फिफा बरियतामा नेपालको सुधार, को छ शीर्ष स्थानमा ?

प्रकाशित मिति : २०७५ पुस ६

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपालले एक स्थान सुधारेको छ । फिफाले बिहिबार राती सार्वजनिक गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थानमाथि उक्लिएको छ ।

अघिल्लो महिना एक सय ६२ औं स्थानमा रहेको नेपालले एक स्थान माथि उक्लिदैँ एक सय ६१ औं स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा माथि छन् । भारत समग्रमा ९७ औं स्थानमा यथावत छ ।

माल्दिभ्स एक सय ५२ औं स्थानमा छ । यसैगरी भुटान एक सय ८६ औं, बंगलादेश एक सय ९२ औं, पाकिस्तान एक सय ९९औं र श्रीलंका दुई सय एक स्थानमा छ ।

विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र ईङ्ल्यान्ड पाँचौ स्थानमा छ । पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ ।