नीति र नेताको सम्बन्धबारे

नीति र नेताको सम्बन्धबारे

नीति र नेताको माझमा कस्तो सम्बन्ध रहेको हुन्छ ? तिनको सम्बन्धबारे केही कम्युनिष्ट कार्यकर्ताहरु भ्रम र अस्पष्टतामा रहेको पाइएको छ । ती कार्यकर्ताहरु माझ विभिन्न रुपमा प्रकट हुने गरेको उक्त भ्रमले केही समयअघि आफूलाई एउटा प्रस्थापनाको रुपमा व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको अखिल नेपाल चौथो सम्मेलनमा कमरेड पुष्पलालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उक्त प्रस्थान यस रुपमा प्रस्तुत भएको छ । हाम्रो निम्ति नेता प्रधान नभई नीति प्रधान हुन्छ । आफूलाई कमरेड पुष्पलाल समर्थक र अनुयायी ठान्नेहरुको एउटा जमातले उक्त भनाइलाई उहाँको एउटा महान् वाणीको रुपमा समय समयमा उद्धृत गर्ने गरेको छ । ‘नीति प्रधान हो, नेता प्रधान होइन’ को रुपमा त्यसको प्रचार गरिएको छ ।

माक्र्सवादी–लेनिनवादीहरुले राजनीतिक कार्यदिशा र त्यसको ठोस अभिव्यक्ति स्वरुप रहेका नीतिहरु सही, उचित तथा यथार्थवादी हुनुपर्ने कुरामा सधैभरि जोड दिने गरेका छन् । अनेकौं अवसरमा माओत्सेतुङले कुन कुरालाई जोडका साथ देखाउनुभएको छ भने वैचारिक तथा राजनीतिक दिशा सही छ कि छैन भन्ने कुराले सबथोको निर्णय गर्छ । त्यसका साथै उहाँले के पनि भन्नु भएको छ भने जहाज चलाउने कुरा कर्णधारमाथि निर्भर गर्दछ, (Sailing the ship depends upon the helmsman) । यसमा नेतृत्वकोे अहम् महत्वलाई दर्शाइएको छ । जहाँसम्म पुष्पलालको माथि उद्धृत भनाइमा नीतिको (जुन कार्यदिशा ठोस मूर्तिकरण हो) औचित्यमाथि जोड दिइएको छ, त्यो विल्कुल सही छ । तर उक्त भनाइमा नीतिलाई नेताको (नेतृत्वको) विरुद्ध उभ्याउने र नीतिलाई माथि राख्न नेतृत्वको महत्वलाई गौण स्थानमा राख्ने काम जसरी गरिएको छ त्यो विल्कुल गलत छ र माक्र्सवाद सहमत छैन ।

राजनीतिक कार्यदिशाले सबै कुराको फैसला गर्छ भन्ने माक्र्सवादी प्रस्थापनाले कार्यदिशा र नीतिको अह्म महत्वलाई स्पष्टसित दर्शाउँछ । तर कार्यदिशा र नीतिको निर्धारण खाली घोषणाको रुपमा वा कागजमा लेख्नको लागि मात्र गरिएको हुँदैन । बरु व्यवहारमा कार्यान्वयन गर्नका लागि कार्य रुपमा परिणत गर्नका लागि गरिएको हुन्छ । यदि त्यसलाई व्यवहारमा कार्यन्वयन गरिएन भने, यदि त्यसको कार्यान्वयनको व्यवस्था मिलाइएन भने त्यो मात्र कागजको खोस्टा रहने छ । अर्थात् निरर्थक रहनेछ । त्यसैले नीतिको प्रतिवादन गर्ने काम जति महत्वपूर्ण छ, सही कार्यदिशा र नीतिको निर्धारणपछि त्यसको उचित तथा सफल कार्यन्वयन हुन्छ कि हुँदैन भन्ने कुरा नेतृत्वको तर्फबाट गरिने व्यवस्था र सांगठनिक कार्यक्रममा निर्भर गर्दछ ।

