आज भव्य जनसभाका बीच मेची–महाकाली अभियानको समापन गरिंदै, मोर्चाका अध्यक्ष गजुरेल भन्छन्, ‘अभियानले चैत्र २४ को भव्य तयारी गरेको छ’

आज भव्य जनसभाका बीच मेची–महाकाली अभियानको समापन गरिंदै, मोर्चाका अध्यक्ष गजुरेल भन्छन्, ‘अभियानले चैत्र २४ को भव्य तयारी गरेको छ’

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित १५ दिने मेची–महाकाली अभियानको आज चितवनमा संयुक्त समापन हुँदैछ । चितवनको चौबिस कोठीमा एक भव्य जनसभाको आयोजना गरी अभियानको समापन गरिदैछ । जनसभालाई व्यापक र भव्य बनाउन चितवन, मकवानपुर र नवलपुरबाट जनमास केन्द्रित गर्ने समेत तयारी गरिएको छ । जनसभालाई आकर्षक, प्रभावकारी र सन्देशमूलक बनाउन सामना साँस्कृतिक परिवारको केन्द्रीय टोली पनि कार्यक्रम स्थल पुगिसकेका छन् ।

झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, काठमाडौंको शान्तिबाटिका, कास्कीको पोखराबाट एकसाथ उद्घाटन भई सञ्चालित मेची–महाकाली अभियानको संयुक्त समापनका लागि चारवटै अभियान टोली चितवन पुगिसकेका छन् । पूर्वी अभियान टोलीका नेताहरु मोर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेल, पिविएमहरु कृष्णदेव सिंह दनुवार, कमल चौधरी, काठमाडौंमा उद्घाटन गरिएको अभियानका नेताहरु पार्टी पिविएमद्वय दिनेश शर्मा, पवनमान श्रेष्ठ, पश्चिमी अभियान टोलीका नेताहरु मोर्चाका केन्द्रीय सचिव परि थापा, पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएमहरु चन्द्रहरि सुवेदी, केवी गुरुङ, प्रेम सुवेदी, पार्टी केसहरु धनेश्वर पोखरेल, हिरामणि दुःखी, पिताम्बर आचार्य, भुपेन्द्र न्यौपानेलगायतका नेताहरु र पार्टी पिविएम तथा मोर्चाका सचिवालय सदस्य केशबहादुर परियार नेतृत्वको अभियान टोलीका नेताहरु अशोक लम्साल, निलबहादुर पुन, नारायण अधिकारीलगायतका नेताहरु चितवन पुगेका छन् ।

पूर्वअभिायन टोलीले १३ वटा जिल्लाका ५० भन्दा बढी ठाउँमा, पश्चिमको टोलीले पनि ५० भन्दा बढी ठाउँमा र ४ नं. प्रदेशले १० भन्दा बढी ठाउँमा कार्यक्रम सम्पन्न गरेका छन् । अभियानको क्रममा कोणसभा, पत्रकार सम्मेलन, सीमा निरीक्षण, अन्तक्र्रिया तथा भेटघाट कार्यक्रमहरु गरिएका थिए । फागुन १४ देखि २१ सम्म सहिद सप्ताह परेकोले अभिायनकै बीचमा सहिद परिवारसँग घेटघाट तथा अभिनन्दन समेत गरिएको थियो ।

यसैबीच, १५ दिने मेची–महाकाली अभियानले जनतामा राजनीतिक अन्यौलता चिरेको, समस्याको उजागर र समाधानको विकल्प प्रस्तुत गर्न सफल भएको मोर्चाका अध्यक्ष सीपी गजुरेलले मूलबाटोसँगको कुराकानीमा बताए । प्रतिक्रान्ति, विश्वासघात र आत्मसर्पणबाट थिलथिलो बनेको माओवादी आन्दोलनभित्र पैदा भएको निराशालाई चिर्दै अभियानले आशावादी बनाएको र ध्रुवीकरण समेत पैदा गरेको संश्लेषण अध्यक्ष गजुरेलको छ । अभियानले क्रान्तिकारी माओवादी तथा मोर्चाका आवाजहरु सुन्ने वातावरण पैदा गरेको र मोर्चाले उठाएका मुद्दाहरुमा जनता समेत कन्भिन्स भएको समेत अध्यक्ष गजुरेलको दावी छ । समग्रमा अभियानले एकातिर चैत्र २४ को जनप्रदर्शन तथा मोर्चाको सम्मेलनको र अर्कोतिर आन्दोलनको भव्य तयारी गरेको पनि अध्यक्ष गजुरेलले बताए ।