कमरेड कृष्णदास : कम्युनिष्ट आदर्शको उदात्त छवि

प्रकाशित मिति : २०७५ फाल्गुन १३

- प्रा.डा. जगदिश चन्द्र भण्डारी

१. कृष्णदाससँगको यात्रा कम्युनिस्ट अध्ययन संगठनदेखि माओवादीसम्म 

कृष्णदास श्रेष्ठ काठमाडौंको निम्नमध्यम वर्गीय परिवारमा जन्मनु भएको हो । वहाँ नेपालको कम्युनिस्ट आन्दोलनका घुम्ती र आरोह अवरोहका साथी त हुँदै हुनुहुन्छ, सँगै माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, समाजवाद, राजनीति र विचारलाई नेपाली समाजमा फैलाउन, विकसित गर्न र समृद्ध पार्न आप्mनो जीवनलाई सम्पूर्णतः लगाउने क्रान्तिकारी नेता, विचारक, चिन्तक एवं माक्र्सवादी भाष्यकार पनि हुनुहुन्छ ।

भारतको अयोध्यामा पढ्न बस्दा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)को नजिक पुगी त्यसकै कार्यकर्ता बन्न पुगेको म अध्यापनकै क्रममा नेपाल फर्केपछि तत्कालिन नेकपा(माले) को भातृ संगठन अनेरास्ववियुसँग नजिकिन पुगें । त्यस संगठनको पाँचौ सम्मेलनमा भाग लिँदा नलिँदै तत्कालिन मालेमा आउन थालेको विचार विचलन, दक्षिणपन्थीतातर्फको संक्रमण, नेतृत्वमा देखिँदै गएको व्यक्तिवादिता, संकीर्णता, छद्मभेषी नेतृत्व आदिसँग सतर्क हुँदै त्यसबाट विद्रोह गरी राजतन्त्रविरुद्ध सशस्त्र संघर्ष गर्न नेपाल कम्युनिस्ट अध्ययन संगठन नामक भूमिगत संगठन निर्माण गर्न पुगियो । यसै क्रममा २०३८ सालताका उक्त संगठनलाई कृष्णदासले नेतृत्व गर्नु भएको नेपाल माक्र्सवादी लेनिनवादी पार्टीमा सम्मिलित गरियो । यसपछि वहाँसँगको सहयात्रा अहिलेसम्म अर्थात नेकपा (क्रान्तिकारी माओवादी)सम्म निरन्तर रहेको छ । त्यस समयमा नेपालको कम्युनिस्ट आन्दोलन विभाजित रहेको र विभाजित एउटा कम्युनिस्ट घटकको नेतृत्व कृष्णदासले गर्नु भएको थियो । नेकपा(मालेमा) निर्माणसम्म २०४७ सम्म आइपुग्दा वहाँको नेतृत्व अझ दृढ र प्रभावशाली बन्दै गएको देखिन्छ । तत्कालिन पंचायती व्यवस्थाका विरुद्ध जनसंघर्ष र राजनीतिक आन्दोलनहरुमा कृष्णदास श्रेष्ठको यो उपस्थितिले महत्वपूर्ण एवम् निर्णायक भूमिका खेलेको थियो । संयुक्त संघर्षलाई अगाडि बढाउने कार्यमा सधैं सक्रिय रहनु हुने कृष्णदाससँगको मेरो सहयात्रा नेकपा(माओवादी)सँग एकता हुँदा र त्यसबाट अलगिई नेकपा माओवादी÷ नेकपा(क्रान्तिकारी माओवादी) सम्म अटुत रुपमा रहेको छ ।

