सहिदहरुले देखाएको बाटोमा क्रान्तिकारी माओवादी निरन्तर अगाडि बढ्छ : प्रवक्ता कँडेल

सहिदहरुले देखाएको बाटोमा क्रान्तिकारी माओवादी निरन्तर अगाडि बढ्छ : प्रवक्ता कँडेल

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले धोका र गद्दारीका कारण सहिदहरुका सपना र संघर्ष पूरा नभएको चर्चा गर्दै क्रान्तिकारी माओवादी पार्टी सहिदहरुले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने बताए । पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली अभियानको समापन सभालाई चितवनमा सम्बोधन गर्दै प्रवक्ता कँडेलले यस्तो बताएका हुन् ।

नेता कँडेलले व्यवस्था परिवर्तनका लागि अभियानको क्रममा जनताले पार्टी तथा मोर्चालाई आन्दोलन तथा संघर्षको म्याण्डेट दिएको चर्चा गर्दै वर्तमान दलाल संसदीय व्यवस्था फालेर जनताको व्यवस्था नल्याएसम्म क्रान्तिकारी माओवादीको संघर्षको यात्रा नरोकिने दावी गरे ।
प्रवक्ता कँडेलले वर्तमान दलाल सरकार क्रान्तिकारी शक्तिका विरुद्ध निरंकुश रुपमा प्रस्तुत भइरहेको चर्चा गर्दै अभियानको क्रममा सुर्खेत जनसभाको क्रममा पार्टीका दुई युवाहरु प्रहरी प्रशासनले पक्राउ गरी हिरासतमा राखेको र उनीहरुलाई तत्काल रिहाई नगरिए कडा संघर्षमा उत्रने समेत चेतावानी दिए ।

सभामा जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवारहरुलाई खादा ओढाएर अभिनन्दन गर्नुका साथै सहिदहरुको सम्झानामा श्रद्धाञ्जली सभा समेत राखिएको थियो ।