
दाङ । नेकपा (क्रान्तिकारी माओवादी) दाङले एक वक्तव्य जारी गरी तुलसीपुर बस दुर्घटनाका मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क शिघ्रातीशिघ्र उपचार गर्न र मृतक परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसित जोडदार माग गरेको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका दाङ जिल्लाका इन्चार्ज हिरामणि दुःखीले जिल्ला पार्टीको तर्फबाट एक वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् । शनिवार दुःखीले जारी गरेको वक्तव्यमा पुस ६ गते बेलुका करिब ५ बजे दाङ घोराही उपमहानगरपालिका–१७, गैरागाउँ स्थित कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यान कपुरकोट, मुलपानीमा रहेको बोटानिकल गार्डेनको अध्ययन अवलोकन भ्रमणमा गएको तुलसीपुर यातायत प्रा.लि.को बा ४ ख १७६६ नं.को यात्रुबाहक बस फर्कने क्रममा अनियन्त्रित भई राप्ती राजमार्गमा पर्ने तुलसीपुर उपमहानगरपालिका–३, राम्रीको दक्सुडाँडाको भीरबाट खस्दा अकल्पनीय र त्रासदीपूर्ण दुर्घटना हुन पुगेको र सो दुर्घटनाबाट बसमा सवार चालक सहचालक सहित उक्त प्राविधिक क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी २३ जनाको दुखद निधन भएको खबरले पार्टी स्तब्ध भएको उल्लेख गरेका छन् ।
वक्तव्यमा भनिएको छ, “निकै त्रासद एवम् दुःखदपूर्ण घटनाबाट निधन भएका शिक्षक, विद्यार्थी र चालकहरू सबैमा हार्दिक श्राद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्रातिशिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु । र, मृतक एवम् घाइतेहरूका परिवार, आफन्तजन, क्याम्पस परिवार र सम्वन्धित सबैमा गहिरो समवेदना टक्र्याउन चाहन्छु । यस घटानाबाट भएको मानवीय क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घाइतेहरूको उपचार खर्च र मृतकका परिवारहरूलाई क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गर्दछु ।”
उक्त सडकखण्डको स्तरोन्नती नहुँदा सोही स्थानमा बारम्बार दुर्घटना हुने गरेको उल्लेख गर्दै दुःखीले उक्त सकड खण्डको स्तरोन्नतीका लागि तत्काल पहल गर्न पनि सरकारसित जोडदार माग गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, “उक्त स्थानमा दुर्घना भएको यो तेस्रो घटना हो भने यस राजमार्गमा यसप्रकार ठूलठूला दुर्घटना दर्जनौ पटक भइसकेका छन् । यस अघि सोही स्थानमा केही बर्ष अगाडि रुकुमबाट फर्कंदै गरेको ट्रयाक्टर र बाइक दुर्घना भई जन धनको क्षति भइसकेको छ । तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने उक्त राजमार्गको प्रारम्भिक सर्भे २०२४ सालमा भएको र केही समयपछि ट्रयाक खोल्न सुरु गरिएको हो । २०४२ सालबाट पहिलो पटक नियमित रूपमा सल्यानमा गाडि गुड्न थालेको सो बाटोको अझैसम्म स्तरोन्नती हुन सकेको छैन । त्यस यता स्वयम् सल्यानबाटै देशको प्रधानमन्त्री समेत भएका र सल्यान, रुकुम, रोल्पा, दाङ, र जाजरकोटबाट दर्जनौ नेता मन्त्री भइसक्दा पनि उनीहरू कसैबाट पनि यो बाटोको स्तरोन्नती गरी राजमार्गको मापदण्डअनुरूपको बाटो बनाउनमा चासो दिइएको छैन । केही बर्ष अगाडि एक लेनको सामान्य पिच गरिएको बाटो अहिले करिब पचास प्रतिशत भन्दा बढि भत्किसकेको छ । त्यसैमा पनि रोल्पाबाट दिनहुँ दर्जनौको सङ्ख्यामा बाटोको भारबहन क्षमता भन्दा बढि लोड गरिएका सिमेन्ट उद्योगको क्लिङ्कर बोकेका ट्रिपर कपुरकोटबाट दाङ झर्ने गर्नाले बाटो जीर्ण बन्न पुगेको छ । यसतर्फ सम्वन्धित सरकारी निकायको ध्यान जान जरुरी छ । कम महत्वका स्थानमा पनि डोजर लगाएर जथाभावि बाटो खनेर विकासको डिँग हाँक्नु भन्दा भएका र बढि चालु रहने यस्ता राजमार्गमा बजेट विनियोजन गरी तुरुन्त राजमार्गको स्तरोन्नती गर्न सरकारसँग जोडदार माग गर्दछु ।”