२. कृष्णदासका व्यक्तित्वका बहुआयाम  
कृष्णदास सर्वहारावर्गको प्रतिनिधि पार्टीको नेता हुनुका साथै चिन्तक–विचारक पनि हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालकै सहयात्री रहनुभएका कृष्णदास अविभाजित कम्युनिस्ट पार्टी काठमाडौंको सेक्रेटरी हुँदै तत्कालिन नेपाल माक्र्सवादी–लेनिनवादी पार्टीको महासचिव, नेकपा(मालेमा) को अध्यक्ष, २०४६ सालमा पंचायत व्यवस्था विरुद्ध बनेको क्रान्तिकारी कम्युनिस्टहरुको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलनका घटक सदस्य तथा २०४७ सालमा वैधानिक संघर्ष एवं आन्दोलनलाई अगाडि बढाउन र संसदीय व्यवस्था, संसदवादको भण्डाफोर गर्न निर्माण गरिएको संयुक्त जनमोर्चाका संस्थापक सदस्य रहनु भएको छ । संयुक्त मोचाहरुको निर्माणमा र त्यसको सैद्धान्तिक व्यवस्थापनमा प्रधान भूमिका खेलेको कुरा यहाँ स्मरणीय छ । पछिल्लो अवधिमा नेकपा(मालेमा) र नेकपा(माओवादी)का बिच एकिकरण भएपछि वहाँ नेकपा(माओवादी) को केन्द्रिय सल्लाहकार परिषदको अध्यक्ष रहनु भई नेपालको कम्युनिस्ट आन्दोलनलाई नेतृत्व दिँदै आउनुभएको छ । माक्र्सवादी, लेनिनवादी र माओवादी दर्शनलाई पचाएर नेपाली भाषामा लेख्ने यस्तो जटिल कार्य गरी कृष्णदासले वर्गसंघर्ष, जनसंघर्ष र आन्दोलनलाई बल पु¥याउनु भएको छ । नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी चेतनाको अभिवृद्धि गर्न त्यसलाई दरिलो पार्न र प्रसार गर्न उहाँको व्यक्तित्व र कृतित्वले सम्बलको काम गरेको छ । माक्र्सवाद, लेनिनवाद र माओवादको वैचारिक, सैद्धान्तिक विकास र तिनको प्रभावको मीमांसात्मक निरुपण गर्ने कार्य वहाँबाट भएको पाइन्छ । अध्ययन, अनुभव र निरन्तर वैचारिक साधनको उपजका रुपमा रहेको ज्ञानजन्य अभिव्यक्तिको उदाहरणका रुपमा उहाँको रचना रहेका छन् ।

विशेषतः माक्र्सवादी दर्शनको निरुपणमा कृष्णदास श्रेष्ठ केन्द्रित रहनु भएको छ । वहाँको माक्र्सवादको उदय, माक्र्सवादका विचारधारात्मक स्रोतहरु, माक्र्सवादका प्रमुख अभिन्न अंगहरु, माक्र्सवादमा मूलभूत कुरो, पेरिस कम्युनका सम्बन्धमा, पुष्पलाल व्यक्तित्व र कृतित्व, भौतिकवादी द्वन्द्ववादको प्रवर्गहरु, बहुदलीय जनवादको क्रान्तिविरोधी सारतत्व, नौलोजनवाद अथवा पुँजीवादी प्रजातन्त्र, नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान स्थिति, कार्लमाक्र्स र माक्र्सवाद, कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यका सिद्धान्त, द्वन्द्ववाद र द्वन्दात्मक प्रवर्गहरु, माक्र्सवाद चिनारी पुस्तकमाला, दर्शन शास्त्रको विकास, भौतिकवादी सहित्य चिन्तन र समीक्षा लगायतका माक्र्सवादी सैद्धान्तिक दार्शनिक कृतिले वहाँलाई विचारक–चिन्तकका साथै माक्र्सवादका गम्भीर ज्ञाताको रुपमा स्थापित गरेका छन् । माक्र्सवादी चिन्तनलाई विकसित गर्नेमध्ये एकजना विशिष्ट साधक रहेका कृष्णदास श्रेष्ठको व्यक्तित्वमा बहुआयाम रहेका छन् । वहाँ क्रान्तिकारी नेता, दार्शनिक चिन्तक एवं उत्प्रेरक व्यक्तित्वका रुपमा नेपाली समाजमा र क्रान्तिकारीहरुको पंक्तिमा चिनिनु भएको छ ।

