मनाङमा १८ घण्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस

मनाङमा १८ घण्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । यसअघि नै माइनसमा पुगेको यहाँको तापक्रम हिमतापका कारण माइनस २० डिग्री सेल्सियसमा झरेको छ । जिल्लामा बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।’

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ ।

झन्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिएको बताए ।