अस्ती पुस २७ गते ‘मुलुक निर्माता’ बाइसे चौबीसे राजाका पनि महाराजा भयाका सर्वशक्तिमान पितर ‘बडामहाराजधिराज’ पिर्थिवीनारानको बड्डे मनाउन्या काम धुमधामका साथ भयो । नेपाल मण्डलका उनका भक्तजनहर्ले उनका साक्षात ज्यानमा र ज्यान नभयाका ठाउँमा उनका फुटामा फूलमाला लाएर, अबिरले फुटा रङ्गाएर, मैनबत्ती बालेर मण्डलैभर उनको बड्डे मनाया । जयगान गर्या । यो समाचार खबरका सबै भाँडाबर्तनहर्ले लेख्या, छाप्या, साक्षात दर्शन गराया र आधुनिक बैज्ञानिक वरल्ड सञ्जालका भित्ता रङ्गाया ।
नेपाल मण्डलका पर्धानमन्तरीको अड्डाखानाको मूलढोका अगाडि तरबार समाएर ठिङ्ग उभियाका पिर्थिवीनारानको अगाडि गएर दशऔँला जोडेर अन्तरमनैदेखि साष्टाङ्ग दण्डवत प्रणाम गर्दै महामहिम मण्डलाधीस अधिपति परमाधिपति मण्डलाधिपति गनतन्त्राधिपति सम्मानीय नयाँ‘बडामहारानी’ श्री ६०१ (श्री ५ को बङ्स नास भई पद्वी समेत अन्त्य भयाको र ६०१ श्रीहर्को सभाले बनायाको सम्विधानले निर्माण ग¥याको एक्काइसौँ शताब्दीका बहुबङ्सीय राजतन्त्र भयाको हुनाले उनलाई श्री ६०१ भनिएको हो ।)का करकमलबाट आफ्ना अङ्गरक्षकहर्को दलबल सहित यस मण्डलका केही थान मन्तरीहर्लाई फट्के किनाराका साक्षी राखेर पितर ‘बडामहाराजधिराज’को बड्डे मनाउन्या काम सम्पन्न भयाको छ ।
मण्डलका गनतन्त्राधिपतिबाट बड्डे मनाया पनि गनतन्त्रे सर्खारले एकतादिवस भनी विदा मनाउन्या काम नगर्याको हुनाले पितर ‘बडामहाराजधिराज’का भक्तजन, अनुयायी र रैतीजन निकै नाराज भयाको समाचार पनि जताततैका आधुनिक कट्वालेहर्ले बतायाका छन् । सर्खारका परमाधिपति समेत रह्याकी श्री ६०१ बाटै बड्डे मनाउन्या काम सुसम्पन्न भयाको यस हिरक अवसरमा उनका अधिनस्त रह्याको सर्खार समेतले सार्वजनिक विदा नदिनु घोर अन्याय र अपमान पनि हो । यो त परामाधिपति अधिपति गनतन्त्राधिपतिको समेत अपमान हो भन्ने ठहर यो कैलुले पनि गर्याको छ । यस्तो घोर अपमान गन्र्या सर्खार त घोर नरककुण्डमा परी चौरासी त के, हजार जुनी भुगत्दा पनि मुक्त भई स्वर्गे जान सक्न्या छैन । यसको प्रायःस्चित्त गोदान गरी उनका भक्तजनहर्लाई भोज भतेर खुवाई वाइडबडीबाट आज्र्याको सम्पत्तीबाट केही अङ्श दानदातव्य गर्यामा भने एक पटकलाई माफी मिलि स्वर्गे जान्या बाटो खुल्ने उपाया यो कैलुले सुझायाको छ । आगे सर्खारको मर्जी ।
‘बडामहाराजधिराज’को बड्डे मनाया पनि विदा नदियाको हुनाले उनका भक्तजन जेजति नाराज भया त्यो भन्दा पनि बढ्ता नाराज भई औँला ठड्याई राखेका ‘बडामहाराजधिराज’ले वक्तव्य जारी गरी यो कैलुलाई आफ्ना खबर झर्रोटर्रोमा छाप्नु भनी सुटुक्क दियाको हुनाले ‘बडामहाराजधिराज’को सो वक्तव्य यहाँ जस्ताको तस्तै छाप्ने धृष्टता गरियाको छ ।
‘मेरा हिर्दयको घाऊ बन्याको सर्खार,
चौतरिया मिस्टर उखानप्रसाद,
