नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादी पार्टीले साहस र दृढताका साथ नेपालको क्रान्तिकारी जनयुद्धको नेतृत्व गरेर दस वर्षको समयसम्म सम्पूर्ण राष्टर्ला के कुरा देखाएको थियो भने यो पार्टी जनताको मित्र हो, र जनताको हितहरुको रक्षाको लागि र जनताको स्वतन्त्रता तथा मुक्तिका लागि सधैंभरि क्रान्तिकारी युद्धको अघिल्लो मोर्चामा डटेर लड्दछ । यसप्रकारको जनविश्वासलाई ती वर्गीय आत्मसमर्पणवादी प्रचण्ड गेटद्वारा खलबल्याउने काम गरी देश र जनतालाई धोखा दिएका थिए । तर वर्तमानमा आएर नेपालको राजनीतिक वस्तुस्थितिमा ढिलै भए पनि मन्द गतिमा आएको राजनीतिक फेरबबदलले नेककपा (क्रान्तिकारी माओवादी) नै क्रान्तिकारी पार्टीको एकमात्र उत्तराधिकारीको रुपमा विकसित हुँदै आएको परिप्रेक्ष्यमा, हाम्रो पार्टीका केही कमरेडहरु वर्तमान परिस्थितको सही रुपमा कसरी विश्लेषण गर्ने र साथै कस्तो खालको पाइला चाल्ने भन्ने सवालको टुंगो कुन ढंगबाट लगाउने भन्ने कुरालाई अझ पनि बुझ्दैनन् । क्रान्तिकारी उत्थान अनिवार्य छ भन्ने कुरामा त उनीहरु विश्पास गर्छन्, तर यो चाँडो आउने छ भन्ने कुरामा उनीहरु विश्वास गर्दैनन् ।
खास अर्थमा भन्नुपर्दा क्रान्तिकारी पार्टीका जिम्मेवार कमरेडहरुले त्रुझ्नुपर्ने कुरो आफ्ना कमी कमजोरी र गल्तीहरु प्रतिको व्यवहार नै उसको गम्भीरता र उनले आफ्नो वर्ग र श्रमजीवी जनसमुदायप्रति आफ्नो जिम्मेवारी कार्यरुपमा पूरा गरे नगरेको देखाउने सबैभन्दा महत्वपूर्ण सबैभन्दा विश्वसनीय कसौटी हो । खुल्ला रुपमा भूल स्वीकार गर्नु, यसका कारणहरु पत्ता लगाउनु, कुन परिस्थितिमा यी गल्तीहरु भए त्यसको विश्लेषण गर्नु र गल्तीहरुलाई सुधार्ने उपायहरु माथि ध्यानपूर्वक विचार गर्नु, यो एक क्रान्तिकारी पार्टीको लक्षण हो, यही आफ्नो वर्गलाई र अनि जनसमुदायलाई शिक्षादीक्षा दिने तरिका हो । आफ्नो यो कर्तव्यलाई पालना नगरेर, आफ्नो स्पष्ट गल्तीलाई अति सावधानी, सूक्ष्मता र गम्भीरताकासाथ अध्ययन नगरेर क्रान्तिकारी पार्टीका क्रान्तिकारी कम्युनिष्टहरुले आफूहरु वर्गको पार्टी होइनन्, खाली गुट हुन्, आफूहरु जनसमुदायको पार्टी होइनन्, वुद्धिजीवी र वुद्धिजीवीवादको अवगुणहरु दोहोर्याउने केही मजदूरहरु किसानहरुको सानो डफ्फा मात्र हुन् भन्ने कुरा साबित गर्ने गरेको पाइन्छ ।
