दलाल राज्यसत्तालाई धक्का दिनेगरी लिइएका आम हड्तालसम्मका संघर्षसम्बन्धी निर्णयको विशेष महत्व छ 

प्रकाशित मिति : २०७५ मंसिर २६

- सिपी गजुरेल

 

नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले लिएका निर्णयहरुको मूल स्पिरिटबारे संक्षिप्तमा प्रकाश पारिदिनुस् न ।

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को हालै बुटवलमा केन्द्रीय समितिको बैठक सम्पन्न भयो । नेपाल यतिखेर जुन अत्यन्त विकराल परिस्थितिबाट गुज्रिरहेको छ, त्यस सन्दर्भ माथि विचार गर्दा यो बैठकको ठूलो महत्व छ । यसले लिएका निर्णयहरुको स्पिरिटलाई पनि यसै सापेक्षतामा लिनु आवश्यक छ ।

यो बैठकको स्पिरिटको सबैभन्दा महत्वपूर्ण पक्ष संघर्ष सम्बन्धी विषय हो । विगतमा हाम्रो पार्टीमा गराइएको फूटको कारण संगठन सापेक्षित रुपमा कमजोर भएकाले संगठन सुदृढीकरण र विस्तारको कामलाई पार्टीले महत्व दिएको थियो । यसलाई यसप्रकार योजनामा मूर्तिकरण गरिएको थियो– संगठन, संगठन र फेरि पनि संगठन । अर्को चरणमा गएर संगठन र संघर्ष दुवैलाई सन्तुलित किसिमले अगाडि बढाउने नीति लिइएको थियो, जसअनुसार संगठन–संघर्ष–संगठनमा मूर्तिकृत गरिएको थियो । यस पटकको केन्द्रीय समितिको बैठकले संघर्षमा बढी जोड दिएको छ– संघर्ष–संगठन–संघर्ष । आज नेपाली समाजले यो राज्यसत्ताको उत्पीडनबाट उन्मुक्तिका लागि संघर्षका खाँचो महशुस गरिरहेको बेलामा हाम्रो पार्टी केसले लिएको निर्णयको भारी महत्व छ ।

आम हड्तालसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको छ । जनसंघर्ष र प्रतिरोध संघर्ष गर्ने पनि भनिएको छ । यसको आवश्यकता किन पर्यो ? प्रष्ट पारिदिनुस् न ।

आम हड्ताल जनसंघर्ष र जनआन्दोलनको एउटा उत्कर्ष रुप हो । जन आन्दोलन वा जनसंघर्षलाई एक दुई दिन झारा टार्ने किसिमको संघर्षका रुपमा नलिएर निरन्तर रुपमा, प्रस्तुत गरिएका मागहरुलाई पुरा गराउने र दलाल राज्यसत्तालाई समेत धक्का दिने किसिमले अगाडि बढाउने क्रममा आम हडतालसम्म पुग्ने लक्ष्य राखिएको छ । जहाँसम्म प्रतिरोध संघर्षको प्रश्न छ, राज्यले क्रान्तिकारी संघर्षलाई दबाउनका लागि जुन किसिमले दमनको तरिका अपनाइरहेको छ, त्यसको सामना गर्न प्रतिरोध संघर्ष आवश्यक हुन गएको छ । प्रतिरोध संघर्षबिना जनआन्दोलनको सुरक्षा र विकास गर्नु कठिन हुने भएकोले यसप्रकारका संघर्षलाई एक साथ अघि बढाउनु आवश्यक भएको हो ।

बन्द हड्ताल गर्दा सर्वसाधारण जनता मारमा पर्ने र जसका विरुद्ध संघर्ष गरिने हो त्यहाँ खासै असर पुग्दैन भन्दै विरोध गर्नेहरु पनि छन् । वैकल्पिक संघर्षका मोडेलहरुको विकास गर्न आवश्यक छ भन्नेहरुलाई के भन्नुहुन्छ ?

बन्द, हड्तालहरु संघर्षका महत्वपूर्ण स्वरुपहरु हुन् । गम्भीर स्थितिमा यस प्रकारका संघर्षका रुपलाई अपनाउने गरिन्छ । तर, नेपालमा यस्ता महत्वपूर्ण संघर्षका रुपको अत्यन्त अबमूल्यन हुने गरी जथाभावी र गैरजिम्मेवारीपूर्ण तरिकाले घोषणा गर्न थालियो । जसका कारण समाजमा त्यसप्रकारका गैरजिम्मेवारपूर्ण र कतिपय अवस्थामा नक्कली किसिमका “बन्द”का कार्यक्रमले केही वितृष्णा पैदा गर्ने काम भयो । यसका साथै संघर्षबाट जोगिनका लागि पनि भ्रष्ट तत्वहरुले शाषक वर्गका मानिसहरु मार्फत् ती संघर्षहरुलाई अतिशयोक्तिपूर्ण रुपमा प्रचार गर्ने काम गरे ।