३. कृतित्वको सार 
वहाँ नेपालको कम्युनिस्ट आन्दोलनमा ६ दशक सीक्रयतापूर्वक बिताउनु भएको छ र क्रान्तिकारी माक्र्सवादी दर्शन र चिन्तनका क्षेत्रमा आप्mनै फरक पहिचान बनाउनु भएको छ । विशेष रुपमा माक्र्सवादी दर्शनको व्याख्या, मिमांसा र विवेचनामा उहाँ जति गम्भीर सूक्ष्म र निवैयक्र्तिक अरु कमै देखिन्छन् । खासगरी नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी संशोधनवाद र अवसरवादका विरुद्धको लेखन निकै प्रभाविलो र विचारोत्तेजक रहेको छ । जनवादी अधिनायकत्व र सर्वहारा अधिनायकत्व परित्यागको रुपमा अभिव्यक्त संशोधनवाद एवम् अवसरवादलाई राम्ररी चिनाउने काम कृष्णदासका रचनाले गरेका छन् । सर्वहारावर्गको मुक्ति एवम् गतिका निम्ति गरिने वर्गसंघर्ष र बल प्रयोगको भूमिकालाई नकार्ने र पछिल्लो चरणमा नवमाक्र्सवादी हुँदै दक्षिणपन्थी संशोधनवाद, नवसंशोधनवादमा अभिव्यक्त हुँदै गएको राजनीनितक शक्तिलाई समेत बुभ्mन उहाँका कृति महत्वपूर्ण सामग्री बन्न गएका छन् । त्यसैगरी उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा रहेका पुँजीवादी संशोधनवादी धारका साथै वामपन्थी विचलनवादी प्रवृत्तिका बिच रहेको भेद देखाउनुका साथै तिनीहरुको बिचमा रहेको साम्यतालाई समेत स्पष्ट पार्नु भएको छ । उहाँको राजनीतिक चासो र प्रयत्न मालेमावादी क्रान्तिकारी विचार र सिद्धान्तलाई सिर्जनात्मक तरिकाबाट नेपाली समाजमा लागू गर्ने र सर्वहारावर्गलाई मुक्तिको दिशातर्फ उन्मुख गराउनमा केन्द्रित हुनुमा छ । माक्र्सवादलाई सही प्रयोग गर्ने काम जटिल र गाह्रो रहेको कुरालाई उहाँले यसरी देखाउनु भएको खास गरेर हाम्रो आन्दोलनको वर्तमान स्थितिमा जब त्यसभित्र संशोधनवाद र अवसरवादको जगजगी रहेको छ, संशोधनवादीहरु र वामपन्थी विचलनवादीहरुबाट माक्र्सवादको हुनसम्म मिथ्याकरण र विकृतिकरण भइरहेको छ र जब कम्युनिस्टको नाउँ भिरेर थरिथरिका अवसरवादीहरु र षड्यन्त्रकारीहरु आन्दोलन भाँडनमा र कम्युनिस्टहरुलाई पथभ्रष्ट पार्नमा निकै सक्रिय छन् , यस स्थितिमा माक्र्सवादको सही रुपमा प्रयोग गर्ने काम कदापि सजिलो छैन । (कृष्णदास श्रेष्ठ )

दार्शनिक, वैचारिक र राजनीतिक स्पष्टताको अभावमा कुनै पनि संघर्ष र आन्दोलनले निश्चित दिशा लिन नसक्ने कुरालाई उहाँले आप्mना रचनामा निरन्तर उठाउनु भएको छ । माक्र्सवादी दर्शनको केस्रा केस्राको ज्ञान र आन्दोलनको अनुभवको आधारमा उहाँको कृति सिर्जिएका छन् । उहाँले माक्र्सवादी दर्शनकै एक शाखाका रुपमा रहेको माक्र्सवादी सौन्दर्यशास्त्रको चिन्तन र व्याख्या पछिल्लो अवधिमा गर्नु भएको छ । उहाँको “भौतिकवादी सौन्दर्य–चिन्तन र केही समीक्षा” कृतिमा माक्र्सवादी दृष्टिको स्थापना र त्यसको प्रयोगमा समेत योगदान पु¥याउनु भएको छ । दर्शन, राजनीतिक विचार र सौन्दर्य जस्ता विविध क्षेत्रमा विस्तारित रहेको उहाँको कृतित्वको सार भनेकै मालेमावादी वैचारिक दृष्टिकोणका मानकतामा तिनको सत्यापन गर्नु हो ।

४. निष्कर्ष  
आदर्शको बिम्बात्मक उदाहरण कृष्णदास श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका एउटा अगुवा व्यक्तित्व हुन् । सर्वहारा मुक्तिको अभियन्ता हुनु र तिनकै वर्ग हितमा जीवनलाई समर्पित गर्नु उनको जीवनको महत्वपूर्ण पाटो हो । व्यक्तिगत स्वार्थभन्दा पर रहेर सामूहिक स्वार्थका निम्ति सहभागी भई वर्गसंघर्षलाई आत्मसात गनुर्, अगाडि बढाउनु, सैद्धान्तिक, वैचारिक र राजनीतिक रुपमा अविचलित भई कम्युनिस्ट आन्दोलनमा निरन्तर लागि रहनु मात्र नभई कम्युनिस्ट आदर्शका निम्ति जीवनको ६ दशकभन्दा बढी अवधि समर्पित गर्नु नेपालका कम्युनिस्टहरुका निम्ति एउटा विशेष बिम्बात्मक उदाहरण हो । देश र सर्वहारावर्गप्रतिको निष्ठा, सर्वहारा मानवतावादप्रतिको आस्था, वर्गमुक्तिको अविचल विश्वास, साम्राज्यवाद, विस्तारवादप्रति तीव्र टिप्पणीको भावना, वर्ग शत्रुप्रति घृणा एवम् संशोधन, नवसंशोधन तथा वामपन्थी अवसरवादको विरोध जस्ता विशेषता कृष्णदासको जीवनगत दृष्टिकोणका विषय हुन् ।