बिगेसोको वैचारिक सांस्कृतिक कार्यक्रम प्रज्ञा हलमा भव्य रुपमा सम्पन्न

बिगेसोको वैचारिक सांस्कृतिक कार्यक्रम प्रज्ञा हलमा भव्य रुपमा सम्पन्न

काठमाडौं । पूर्व ब्रिटिश गोर्खाहरुको संगठन बिगेसोको वैचारिक सांस्कृतिक कार्यक्रम शुक्रवार साँझ काठमाडौंको कममलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भव्य रुपले सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ द्वारा उद्घाटित उक्त वैचारिक सांस्कृतिक कार्यक्रम निकै रोचक प्रस्तुतिका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिले निकै रौनकता ल्याएको थियो । जनकलाकार विसाल योञ्जन, अग्रज कलाकार शम्भु राई, देसु सुहाङ, जीवन शर्मा लगायतले जीवन संघर्षका गीतहरु गाउँदा हल नै नाचेको थियो ।

कार्यक्रम आफैमा वैचारिक सांस्कृतिक भएकाले विचार अभिव्यक्तिका लागि वक्ताहरुलाई पनि स्थान दिइएको थियो । कुटनीतिक विद तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले उक्त कार्यक्रम विचार, संस्कृति र भावनात्मक संवेगको अपूर्व मेल भएको कुरामा जोड दिएका थिए । वक्ता तथा बिगेसोका सल्लाहकार परि थापाले कार्यक्रमले सांस्कृतिक प्रस्तुतिका माध्मबाट विचार दिइएको कुरामाथि प्रकाश पारेका थिए । त्यसै गरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष तथा बिगेसोका सल्लाहकार सीपी गजुरेल बिगेसोले उठाएका कुराहरु राष्ट्रियता र जनजीविकासँग जोडिएको बताएका थिए ।

कार्यक्रममा गीत गायनका साथै नाटक पनि मञ्चन गरिएको थियो । लाहुरेको कथालाई लिएर मञ्चन गरिएको उक्त नाटकले दर्शकहरुको ध्यान निकै खिचेको थियो । कार्यक्रमको अन्त्यमा बिगेसोका सल्लाहकारहरु सीपी गजुरेल, परि थापा, ओम गुरुङ र हिण्यलाल श्रेष्ठलाई सम्मानपत्र दिएर सम्मान गरिएको थियो ।

कार्यक्रम यासुली योङहाङको सञ्चालन र पदमसुन्दर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।