उपर्युक्त तथ्यले नेतृत्वको अहम् महत्वलाई स्पष्टसित देखाउछ । तसर्थ, माथि उद्धृत क. पुष्पलालको भनाइमा नीतिको सम्बन्धमा नेताको महत्वको अवमूल्यन गर्ने जुन प्रवृत्ति रहेको छ, त्यो विल्कुल गलत छ । त्यो सिद्धान्त मात्र ओइन, व्यवहारिक दृष्टिकोणबाट पनि गलत छ । गलत तत्वहरुको (उदाहरणार्थ, अवसरवादी, समर्पणवादी तथा राजावादी तत्वहरुको) हातमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व पर्नाको फलस्वरुप उक्त पार्टी र सम्पूर्ण नेपाली कम्युनिष्ट आन्दोलन विश्रृङ्खलित तथा विखण्डित भएको हाम्रो ऐतिहासिक अनुभव छ । अर्काे कुरा नीति सही भएर पनि यदि नेतृत्व ठीक छैन भने अर्थात् अझ स्पष्टरुपमा नीति क्रान्तिकारी भए पनि यदि नेतृत्व अवसरवादी तत्वहरुको आहालमा रहन्छ भने सो नीति पूर्ण रुपले असफल रहन्छ वा त्यो कागजी मात्र रहन जान्छ । त्यस सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टीको आफ्नो एउटा ऐतिहासिक अनुभवको यहाँ उल्लेख गर्नु प्रासांगिक छ । नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा (२०१३) दक्षिणपंथी अवसरवादी रायमाझी डफ्फाको बाहुल्यता रहन गयो र सो नेतृत्वले आफ्नै अवसरवादी राजावादी कार्यदिशालाई अगाडि बढाउने काम गर्यो । उक्त अनुभवले कुन तथ्यलाई स्पष्टसित देखाउँछ भने पार्टीलाई सही दिशामा अघि बढाउने काममा नेताहरुको अहम् भूमिका रहन्छ । साधारण भाषामा भन्ने हो भने गाडी मात्र ठीक भएर हुँदैन, गाडी चलाउने ड्राइभर पनि योग्य, सक्षम, कुशल र जिम्मेदारीको भाव भएको हुनु पर्छ ।

राजनीतिक कार्यदिशाा र नीतिहरुको सम्बन्ध दिशाबोधसित रहेको हुन्छ र एउटा सपष्ट तथ्य के छ भने दिशा गलत भएको खण्डमा हिंड्ने मान्छे आफ्नो गन्तव्य ठाउँमा पुग्दैन र जुन उद्देश्य लिएर काम गरिरहेको हुन्छ, सो उदेश्य पूरा हुँदैन । तसर्थ नीतिको अहम् महत्व छ भन्ने कुरामा दुई मत हुन सक्तैन । तर नीतिको अहम् महत्व रहे पनि नीतिले आफ्नो अहम् महत्वलाई स्थापित गर्नका लागि नेतृत्वमाथि दुई दृष्टिबाट आफूलाई निर्भर पारेको हुन्छ ः १) सशक्त, सही र सुसंगत रुपम नीतिको उत्पादन हुनका लागि, २) निर्धारित नीतिको सही,सक्षम र इमान्दारीपूर्ण ढंगले कार्यान्वयन हुनका लागि कुन तथ्य ध्यानयोग्य छ भने नीति आफै आकाशबाट झर्ने होइन, तयसको प्रतिपादन गर्ने नेताहरु हुन् र नीति आफै कदापि कार्यानव्यन हुँदैन । त्यसलाई कार्यान्वयन गर्ने पनि नेताहरु नै हुन् । यस तथ्यले पार्टी नेताहरुको अहम् भूमिकालाई स्पष्टसित देखाउँछ, जुन भूमिका मुख्य रुपमा दुईवटा कुरामा रहन्छ ः नीतिको निर्धारण गर्न र नीतिको कार्यान्वयन गर्न ।

उरोक्त तथ्यबाट कुन कुरा स्पष्ट हुन्छ भने नीतिलाई प्राथमिक र नेतृत्वलाई गौण रुपमा लिने वा नीति र नेतालाई एकअर्काका विरुद्ध उभ्याउने वा नीतिको सम्बन्धमा नेताको कम मूल्यांकन गर्ने, विार जुन माथि उद्धृत भनाइमा व्यक्त गरिएको छ त्यो विल्कुल गलत छ ।
अन्त्यमा, नेतृत्वको महत्व र कामको सम्बन्धमा स्पष्ट पार्न तल हामी माओत्सेतुङको एउटा महत्वपूर्ण भनाइलाई उद्धृत गर्दछौं । चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका शीर्षकको आफ्नो रचनामा उहाँले भन्नुभएको छ ः

“… अन्तिम विश्लेषणमा, नेतृत्वका दुईवटा मुख्य जिम्मेदारीहरु छन्, ती हुन्– विचारको प्रतिपादन गर्नु, कार्यकर्ताहरुको राम्रो उपयोग गर्नु । योजना बनाउने, निर्णय लिने, आदेश वा निर्देशनहरु दिने जस्ता कामहरु विचारहरुको प्रतिपादनको श्रेणीमा पर्दछन् । विचारलाई व्यवहारमा उतार्नका लागि हामीले कार्यकर्ताहरुलाई संगठित गर्नुपर्दछ, र उनीहरुलाई कार्वाहीमा जानका लागि प्रोत्साहित गर्नुपर्दछ । यो कार्यकर्ताहरुको राम्रो उपयोगको श्रेणीमा पर्दछ ।” (माओ, चनिएका रचना, भाग २, पृष्ठ २०२) ।