हरेक बर्खको पौख २७ गते मेरो बड्डे पर्छ भन्ने कुरा यो भुवनैका मनुखेलाई समेत जानकारी छ भन्या तिमीलाई नहोला भनेर मैले अनुमान गर्न सक्दिन । तिमीलाई सातसमुन्द्र पारी म भन्दा सय बर्ख पछि जन्मियाका केजाति कारल मार्कसको साहित्या पढाउन्या तिम्रा गुरु अर्घाली पुरेतले समेत विगत केही बर्खदेखि मेरो फुटालाई झोलामा बोकेर महादेवले सतीदेवीको लास बोकेर चौध भुवनमा भौँतारिए जस्तै भौँतारिएर हिँड्दा पनि तिम्रो चेत नखुल्नु बडा दुःखको कुरो भयाको छ । तिमीले मेरो बड्डेमा रैतीजनलाई विदा दिएर मेरो किर्तन गाउन किन लगाएनौ र तिमी आफै तिम्रै अड्डाखाना अगाडि उभिएर तिम्रो सत्ताको रखबारी गरिरह्याको मेरा मुर्तीमा फूलमाला टक्याई मेरो स्वस्ती गर्न किन आएनौ ? यो घोर अन्याय भयो ।
मैले गोर्खा राज्यको विस्तार गरी यहाँका बाइसे चौवीसे राज्या रजौटाहर्को नास गरी यत्रो मण्डल निर्मान नगरिदियाको भए आज तिमी उच्चजातका तागाधारीहर्ले शासन गर्न्या कसरी अवसर पाउन्या थियौ ? मैले मेरा पितर पुर्खाले कब्जा गर्याको भीर पखेरा मात्रै भयाको यति सानो मेरा बाहुलीको हत्केला जत्रो भूमि गोर्खा राज्यमा मात्रै खुम्चिएर शासन गर्याको भए यो आधुनिक नेपाल नाउँको मण्डल हुन्या थिएन भन्ने कुरालाई तिमी, तिम्रा गोत्रादि र रैतीहर्ले स्वीकारी रह्याका छौ । मैले उतीबेला मेरो पुर्खाले आर्ज्याको गोर्खा राज्यको विस्तार गर्दा बाइसे चौबिसे राज्यका मातवालीहर्को नाक कान काटेर, टाउका गिँडेर भकुण्डो खेलाएर सबै मातवालीहर्को भासा खारेज गरी, तिनका भेसभुसा च्यात्न लगाई, तिनका रितिरिवाजा र संस्कार संस्कृति मिटाउन्या लगाई नेपाल मण्डलैभरी एउटै भासा एउटै जातीको राज्या सन्चालन गन्र्या थिति नबसाल्याको भया आज तिमीहर्को हालीमुहाली हुन्या अवस्था कसरी आउँदो हो ?
किन्चित पनि खयाल गर्याका छैनौ ? मैले मातवालीहर्लाई राज्या सन्चालनका हक हकादिबाट बेदखली गरी तिनका पुस्ता दरपुस्ताले राज्यसत्तामा आँखो लाउनै नपाउन्या र नसक्न्या गरी तिनको सत्यानास गर्या पनि कालान्तरमा मेरा पुस्ताका खनाति झनातिहर्ले पन्चप्रेतकालमा मातवालीका टाठाबाठा कहलिएका दुइचार थान जनजातिका ठेट्नाहर्लाई चौधै अन्चलबाट जम्मा पारेर शासन सत्ताको फट्के किनाराका साँछी बसालेर तागाधारी सत्ता टिकाउने विधि नबसाल्याको भए आज तिमरुले त्यो विधि पछ्याउने अवसर कसरी पाउन्या थियौ ?
आज तिमरुले मेरा मात्रै एकल बङ्सको राजतन्त्रात्मक शासन हत्याई गनतन्त्र नाउँको शासन चलाया पनि आखिरमा त्यो पनि गोर्खाली खसबङ्सकै एकल जातीय बहुबङ्सको राजतन्त्रै त चलायाका छौ । धर्मकर्म, भासा सासा, संस्कार संस्कृति, भेसभुसा, चालाचलन, राज्य सन्चालनको विधिविधान, नियाँनिसाफ, नोकरचाकर, शिक्षादीक्षा, कर्मकाण्ड सबै मेरै त फलो गरिरह्याका छौ । मेरो बङ्सको राजतन्त्र र तिम्रा बहुबङ्सको गनतन्त्र काटिकुटी उस्तै, जुम्ल्याहा सन्तान जस्तै त छ । केको फुर्ती लाउँछौ ए नाथे उखानपर्साद ।’