आगो झैं लप्लपाउँथे नक्सल बन्दीहरु

प्रकाशित मिति : २०७५ मंसिर २८

- मेरी टाइलर

सुपरिन्टेन्डेन्ट हामीकहाँ आए । उनीसँग एकजना स्थानीय अधिकारी पनि थिए । मैले उनलाई जमदेशपुर सरूवा गरिदिन भने किनकि म आफैंले मेरो मुद्दाको सिलसिला के भइरहेको छ हेर्न चाहन्थे । तर उनले निकै उग्र प्रतिक्रिया व्यक्त गरे– “मसँग ढङ्ग पुर्याएर कुरा गर्ने गर, नत्र दाँतसाँत झारिदिउँला ।” फेरि उनले भने– ‘‘किन तिमी सबै नक्सलवादीहरू जेलमा सडेर मर्दैनौ हँ ? म तिमीहरूलाई देखेर अघाएको छु ।” मैले सम्झिए कि पुरूष वार्डमा आज केही न केही त अवश्य भएको छ, त्यसैले त यतिविधि बहुलाएका छन् ।

केही दिनपछि मलाई जानकारी पनि भयो कि साँच्चै के भएको थियो भनेर । सन् १९७१ सालको गोलीकाण्डको जाँच सुरू भए भएको थियो । जाँच गरिरहेका न्यायाधीशले नक्सलवादीहरूको वार्डको निरीक्षण गरेका थिए । नक्सलवादीहरूले जोडजोडले नारा लगाइरहेका थिए, ‘‘रगतको बदला रगतले लिन्छौं ।’’ यस घटनाले उनलाई रिस उठाएर पागल बनाएको थियो ।

गोलीकाण्ड घटना पूरा एक वर्ष पार गर्र्ने बित्तिकै माथिबाट फेरि आदेश आयो, हाम्रा वार्डका वरपर रहेका सारा रूख र झाडीहरू काट्न भनेर । चमेलीको रूखमा एकदुईवटा फूल फूल्न सुरू भएको थियो । अम्बामा एकदुईटा कोपिला लाग्न सुरू भएको थियो । काटिएको निमको रूखबाट हाँगाहरू निस्कँदै थिए । त्यसको छेउँमा छायाँमा आएर हामीहरू बस्दथ्यौं । यी सबै फेरि एकपटक हामीहरूबाट खोसिए ।

२५ जुलाइमा नक्सलवादी कैदीहरूले घण्टौं नारा लगाए । त्यस दिन दक्षिणतिरबाट हावा चलिरहेकाले नाराको ध्वनी हामीहरूको कानसम्म आइरहेको थियो । उनीहरूले आफूमाथि आइपरेको चुनौतीको भरसक पूराका पूरा सामना गरिरहेका थिए । त्यसै बखत भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) को प्रथम महासचिव चारू मजुमदारको पुलिस हिरासतमा मृत्यु भएको खबर पत्र पत्रिकाहरूमा आइरहेको थियो ।

चारू मजुमदारलाई केही दिन पहिले गिरफ्तार गरिएको थियो । उनले सन् १९६९ मा पार्टी स्थापना गरेका थिए । नक्सलवादी आन्दोलनलाई मुख्य नेतृत्व प्रदान गरिरहेका थिए । चारूमजुमदारलाई पुलिसले हत्या गरेको भन्ने आम जनताको धारणा थियो । मलाई अचम्मै लाग्दथ्यो कि जेलभित्र आउने पत्रिका सेन्सर गर्नेवालाहरूले कहिलेकहीँ नक्सलवादीका खबरहरूलाई काटेर सेन्सर गर्दैनथे । उनीहरुले यस्ता खबरले जेलमा रहेका हामीहरूको मनोबल गिराउन मद्दत पु¥याउने छन् भनेर सोच्ने गर्दथे । तर पनि उनीहरूको यो तरिकाको मभित्र उल्टो असर पर्दथ्यो । म आफैं नै कालो मसीले पोतिएको समाचार सबैभन्दा राम्रो समाचार भएको ठान्दथेँ । मैले मेरो पत्रिकामा जति बढी कालो मसीले पुछिएको हुन्थ्यो, उति नै बढी म खुसी हुन्थे ।