पार्टी संगठनमा यस्ता विभिन्न गैरसर्वहारा विचारहरु छन् जसले पार्टीको सही कार्यदिशाको कार्यान्वयनमा ठूलो बाधा हाल्छन् । यस्ता विचाारहरुलाई नसुधारेमा क्रान्तिकारी पार्टीले नेपालमा हामीले गर्न लागिरहेको महान् क्रान्तिकारी युद्ध (संघर्ष) माआफ्नो जिम्माका अभिभाराहरुलाई अवश्य पनि बहन गर्न सक्तैनन् । यस पार्टी संगठनमा भएका यस्ता गलत प्रवृत्ति र विचारहरुको स्रोत अवश्य पनि के तथ्यमा रहेको छ भने यसका आधारभूत इकाइहरुमा कतिपय व्यक्तिहरु किसानहरु र निम्न पुँजीवादी वर्गका अन्य तत्वहरु छन्, तर ती कायम रहनाको र बढनाको एउटा महत्वपूर्ण कारण केमा छ भने पार्टीका नेतृत्वकारी अंगहरुले जो गलत प्रवृत्ति विचारहरुका विरुद्ध योजनाबद्ध तथा दृढ संघर्ष चलाउन र पार्टीको सही कार्यदिशामा सदस्यहरुलाई शिक्षित पार्न नसक्नु जस्तो कमीकमजोरी रहिआएको छ । यस्ता गलत प्रवृत्ति र गलत विचारहरुलाई निरुत्साहित र निमिट्यान्न पार्नसक्ने क्षमता नेतृत्वकारी अंगहरुमा हुनुपर्छ । अन्यथा, यस्तो लोसे तालले पार्टी हाँक्न सकिदैन । यसलाई पूरै जिम्मेवारपूर्ण ढंग अपनाई सुधार्नु र सुध्रिनु जरुरी छ ।
क्रान्तिकारी पार्टीका हामी क्रान्तिकारी कम्युनिष्ट हौं भनी सैद्धान्तिक भाषणको रबाफ जमाउँदैमा सच्चा क्रान्तिकारी कम्युनिष्ट हुने होइन र सच्चा कम्युनिष्ट मान्न सकिदैन । सर्वहारा वर्गीय क्रान्तिकारी पार्टीको सच्चा कम्युनिष्ट बन्न चाहने हर व्यक्तिले जान्नु पर्ने र गम्भीर रुपले बुझ्नुपर्ने सार गर्भित विषय भनेको सर्वहारा वर्गको अग्रदस्ता (क्रान्तिकारी पार्टी) मा कसरी अनुशासन कायम राखिन्छ र जाँचिन्छ ? कसरी यस अनुसशासनलाई दरिलो पारिन्छ ? सबैभन्दा पहिले त सर्वहारा वर्गको अग्र दलको वर्ग चेतनाबाट र क्रान्ति प्रतिको उसको निष्ठा, उसको दृढता, आत्मबलिदान र वीरताबाट अर्काे व्यापक श्रमजीवी जनसमुदायसँग, सबभन्दा पहिले त सर्वहारा वर्गसँग, त्यस्तै किसिमले गैरसर्वहारा श्रमिक समुदायसँग पनि आफ्नो सम्बन्ध जोड्ने यिनीहरुसँग सधै नजिकको सम्बन्ध बनाइ राख्ने र अझ तपाईलाई यिनीहरुसँग एकाकार हुने समेत यसको क्षमता र अर्काे फेरि यस अग्रदलले दिएको राजनीतिक नेतृत्वको सहिपनद्वारा यसको राजनीतिक रणनीति र कार्य नीतिको सहीपनद्वारा आमजनताले आफ्नै अनुभवबाट यो रणनीति र कार्यनीति ठीक छ भन्ने बुझेको हुनुपर्दछ ।
सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले कदापि यो कुरा भुल्नुहुन्न कि नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भएको छैन । तसर्थ अहिले पनि नेपालमा नयाँ जनवादी क्रान्तिको चरणमा नै छ । नेपालमा पूर्ण जनवादी क्रान्तिको कार्यक्रममा यी कुराहरु समावेश छन् । बाहिरी रुपमा पूर्ण राष्ट्रिय मुक्ति प्राप्त गर्नका लागि साम्राज्यवाद, विस्तारवादको तख्ता –दलाल, नोकरशाही, पुँजीवादी तथा सामन्तवादी नेतृत्वको अर्ध सामन्ति, अर्ध÷नवउपनिवेशिक, राज्यसत्ता) पल्टाउनु आन्तिरक रुपमा सहरमा दलाल वर्गको शक्ति र प्रभावलाई निर्मूल पार्नु, गाउँघर र देहातमा सामन्ती सम्बन्धहरुलाई खत्तम पार्नका लागि किसान आन्दोलन चर्काउँदै भूमिक्रान्तिलाई पूरा गर्न तथा ती जाली फटाहा युद्धपतिहरुको शासनसत्ता पल्टाउनु । यस्तो जनवादी क्रान्तिबाट गुज्रिसकेपछि नै हामी वैज्ञानिक समाजवादतर्फ संक्रमणका लागि वास्तविक जग बसाल्न सक्नेछौं ।
