सुरेश तामाङको बन्दीप्रत्यक्षीकरणको रिटमाथि विहीवार बहस हुँदै

सुरेश तामाङको बन्दीप्रत्यक्षीकरणको रिटमाथि विहीवार बहस हुँदै

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कलोमासो दलेको अभियोगमा गिरफ्तार क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङलाई सार्वजनिक गर्नका लागि सर्वोच्च अदालतमा बुधवार बन्दीप्रत्यक्षीकरणको रिट परेको छ । सुरेश तामाङको जीवन संगिनी निर्मला तामाङद्वारा उक्त बन्दीप्रत्यक्षीकरणको रिट हालिएको हो । रिटमा ‘सुरेश तामाङको हकमा एकाघरको श्रीमती निर्मला तामाङ’ भनी रिट निवेदकको रुपमा उल्लेख गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा सुरेश तामाङलाई आइतवार उनकै घरमा बिहान ११ बजे खानाखाई बाहिर निस्किएको बेलामा सीआईबी प्रहरीको एक हुलले लछारपछार गरी गालीगलौज गर्दै अपमानित ढंगले प्रहरी भ्यानमा राखी लगेको स्थानीय जनताले प्रत्यक्ष देखेको कुरा उल्लेख गरिएको छ ।

रिटमा उल्लेख भएअनुसार कुरा बुझ्दै र खोजी गर्दै जाँदा तामाङलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको र भेट्न दिन अनुरोध गर्दा कोहीकसैलाई पनि भेट गर्न नदिनुभन्ने माथिको आदेश भएको जानकारी दिइएको बताइएको छ ।

रिटमा निवेदक निर्मला तामाङको तर्फबाट निज गिरफ्तार श्रमिान् सुरेश तामाङलाई संविधान र कानुन बमोजिमप्राप्त मौलिक हक र निजले स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने कुरामा कुनै पनि विवाद हुन नसक्ने र सूचना पाउने हकबाट बञ्चित गर्न नपाइने भन्दै संविधानप्रदत्त अधिकार कुण्ठित र विपरीत हुने गरी बदनियत र कपटपूर्ण तरिकाले विपक्षी प्रहरी कार्यालयले गिरफ्तार गरेको हुँदा निजलाई प्रत्यक्षीकरणको माग गरिएको छ ।

रिटमा निवेदक निर्मला तामाङ निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतको नियमावली अनुसार हाजिर जमानीमा रहने कुरा पनि उल्लेख गरिएको छ । सर्वोच्चमा परेको उक्त रिटमाथि विहीवार बहस हुने भएको छ ।

उता संसदीय उपसमितिले वाइडबडी विमान खरिदमा कंसाकार नै मुख्य योजनाकार रहेको भनी बुझाएको सोही प्रतिवेदनलाई संसदीय सार्वजनिक लेखा समितिले पनि स्वीकार गरी पारित गरेको छ । यो प्रकरणमा ४ अर्ब ३६ करोड घोटाला गरिएको उल्लेख गरिएको छ ।