो सरकार जानकार छ ?” आदि प्रश्नहरु अहिलेको सरकारतिर तेस्र्याउँदै अन्तरसंवाद कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले देशको सिमाना र नक्साका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
उनले सरकारले हालै सार्वजनिक गरेको नक्सामा नेपालको ३१० वर्ग किमी भूमि गायब रहेको दावी प्रस्तुत गर्दै भारतले बनाएर नेपाली बजारमा छ्याप्छ्याप्ती पारेको नक्सामा नेपालको ३७२ वर्ग किमी नेपाली भूमि भारततिर पारिएको बताए । सिमाविद् श्रेष्ठले स्थानीय मन्त्रालयले प्रकाशित गरेको पुस्तकमा समेत सबै स्थानीय तह, प्रदेशहरुको कूल क्षेत्रफल जोड्दा २३ सय वर्ग किमि भूमि गायब देखिएको पनि बताए ।
उनले नेपालका शासकहरु लुरेलारे भएकाले सीमा अतिक्रमण नरोकिएको र हस्तक्षेप बढिरहेको चर्चा गर्दै ओली सरकारको चर्को आलोचना गरे । उनले पुराना ऐतिहासिक नक्साका आधारमा नेपालको वास्तविक नक्सा बनाइनु पर्ने र सबै तथ्यहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको पुष्टि गरेकोले सोही अनुसार नक्सा बनाएर प्रयोग गर्न पनि उनले सरकारलाई सुझाव दिए र राजनीतिक पार्टीहरुलाई त्यसका निम्ति दबाब सिर्जना गर्न अनुरोध समेत गरे ।
आर्थिक रुपले समृद्ध, विज्ञान प्रविधिले सम्पन्न र विकसित तथा शक्तिशाली राष्ट्र बन्न सकेको खण्डमा नेपालले आफ्नो विशाल भूभाग फिर्ता गर्न सक्ने समेत दावी गरे । त्यसको लागि शासकहरु बलिया राष्ट्रवादी हुनुपर्नेमा जोड दिए ।
मोर्चाका काठमाडौं अध्यक्ष खगेन्द्र छन्त्यालले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन महिला नेतृ शारदा महतले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि मोहन वैद्य‘किरण’ रहेका थिए भने अतिथिहरुमा सिपी गजुरेल, रामसिंह श्रीस, सिमाविद् बुद्धिनारायण श्रेष्ठ, कृष्ण राई–डबल नेकपा, सिद्धि महर्जन–नेकपा माले, नरेन्द्र तण्डुकार– नेकपा ऋषि कट्टेल, रहर बहादुर खड्का नयाँ शक्ति, झविन्द्र बेलबासे– राष्ट्रिय जनमोर्चा, देवेन्द्र प्रधान– राप्रपा, कपिल सिजापति– माके (किराती), सन्तोष चालिसे– मेयर (गोकर्णेश्वर नपा) लगायत रहेका थिए । कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय स्वाधीनताको विषयलाई महत्वका साथ उठाएका थिए र क्रान्तिकारी माओवादी तथा मोर्चालाई कार्यक्रमका लागि धन्यवाद दिएका थिए । अधिकांश वक्ताहरुले नेकपा (क्रान्तिकारी माओवादी)को केस तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रले उठाएका विषयहरुलाई समर्थन गर्दै राष्ट्रिय स्वाधीनता तथा सीमा र नक्साको विषयमा सबै राजनीतिक पार्टीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । नेता श्रेष्ठले १० पृष्ठ लामो गहन कार्यपत्र प्रस्तुत गरेका थिए ।
मोर्चाले यसअघि काठमाडौं महानगरपालिकासहित सबै नपामा स्मरणपत्र बुझाउँदै नेपालको नक्कली नक्सा प्रयोगको विरोध गर्दै वास्तविक नक्सा प्रयोगका लागि अभियान नै सञ्चालन गरेको थियो । पछिल्लो पटक लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता लगायत भूमि गायब पारिएको नक्सा प्रयोग भइरहेको तथ्य सार्वजनिक भएपछि मोर्चाले त्यसका विरुद्ध अभियान चलाइरहेको छ । यहाँसम्म कि सरकारी निसान छापमा समेत नक्कली नक्सा प्रयोग भएको पाइएको खुलासा भएपछि यसको क्रान्तिकारी माओवादी तथा देजमो लगायतका राजनीतिक पार्टीले विरोध गर्दै आएका छन् ।