जनताको मुक्तिका लागि, राज्यद्वारा गरिएका ज्यादतिका बिरुद्ध, समाजमा विद्यमान भ्रष्टाचार, तस्करी, माफियातन्त्र आदिका विरुद्ध गरिने संघर्षमा जनताले त्यस प्रकारका संघर्षको विरोध होइन समर्थन गर्दछन् । संघर्षकै दौरानमा आवश्यकता अनुसार संघर्षका विविध रुपहरु प्रकट हुने गर्दछन् । त्यस प्रकारका रुपहरुलाई पनि प्रयोगमा ल्याउनमा ध्यान दिनु पर्दछ । अहिले हामीले कुनै नयाँ मोडेल नै चाहिन्छ भन्ने ठानेका छैनौं ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका समस्याहरु दिनानुदिन भयावह बन्दै गएका छन् । यो व्यवस्था रहुन्जेल यी समस्याहरुको समाधान हुने देखिन्न । बन्द हड्तालबाट अहिलेको सरकारले तपाईंहरुको आवाज सुन्ला र ?

राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी समस्या दिनानुदिन भयावह बन्दै गएको कुरा सत्य हो । यो व्यवस्था रहुन्जेल यी सबै समस्याहरुको समाधान हुन्न भन्ने कुरा पनि सत्य हो । तर, यी विषयसँग सम्बन्धित साना तिना माग पनि पुरा हुन सक्दैनन् भन्ने कुरा सत्य होइन । साना तिना मागहरु पुरा गराउन सक्दा पनि जनतामा हौसला बढ्दै जान्छ र झन् धेरै जनता संघर्षमा सहभागी हुँदै जान्छन् । क्रान्तिकारी शक्ति बलियो बन्दै जाने र प्रतिकृयावादी शक्ति कमजोर बन्दै जाने क्रम अगाडि बढ्दै जान्छ । यदि सरकारले जनताका आवाज सुनेन, जायज मागहरु पुरा गरेन र तिनीहरुमाथि दमन गर्न थाल्यो भने यो सरकारका विरुद्ध जनताको आक्रोस बढ्दै जान्छ र अन्तमा यसको अन्त पनि अनिवार्य बन्न जान्छ ।

राज्य त क्रान्तिकारी शक्तिका विरुद्ध निरंकुश रुपमा प्रस्तुत हुँदै आएको छ । राज्यले गर्ने दमनको प्रतिरोध कसरी गर्नुहुन्छ ?

यो कुरा साँचो हो कि राज्य क्रान्तिकारी शक्तिका विरुद्ध निरंकुश रुपमा प्रस्तुत हुँदै आएको छ । यसका साथै यो कुरा पनि सत्य हो कि यसका विरुद्ध संघर्ष पनि हुँदै आएका छन् । कतिपय ठाउँमा सरकार पछि हट्न वाध्य पनि भैरहेको छ । उदाहरणका लागि सरकारले जनताको विरोधलाई कुल्चनका लागि काठमाडौं लगायत देशैभर सार्वजनिक विरोध र धर्ना गर्ने ठाउँहरुमा निषेधाज्ञा घोषणा गरेको थियो । तर त्यसलाई लागु गर्न सकेन । जहाँसम्म प्रतिरोध कसरी गर्ने भन्ने विषय छ, त्यो त परिस्थिति माथि र क्रान्तिकारी शक्ति र प्रतिक्रियावादी शक्तिका बीचको शक्ति सन्तुलनमा पनि निर्भर गर्दछ ।

ओली सरकारको नौ महिने अवधिलाई हेर्दा सरकार आफैले अगाडि सारेका कार्ययोजनामा पूरै असफल भएको देखिन्छ । जनता वैकल्पिक राजनीतिक शक्तिको खोजी गर्न थालेका छन् । क्रान्तिकारी माओवादीले त्यो हैसियत प्रदर्शन गर्न सक्छ ?

