काठमाडौं । धुले सडक उद्घाटन गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानी जहाज हिंड्ने कुरा बताएका छन् । पूर्वी नेपालका केही जिल्लाहरु जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशीमा जानी जहाज चलिरहेको आफ्नो ब्रह्मले देखेको कुरालाई खुलस्त गर्दै उनले भने– ‘पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।’
मेचीदेखि महाकालीसम्म जहाँ पनि बाटो, जहाँ पनि बिजुली, जहाँ पनि खाने पानी, जहाँ पनि इन्धन र इन्टरनेटको सुविधा भन्दै गर्दा कोशीमा पानी जहाज चल्ने कुरा मजाकको विषय नभएको बताएका थिए । तर उनले त्यो चाइनाको पानी जहाज हो वा भारतको पानीजहाज त्यो भने बताएनन् । बोल्दा उनले केवल पानी जहाजको मात्र उच्चारण गरे ।
कल्पनाको भाषण गर्दै गर्दा ओलीले देशभर सबैतिर सडक पुगको, बिजुली बलेको, देश उज्यालो नै उज्यालो बनेको भन्दै दिनदिनै देश नयाँ सिँढि चढिरहेको देखेको बताएका थिए । उनको सबैभन्दा ठूलो सन्तुष्टि भनेको भेडेटार–रबि–राँके सडकको मध्यविन्दु रवि भन्ने ठाउँ झापामा परेकोमा नै थियो ।
मोरङ, धनकुटा, इलाम र पाँचथरका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भएपछि चार जिल्लाका बासिन्दाले पिच सडकको सुविधा पाउने छन् ।
तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ को लागतमा करीब एक सय किलोमिटर बाटो पक्की सडकमा परिणत हुने छ । यो सडक निर्माणको जिम्मा एप्को इन्फ्राटेक प्रा.लि. लखनौ भारतले लिएको छ ।