मलेसियाली वैदेशिक रोजगारको ढोका अझै बन्द

प्रकाशित मिति : २०७५ मंसिर २१

काठमाडौं । सहमति गरेको ६ महिना बितिसक्दा पनि नेपाल–मलेसिया वैदेशिक रोजगार कार्यान्वयनमा आउन सकेको छैन । मलेसियाली वैदेशिक रोजगारका लागि एमओयुमा सहमति गरेपछि ओली सरकारले यसलाई सरकारी त्राणका रुपमा निकै प्रचारप्रसारमा ल्याएको थियो । मलेसियामा नेपाली कामदारहरु पठाउन सके देश समद्धिले छाउने सम्मका अफबाह सरकारी सञ्चार माध्यमहरुमा रातोदिन प्राथमिकताकासाथ आउने गरेका थिए ।

संघीय श्रम मन्त्री गोकर्ण विष्टले पनि यसलाई नयाँ युग आगमनको भन्दा कम महत्वका साथ प्रचारप्रसार गरेका थिएनन् । उनले मलेसियामा कामदार पठाउन पाउनु अहोभाग्यका रुपमा व्याख्या र विश्लेषण गरेका थिए । तर अहिले चिनियाँ रेल र भारतीय रेलका सपनाको लाइनमा मलेसियाको कामदार वर्क पर्मिट रहने त होइन भन्ने आशंका चुलिएको छ । बिना निकासको जग्गा किनेर होहल्ला गर्दै हिँड्नेहरुको तमासामा फसेको नेपालको श्रम मन्त्रालय रोजगारीको बाटो नखोलिकनै मलेसिया जान इच्छुक नेपाली कामदारहरुको भिसा लगाउन सुरु गरिसकेको थियो ।

हाल करीब बाह्र हजार कामदारहरु मलेसियाको भिसा लिएर उडान कहिले हुन्छ भनी पर्खिइ रहेका छन् । काम गर्न जाने कामदारहरुले लिएको मैनेठेकी व्याज पाँचछ महिनाको अन्तरालमा दोब्बर हुन थालिसकेको छ । तर सरकार भने यो मामलामा कानमा तेल हालेर बसिरहेको छ । सरकारले ढोका खुलाउने टेक्निकल कमिटीसमेत् परिचालन गर्न पनि सकिरहेको छैन । विज्ञहरुका सुझाब अनुसार टेक्निकल कमिटी क्रियाशील बनाएर छिटोभन्दा छिटो मलेसियाली वैदेशिक रोजगारको ढोका खोल्न सकिन्छ । तर सरकार भने यो टेक्निकल कमिटी छ वा छैन वा निर्माण गरिनु पर्ने हो, केही पनि बोलेको छैन ।

प्रधानमन्त्री केपी ओलीले सरकारी सूचना लुकाउन दिएको निर्देशन पछि त झन् सरकार कुन अँध्यारो कुनामा बसेर काम गरिरहेको वा छपक्क बसिरहेको छ सर्वसाधरणलाई जानकारी समेत् हुन छाडेको छ ।