दुईतिहाई बहुमत प्राप्त ओली सरकारले ‘सुपर फ्लप’ खाएको छ । यो नेपालको इतिहासमा एक आश्चर्यलाग्दो रजनीतिक घटनाका रुपमा चित्रित हुने भएको छ । नेपालमा २०१५ सालमा वीपी कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको दुईतिहाइको सरकारपछि नेपालको इतिहासमा ओलीको नेतृत्वमा बनेको, त्यो पनि कम्युनिष्टको नाममा, दुईतिहाइको सरकारले वीपीकै दुईतिहाईको संकेत देखाउन थालेको छ । राजनीतिक विश्लेषकहरुका अनुसार यो सरकार सुपर फ्लपमा परेको छ ।
पहिलो कुरा, यसकै अन्तर्यमा खोजिनु पर्छ । यो सरकार हेर्दा जनताले चुनेर र चुनिएर आएको जस्तो देखिए पनि यो भारतीय प्रधानमन्त्री मोदीले निर्माण गरिदिएको वाम सरकार हो । चुनावी खर्चदेखि सबै कुरा मोदीले बेहोरिदिएका हुन् । एमाले र माके एकता पनि मोदीले गरिदिएका हुन् । त्यसैले यसको मर्म र मृत्यु कहाँ छ , त्यो मोदीका लागि सहज ज्ञानको विषय हो । सरकार आफ्नो हैसित र सोचले चलेको छैन र होइन पनि । यसले दिल्लीको एजेण्डा बोकेर नेपालीहरुमाथि राज गरिरहेको छ । त्यसैले यो ओली जस्ता पात्रको नेपाली अनुहारमा भारतीय स्वार्थ अनुसार निर्माण गरिएको दलाल सरकार हो । ओली सिक्किमी लेण्डुप दोर्जेको भूमिकामा छन् ।
दोस्रो कुरा, समाजवाद निर्माण, समृद्धि र विकास भनी यसले दिएको नारा र यसका व्यवहारमा आकाश पातालको अन्तरविरोध देखियो । यसले गरेका कुरा चटकीका चटकमा परिणत हुँदै गए । यसले स्वाभिमानका कार्यक्रमहरु केही पनि ल्याएन । सरकार निर्माण हुनेबित्तिकै नेपालको पूर्वदेखि पश्चिमसम्मको १० हजार वर्गकिलोमिटर सीमाको भारतीयले अतिक्रमित गरेको भूभाग भारतलाई दियो । अहिले भारतनिर्मित नक्कली झण्डा र नक्कली निशान छाप यसले प्रयोग गरिरहेको छ । नेपालको १ लाख ४७ हजार १ शय ८१ वर्ग किमि भूभागबाट १० हजार वर्ग किमि घटाएर अहिले १ लाख ३७ हजार वर्गकिलोमिटर मात्र नेपालमा देखाइएको छ ।
तेस्रो कुरा, ओलीका रेल र पानीजहाजका कुरा दलाल कुराहरु हुन् । रेल चीनको आउला, नेपालको होइन, रेल दक्षिणबाट भारतको आउला, नेपालको होइन । नेपाल आफैले रेल बनाउने कुरा ओलीले कहिल्यै गरेका छैनन् । उनले नेपाली भूमिमा विदेशीहरुका मुनाफाका लागि हुइँकिने रेलका कुरामात्र गरेका छन् । नेपालमा पानीजहाज कसका चल्लान् ? कि चीनका कि त भारतका । खोई त ओलीको पानी जहाज ? कहाँ बनाइँदै छ नेपालको पानी जहाज ? कति इञ्जिनियर, कति बजेट, कुन ठाउँ लक्षित गरेर बनाइएको छ वा बनाउँदै गरिएको छ ? यो सबै दलाल सोंचको हावा र हुइँय्या मात्र हो ।
देश निकै अस्तव्यस्ततामा चलेको छ । सामाजिक सुरक्षा कतै पनि छैन । कञ्चनपुरकी निर्मला तथा अन्य महिलाको बलात्कार र हत्या सरकारले नै गापचूप पारेर सिध्याउँछ । निर्दोष जनताका छोराछोरीहरुलाई कबोल गर्न लगाउँछ । झुट्ठा केस सिर्जना गर्छ । गृह तथा प्रहरीका छानबिन आयोगहरु सबै कुहिरोमा हराउँछन् । सरकारले अपराधी र अपराधको संरक्षण गर्छ ।
सरकारले जंगल फँडानीका कार्यक्रमहरु ल्याउँछ । काठ तस्करहरु मालामाल हुन्छन् । ओली सरकार र यसको सरकारी पार्टी नेकपाले मोटो कमिसन हसुर्छ । देश मरुभूमिमा परिणत हुँदै जान्छ । नदी बेच्ने र विजुली बेच्ने कार्यक्रमहरु ल्याउँछ । जलमाफियाहरुबाट मोटो कमिसन खान्छ सरकारले । जनता अन्धकारमा जीउन बाध्य छन् ।
शैक्षिक माफियाहरुले देशको शिक्षा बेचेर खान्छन् । सरकारले संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या गर्छ । त्यो त संविधानमा पो लेखियो, व्यवहारमा मेडिकल कलेजहरु बेचेर मेडिकल माफियाहरुबाट मोटो कमिसन लिन्छ ओली सरकारले । अनि डा. गोविन्द केसी एकलै भए पनि आमरण अनसन बस्न कहिले पूर्व त कहिले पश्चिम नेपाल जान्छन् । जनचेतनाका कुरा गर्छन् र प्रदेशहरुमा मेडिकल कलेजहरु खोल्ने माग गर्दछन् । तर सिंहदरवारमा सरकार आफै माफियाकरण भएको छ ।
भर्खरै मात्र देशका भूमिहरु खण्डीकृत गर्ने र सहरी विकासका नाममा उपयोग गर्ने निर्णय गरेको छ । भूमाफियासँग मिलेर ठूलो कमिसन र कालो सम्पत्ति आर्जनका लागि ओली सरकारले जमिन खण्डीकरण गर्ने र ऐलानी जग्गा पनि खण्डीकरण गर्न पाउने निर्णय मन्त्री परिषद्को बैठकबाट पारित गरेको छ । यसले अब सारा वनजंगल फडानीको अभियान देशव्यापी रुपमा चलाउँदै छ ।