युगले सुम्पिएको यो क्रान्तिकारी राष्ट्रिय अभिभारा नयाँ जनवादी क्रान्ति पूरा गर्न सर्वहारा वर्गका अग्रदल नेकपा (क्रान्तिकारी माओवादी)ले वर्तमान सन्दर्भमा भएका विभिन्न जनआन्दोलन सशस्त्र संघर्ष र मुख्यतः जनयुद्धको आधार तथा अनुभव माथि ध्यान दिंदै नेपली विशेषतामा सशस्त्र जनविद्रोहको कार्यदिशा अबलम्बन गर्न भरपूर तरिकाले आवश्यक तयारीमा जुट्दै गत मंसीर १२–१७ मा बुटवलमा बसेको केन्द्रीय समितिको बैठकले तर्जुमा गरी ल्याएको क्रान्तिकारी कार्यक्रमलाई व्यावहारतः कार्यान्वयन गर्न ब्यापक जनसमुदायबीच कार्यकर्ताहरु परिचालन हुनु र गर्नु नितान्त जरुरी छ ।
अहिले देशमा चुलिंदै गइरहेको भ्रष्टाचार, कमिशनखोर , ढिलासुस्ती, हत्या, हिंसा, बलात्कार र अराजकता जस्ता जघन्य अपराधविरुद्ध प्रभावकारी ढंगले कानुनी कार्वाहीको दायराभित्र ती भ्रष्ट, अपराधी र दुष्टजनहरुलाई नियन्त्रण गरी नेपालमा शान्ति, सुरक्षाका साथै सुशासनको प्रत्याभूति दिनमा लाग्नु पर्ने वर्तमानका यी तथाकथित कम्युनिष्ट सरकार, उल्टै यिनीहरुलाई संरक्षण गर्न संरक्षणवादी नीति मुखरित गर्दै सिङ्गो नेपाललाई जर्जर पारिरहेको वर्तमान स्थितिमा नेकपा (क्रन्तिकारी माओवादी)को क्रान्तिकारी युवा लिग आफ्नो पार्टीले तयार गरी ल्याएको क्रान्तिकारी कार्यक्रमलाई आत्मसात् गरी देशको आवश्यकता र जनचाहनाअनुरुप क्रान्तिकारी जोश र जाँगरलाई समयसापेक्ष ढङ्गले, देशका भ्रष्टहरुको भङ्गालोमा पसी, ती भ्रष्ट व्यक्तिलाई कालो मोसो दली सशक्त जनकार्वाहीमा उत्रेर, उनीहरु जो देशद्रोही कुकर्मीहरुको त्यो स्वर्णिम दुनियाँमा ठूलो स्केलको भूकम्प ल्याइदिएको छ भने अर्कोतर्फ देशभक्त र राष्ट्रवादी, स्वाभिमानी तथा क्रान्तिकारी जनसमुदाय माझ क्रान्तिकारी तरंग उत्पन्न गराइदिएको छ ।
वास्तवमा भन्नुपर्दा यो एक प्रकारको क्रान्तिकारी युद्धको शंखघोष हो । यो शंखघोषलाई क्रान्तिकारी सचेतता साथ निरन्तरता कायम गर्न सिंगो पार्टीका अन्य संगठनहरु पनि पूरै जोश र जाँगरका साथ युद्धभूमि (संघर्षको मैदान) मा उत्रनु जरुरी छ र क्रान्तिकारीहरुको यो राष्ट्रिय दायित्व पनि हो । किनकि देशलाई चारैतिरबाट घेरी लुटको दुनियाँ कायम गरी ऐय्यासी जीवन यापन गर्दै आइरेको यो प्रतिक्रान्तिको माखेसाङ्लोलाई ध्वस्त पारी देश र जनताको मुक्ति र स्वतन्त्रताको निम्ति क्रान्तिकारीहरु, क्रान्तिकारी युद्धमा उत्रनु अनिवार्य शर्त हो र यसलाई अरु ढिलो गर्नु हुन्न ।