काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट जगतमा निरन्तर उत्कृष्ट भन्दा उत्कृष्ट प्रदर्शन गरिरहेको अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाएको १८ महिना नबित्दै सन् २०२० को टी–२० विश्वकपमा सोझै छनोट भएको छ ।
अफगानिस्तानले सन् २०१८ मा टी–२० वरीयताको शीर्ष ८ मा आफ्नो स्थान बनाएपछि टी–२० विश्वकप २०२० को लागि सोझै छनोट भएको हो । अफगानिस्तान पहिलोपटक छनोट चरणमा नखेल्दै विश्वकपका लागि छनोट भएको हो । सन् २०१८ मा खेलेका ७ मध्ये ७ नै खेलमा जित हात पारेपछि अफगानिस्तानले वरियतामा उल्लेख्य सुधार गरेको थियो ।
यस बिचमा उसले बंगलादेशमाथि ३–० को ह्वाइटवास गरेको थियो । अफगानिस्तानले सन् २०१० मा वेस्ट इन्डिजमा भएको विश्वकपमा छनोटको फाइनलमा आएरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । सन् २०१२ मा पनि छनोट भएको अफगानिस्तान सन् २०१४ मा भने छनोटमा बंगलादेश र नेपालभन्दा तल रहेको थियो । सन् २०१६ मा पनि अफगानिस्तानले वेस्ट इन्डिजलाई पराजित गर्दै सनसनी मच्चाएको थियो ।
सन् २०२० को प्रतियोगितामा अफगानिस्तान सिधै छनोट हुँदा जिम्बाब्वे र आएरल्यान्डले भने ग्लोबल क्वालिफायर खेल्नेछन् । ग्लोबल क्वालिफायरमा सन् २०१६ को प्रदर्शनलाई आधार मानेर ४ एसोसिएट राष्ट्रलाई सिधै स्थान दिइएको छ । स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले ग्लोबल क्वालिफायरमा स्थान बनाएका छन् । अब क्षेत्रीय छनोटबाट ८ टोलीले यस ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन् । कुल १४ टोली सहभागी रहने ग्लोबल क्वालिफायरबाट शीर्ष ६ टोलीले अष्ट्रेलियामा हुने पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग खेल्नेछन् ।