ओली नेतृत्वको यो कथित दुई तिहाई बहुमतको सरकार नौ महिनामै पूर्णरुपमा असफल सावित भैसकेको छ । निश्चित रुपमा जनता यो सरकारका विरुद्ध वैकल्पिक शक्तिको खोजीमा छन् । त्यो वैकल्पिक शक्ति पनि वर्ग संघर्षकै दौरानमा तयार हुने कुरा निश्चित छ । जहाँसम्म क्रान्तिकारी माओवादी पार्टी हो विचारका दृष्टिले, राजनीतिका दृष्टिले, योजनाका दृष्टिले वैकल्पिक शक्ति नै हो र यसले त्यो भूमिका खेल्दै पनि आएको छ । आत्मगत शक्तिका हिसाबले यो पार्टीले त्यो हैसियत अहिले नै देखाइहाल्न सकेको छैन । विचार, राजनीति, योजना, कार्यदिशा, कार्यशैली आदि सबै पक्षमा यो वैकल्पिक शक्तिका रुपमा जनतामा परिचित भएपछि संघर्ष कै दौरानमा यो आत्मगत रुपमा पनि वैकल्पिक शक्ति बन्न सक्नेछ । यसमा कुनै सन्देह छैन ।

तपाईं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको अध्यक्ष समेत हुनुहुन्छ । अब यो मोर्चाले के कस्ता कार्यक्रमहरु लिएर जनताको बीचमा जान्छ ?

देशभक्त जनगणतान्त्रिक मोर्चाले माथि उल्लेखित राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्वन्धी मागहरु पुरा गराउनका लागि अगाडि बढ्दछ । यी संघर्षमा यो मोर्चा आफैं तयारीमा पनि लाग्दछ र यसको नेतृत्व पनि गर्दछ । नेपाली समाज केही समय मै एउटा ठूलै जन संघर्ष, जनआन्दोलनका बीचबाट गुज्रनुपर्ने अवस्था आउने कुरा निश्चित जस्तै देखिन्छ । यसमा देशभक्त जनगणतान्त्रिक मोर्चाले अग्रणी भूमिका खेल्ने छ । यहि आगामी पौष १ गतदेखि बस्ने देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय समितिको बैठकले संघर्षका कार्यक्रमलाई ठोस गर्ने छ ।

नयाँ जनवादी क्रान्तिका तीन जादुगरी हतियारमध्ये ‘संयुक्त मोर्चा’को रुपमा हेर्ने गरिएको देजमोले आगामी दिनमा संयुक्त मोर्चाको कामलाई कसरी अगाडि बढाउँछ ?

क्रान्तिकारी संयुक्त मोर्चाको कामलाई अघि बढाउनका लागि यो मोर्चाले सबैभन्दा पहिले यो पश्चगामी व्यवस्थाको अन्त्य गरी नेपालमा जन गणतन्त्रको स्थापना गर्न चाहने शक्तिहरुलाई, व्यक्तिहरुलाई गोलबन्द गर्ने र त्यो शक्तिलाई प्रभावशाली बनाउने प्रयास गर्ने छ । यसका साथै जनता र राष्ट्रका पक्षमा राज्यसँग गरिने संघर्षमा समान मागहरुका आधारमा अन्य शक्तिहरुसँग पनि कार्यगत एकता वा संयुक्त मोर्चा बनाएर संघर्षका कार्यक्रमलाई अघि बढाउने काम गर्दछ ।

 मुद्दा मिल्नेहरुसँग सहकार्य वा कार्यगत एकताको सम्भावना कस्तो देख्नुहुन्छ ?

हामीले त्यस प्रकारका कार्यगत एकताका प्रयास र अभ्यास पनि गर्दै आएका छौं । तर अनुभवले के देखाएको छ भने विविध प्रकारका अवसरवादी प्रवृत्तिहरु त्यसको निरन्तरता र विकासमा वाधक बन्ने गरेका छन् । तथापि त्यस प्रकारका कार्यगत एकता वा अस्थायी किसिमका संयुक्त मोर्चा बनाएर अघि बढ्ने हाम्रो प्रयत्न जारि रहने छ ।

अन्तमा, आमूल परिवर्तनका पक्षधर जनता, सहिद वेपत्ता परिवार, घाइते तथा आम क्रान्तिकारी पंक्तिलाई के आव्हान गर्न चाहनुहुन्छ ?

 नेपाली जनता, महान सहिद, वेपत्ता परिवार, घाइते तथा आम क्रान्तिकारी पंक्तिको नेपाली क्रान्तिका कार्यभार पुरा गर्नमा महत्वपूर्ण भूमिका रहेको छ र रहने छ । हामीलाई थाहा छ, ठिक यतिखेर क्रान्तिकारीहरुका अगाडि अनगिन्ति चुनौतिहरु छन् । ती चुनौतीको सामना गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा, नेपालमा जन गणतन्त्रको स्थापना गर्ने काममा आफ्ना ठाउँबाट सकृयता देखाउन वहाँहरुलाई आह्वान गर्न चाहन्छु । धन्यवाद !