सेप्टेम्बर महिनाको सुरूका दिनहरूमा म यति धेरै बिरामी भएँ कि ओछ्यानबाट उठ्न समेत सकेन । यस्तो कमजोरी मैले पहिले कहिल्यै पनि अनुभूत गरेकी थिएन । मेरो शरीरको तौल २८ पौण्ड कम भएको थियो र मेरो वार्डको इन्चार्ज डक्टरलाई समेत यो कुरा थाह भएको थिएन कि मलाई कुन खालको रोग लागेको थियो । हरेक दिन प्रत्येक मान्छे आएर मलाई खाना खान भन्दथे । तर खाना देख्ने बित्तिकै मलाई खानै मन लाग्दैनथ्यो । म एक हप्तासम्म ओछ्यानमा पल्टिइरहेँ । मेरो शरीर ज्वरोले पोलिरह्यो । त्यसपछि जेलको अर्को डक्टरलाई बोलाइयो र उसले आउनेबित्तिकै भन्यो कि मलाई हेपाटाइटिस भएको थियो ।

केही दिनका लागि मैले भीआईपीको सुविधा पाएँ । अधिकारीहरू यो कुराबाट भयभित थिए कि यदि मलाई केही कसो भएमा यसको सम्पूर्ण जिम्मेवारी उनीहरूको टाउकामाथि थोपरिन्थ्यो । मलाई अरूभन्दा अलि बढी नै सबैले चिन्नेमा पर्दथे । मेरो बारेमा बाहिर पनि केही सोधपुछ हुन्थ्यो । त्यसैले म तलमाथि परेमा अरू बन्दी जस्तो गरेर सजिलै लुकाउन सकिँदैनथ्यो । लगभग एक महिनासम्म मलाई आरामदायक ओछ्यान दिइयो । मच्छडदानी भित्र सुताइयो र अत्यन्त पौष्टिक आहार दिइयो, तर म यति धेरै विरामी थिए कि त्यो खाने कुरा खानै सक्तैनथे ।

मसँग बस्ने कैदी साथीहरूले मेरो स्याहारसुसारको लागि गर्नुपर्ने काम केही बाँकी राखेनन् । उनीहरूले जेजे गर्न सक्दथे, त्यही त्यही गरे, जसले गर्दा मलाई पूर्ण रूपमा स्वस्थ बनाउन सकून् । उनीहरुले कोठीको सरसफाइ गर्दथे र मेरो लागि माड पकाएर खुवाउँथे । केही काम नभए पनि मेरो शरीर कस्तो छ ? मलाई कस्तो भयो भनेर सोधपुछ गरिरहन्थे । एकदिन एउटीले भनिन्–‘तिमी तिम्रो घरबाट यति धेरै टाढा छ्यौं, त्यसैले तिमी यसरी विरामी पर्यौं । तर तिमीले यो कुरा ख्याल गर्नु पर्छ कि अब हामीहरू नै तिम्रो आमा, बहिनी वा पूरै परिवार हौं । हामीहरूले तिम्रो पूरै रेखदेख गर्नेछौं ।”

यसपछि मैले महसुस गरे कि मेरो सङ्गी साथीहरूसँगको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ । सेप्टेम्बर महिनाको अन्तिम दिनहरूमा जब म ओछ्यान परेको हुन्थे, त्यसबेला चूपचाप महिलाहरू वरपर डुलेको देखेर, खुला आकाशमा हेर्दा बादलको एउटा ढिस्कोले अर्को ढिस्कोलाई धेकेलेको देख्दा, पिपलको रूखमा आफ्नो गुँडमा चराहरू फर्किएको देख्दा र बच्चाबच्चीहरू निमको रूखमुनि खोलिरहेको देख्दा मैले ठूलो शान्ति महसुस गर्दथे । तर यो सिलसिला धेरै दिनसम्म चल्न सकेन । यहाँसम्म कि जब म बिरामी थिए्ँ, त्यस समयमा पनि अचानक खानतलासी गरिएको थियो, मेरो कोठीमा । जसले गर्दा कम्मल, गद्दा र सिरानी वरपर छरपस्ट पारिदिए । कोठामा पत्रपत्रिकाका पानाहरू छरिएका थिए । मैले थाह नै पाएन कि के कारणले तिनीहरू यस्तो विरामीको बेलामा पनि खानतलासी लिन आए । जब कि म जाँदै विरामीको कारणले आफै अडिएर उभिनसम्म सक्तैनथे ।

