‘जनताले पश्चगामी संविधान र दलाल प्रतिक्रियावादी व्यवस्थाको विकल्प खोज्न थालिसके’

प्रकाशित मिति : २०७५ माघ २२

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले जनताले वर्तमान पश्चगामी संविधान र दलाल प्रतिक्रियावादी व्यवस्थाको विकल्प खोज्न थालिसकेको बताएका छन् । ‘अग्रगामी विकल्पको तयारी गरौं’ भन्ने विषयमा देजमो ४ नं. प्रदेशले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उक्त अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट मोर्चाका धारणा प्रस्तुत गर्दै अध्यक्ष गजुरेलले भने, “यो वर्तमान संविधान पश्चगामी भएको हुनाले शासकहरुबाट पनि धेरै राष्ट्रघाती र जनघाती काम भइरहेको हो । त्यसका लागि यही पश्चगामी संविधान नै मुख्य जिम्मेवार छ । अब अग्रगामी परिवर्तनका लागि यो पश्चगामी संविधान र प्रतिक्रियावादी व्यवस्थाकै विकल्प खोज्न आवश्यक भइसकेको छ । किन कि जनताले नै विकल्प खोज्न थालिसकेका छन् ।”

अहिलेको लोकतान्त्रिक गणतन्त्रको अग्रगामी विकल्प भनेको संघीय जनगणतन्त्र हो भन्दै अध्यक्ष गजुरेलले त्यसको प्राप्तिका लागि अब संघर्षको विकल्प नरहेको कुरा बताए । अध्यक्ष गजुरेलले भने, “त्यसका लागि देजमो नेपाल आन्दोलनको तयारीमा जुटिसकेको छ । आउनुहोस्, अब फेरि अर्को ऐतिहासिक जनआन्दोलनको सृष्टि गरौं, संघीय जनगणन्त्र नेपालको स्थापनाको लागि अघि बढौं ।”

मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ४ नं प्रदेश संयोजक केशबहादुर रियारले अवधारणा प्रस्तुत गरेको उक्त अन्तक्र्रियामा वामपन्थी नेता तथा मानवअधिकारवादी नेता टेकनाथ बराल, नेकपाका प्रदेश सदस्य भक्त रसाइली, नेकपा (माले)का केन्द्रीय सदस्य टेकनाथ भण्डारी, नेकपा विप्लवका कास्की जिल्ला सदस्य मिलन राई, नेका महासमिति सदस्य गिरिराज गौतम, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य कुलबहादुर भुजेल, पूर्णप्रसाद ढुंगाना, परशुराम कोइराला, कमल पौडेल, राजु अधिकारी, कर्णबहादुर जिसी लगायतका वक्ताहरुले अवधारणामाथि टिप्पणी प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केस रामजी थापा, देजमो नेपालका केसद्वय भिमबहादुर श्रीस र बाबुराम सुवेदी, नेकपाका भलकपाणि तिवारी, नेकपाका प्रदेश सदस्य लोकबहादुर थापा, पत्रकार नारायण शाही, पत्रकार रुद्र थापा, देजमो नेपालका प्रदेश सदस्यहरु, मोर्चाका कास्की जिल्लाका अध्यक्ष लगायत सदस्यहरुसहित सैयौंको संख्यामा उपस्थिति रहेको थियो । उक्त अन्तक्र्रियाको अध्यक्षता संयोजक परियारले गरेका थिए भने कार्यक्रमलाई स्वागत देजमो प्रदेश सदस्य तथा क्रान्तिकारी माओवादी कास्कीका सचिव कर्णबहादुर पुनले गरेका थिए । कार्यक्रमको सञ्चालन भने मोर्चाका प्रदेश सदस्य तथा क्रान्तिकारी माओवादी तनहुँ सचिव नेत्र रानाभाटले गरेका थिए ।