सिंगो काठमाडौंलाई ‘लाल काठमाडौं’ बनाइँदै

देजमो काठमाडौंद्वारा भित्तेलेखन सुरु

प्रकाशित मिति : २०७५ पुस २९

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमाडौंले राजधानी सहर काठमाडौंका सडकहरुमा भित्ते लेखन सुरु गरेको छ । चैत्र २४ लाई केन्द्रित गरेर थालिएको यो भित्तेलेखन जिल्लाव्यापी रुपमा चलाइएको छ । आगामी चैत्र २४ गते जनआन्दोलन दिवसको अवसर पारेर देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्नो एतिहासिक प्रथम राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ । चैत्र २४ को राष्ट्रिय सम्मेलन ब्यापक जनपरिचालनसहित काठमाडौँमा भव्यताका साथ सम्पन्न गर्ने देजमोको निर्णय रहेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, काठमाडौंले संगठन निर्माण, बिस्तार र संघर्षका कामहरुलाई राष्ट्रिय सम्मेलनको तयारीका कार्यहरुसंग जोडेर प्रचार कार्यमा जुटिरहेको छ । देजमो काठमाडौंको आफ्नो पछिल्लो पूर्ण बैठकको निर्णयानुसार यसले संगठनसम्बन्धी केही महत्वपूर्ण निर्णयहरु पनि लिएको छ । ती निर्णयहरुमा व्यापक सदस्यता बितरण , संगठन बिस्तार तथा भेला, वैठक र सम्मेलनहरु रहेका छन् । वैठकले लिएका संघर्षका निर्णयहरुमा स्थानीय अन्तरविरोधहरुको पहिचान गर्दै न्याय, स्वतन्त्रता र समानताको पक्षमा स्थानीय संघर्षको उठान गर्न जोड दिइने छ ।

राष्ट्रिय सम्मेलनको तयारीका लागि पर्चा, पोस्तारिंग, ब्यानरिंग, माइकिङ् , भित्तेलेखन, स्वागत गेट निर्माण, तथा पाहुनाहरुको निम्ति आवस गृहको व्यबस्थाको तयारीमा पनि देजमो, काठमाडौँ जुटिरहेको छ । सम्मेलनमा जनपरिचालनको निम्ति कोण सभा, चोक सभा र जनसभाहरुका साथै व्यापक जनसहभागिताका निम्ति जनताका घर घरमा चुले निम्तो गर्न जाने जननीति पनि अपनाउने निर्णय गरेको छ । समर्थक तथा शुभेच्छुकसँग आर्थिक सहयोगको निम्ति आग्रह गर्ने निर्णय पनि गरिएको छ ।

राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि काठमाडौँ जिल्लाले खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने गरी तयारीका कामहरुलाई अघि बढाइएको देजमो काठमाडौँका अध्यक्ष खगेन्द्र छन्त्यालले बताएका छन् । काठमाडौंमा भित्ते लेखनको संयोजन गरिरहेका छन्त्यालले भित्ते लेखनको कार्यक्रम काठमाडौंको गोकर्णेशवर नगर कमिटिबाट सुरु गरिएको जानकारी गराएका छन् । उनका अनुसार अबको एक हप्ता भित्र काठमाडौँ जिल्लाभर पहिलो चरणको भित्तेलेखन सम्पन्न गरिसकेर सिंगो काठमाडौँलाई ‘लाल काठमाडौँ’ बनाइने छ ।