म त्यसबेला पनि निकै कमजोर थिए, जुनबेला हाम्रो साथमा तीनजना स्कुले शिक्षिका राखिएको थियो ती शिक्षिकाहरूसहित हजारौं अरूहरूलाई भारतीय दण्डसंहिताको धारा १४४ अन्तर्गत हडताल गर्दैगर्दा गिरफ्तार गरिएको थियो । यस प्रावधानअनुसार एउटा ठाउँमा पाँचभन्दा बढी व्यक्तिहरू जम्मा हुने र सभा जुलुस गर्ने काममा रोक लगाइएको थियो । यी अध्यापक मण्डलले यो माग गरिरहेका थिए कि सरकारले प्राइभेट स्कुलहरूलाई आफ्नो नियन्त्रणमा लेओस् ताकि पेन्सन, आवास तथा तलब पाइने कुराको ग्यारेन्टी होओस् । उनीहरूले भन्दथे कि कहिलेकहीँ त उनीहरूलाई महिनौ तलब मिल्दैनथ्यो ।

कैदीहरूको सङ्ख्याको चापले गर्दा सरकारले हजारीबागदेखि लगभग २० माइलको दुरीमा पर्ने चाँदबाडामा रहेको एक पुरानो क्याम्प जेलको रूपमा फेरि खोलि दिएको थियो । मेरो जहाँसम्म सम्झना छ, त्यो जेलको प्रयोग सबैभन्दा पहिले अङ्ग्रेजहरूले गरेका थिए होलान् । पछिल्ला वर्षहरूमा चाँदबाडा तथा अन्य क्याम्प जेलहरूको बढी भन्दा बढी प्रयोग गर्नुपरेको थियो । मैले जेलमा हडतालपिच्छे जेल आउनेहरू धेरैलाई देखे । जसमा शिक्षिकाहरूको समूह पहिलो थियो । तथापि, उनीहरूको मनोबल अपेक्षाकृत सजिलैसँग गिराउन सरकार सफल भयो । विना सर्त आफ्नो काममा फर्कने सम्झौतामा हस्ताक्षर गरेर उनीहरू फर्किए । तर, पछि हडताललाई त्यति सजिलैसँग सरकारले दबाउन सकेन ।

जेलमा उनीहरूलाई उच्च श्रेणीको व्यवहार गरियो । खानका लागि राम्रो रासन खर्च दिइयो । उनीहरूलाई कपडा पनि दिइयो । उनीहरूले ती कपडा जेलबाट जाने बेलामा आफ्नै साथमा लिएर गए । मलाई यो कुरामा चित्त बुझेन कि त्यहाँ बसेका केही महिलाहरू झुत्रेझुम्रे कपडामा डुलिरहेका थिए । स्कुलमा शिक्षिकाहरू त्यहाँबाट गएपछि मेरो र सहायक जेलरको बीचमा कडा बहस चल्यो । कोही महिलाहरूसँग आफ्नो दुब्लो पातलो काँध ढाक्ने कपडाको टालोसम्म थिएन । जाडो सुरू हुने बित्तिकै उनीहरूलाई थुप्रै कठिनाइहरू आइपरेका थिए ।

यसपछि एक निरीक्षणपछि त्यससँग सम्बद्ध अधिकारलिे जससँग कपडा छैन, उनीहरूलाई एउटा साडी र ब्लाउज दिने आदेश थियो । यो भन्दा बढी केही दिइएन । मैले देखेकी थिए कि ती स्कुल शिक्षिकाहरूसँग थुप्रै कपडा हुँदाहुँदै पनि र केही दिनका लागि मात्र आए पनि उनीहरूलाई थुप्रै कपडाहरू दिइएको थियो । अधिकारीहरूले जवाफ दिए, मैले जो साथीहरूको बारेमा उदाहरण पेस गरेर कुरा उठाएकी थिए, ती जेल आउनुभन्दा पहिले नै गरीब थिए । जेल बाहिर पनि च्यातिएका कपडाहरू लगाएर हिँड्थे । यो पनि भनियो कि जेलभित्र आएर उनीहरूको जीवन समृद्ध गर्न सकिदैन ।

जेलको न्यूनतम सुविधाको औचित्य प्रमाणित गर्न यो व्यक्तिले जेलबाहिर ठिहिराउने जाडोमा नाङ्गै जीवन बिताउने यी कैदीहरूले जेलभित्र पर्याप्त कपडा पाएका छन् भन्ने नजीर पेस गरिरहेको थियो । त्यस अवधिको चुनावमा काङ्ग्रेस सरकारले विजय हासिल ग¥यो । त्यसका लागि उसले ‘गरिबी हटाऔं’ को नारा निकै जोडसँग उठाएको थियो ।

(बेलायती लेखिका मेरी टाइलरद्वारा लिखित ‘माई यर्स इन एन इन्डियन प्रिजन’ बाट अनुदित –सं)