काठमाडौं । पहिले भारतकोे मुम्बइमा लगेर बेचिने नेपाली महिलाहरु अहिले रोजगारीका नाममा समुद्रपारका देशहरुमा पनि बेचिन थालेका छन् । विशेष गरी अफ्रिकी मुलुकहरुमा नेपाली महिलाहरुको निकै माग रहेको र दलालहरुको पञ्जामा परेर नेपाली महिलाहरु त्यहाँ पुर्याइने गरिएको बताइएको छ । नेपाली महिलाहरु त्यहाँका डान्सबारहरुमा काम गर्ने गरिरहेका पाइएका छन् । बेचिएका नेपाली महिलाहरुमध्ये अधिकांशलाई वैदेशिक रोजगारका नाममा त्यहाँ पठाइने गरिएको खुलेको छ । केही त आफूखुशी डान्स बारमा त्यहाँ गएको बताएका छन् भने धेरैले भने वैदेशिक रोजगारका नाममा झुक्याएर लगिएको बताउने गरेका छन् ।

महिला हिंसाविरोधी १६ दिने अभियान चलिरहँदा नेपालबाट संसारका विभिन्न देशहरुमा बिक्रि गरिने नेपाली महिलाहरुको संख्यामा निकै बढोत्तरी आएको माइती नेपालले जनाएको छ । यसबारे गहिरो चिन्ता जाहेर गर्दै माइती नेपालले सरकार तथा सम्बन्धित पक्षहरुसँग सहयोगका लागि अपिल पनि गरेको छ । तर सरकार भने वैदेशिक रोजगारीका नाममा महिलाहरुलाई पनि विदेशमा पठाउने कानुन निर्माणको आवश्यकता बोध भएको ठहरमा पुगेको छ ।

यस्तो अन्तरविरोधी सोच र सामाजिक वातावरण भएको बेला महिलामाथि हुने हिंसा र त्यसको सबैभन्दा ठूलो रुप बेचविखनलाई नियन्त्रण र अन्त्य गर्न सरकारीस्तरबाटै नयाँ सोच र कार्यक्रमको जरुरी हुन जान्छ । नेपालमा हालसम्म कार्यान्वयनमा आएका दण्डसंहिताअनुसार कारबाही पनि निकै खुकुलो रहेको छ । जीउ मास्ने बेच्ने महल अन्तर्गत गरिएको प्रावधानअनुसार बीस वर्ष कैदको सजाय रहेको छ भने रोजगारीको अर्को कानुन बमोजिम केही आर्थिक क्षतिपूर्तिको व्यवस्था रहेको छ ।

बेचिएका चेलीहरु नेपालमा फर्किए पनि उनीहरु आर्थिक सहयोग र क्षतिपूर्तिको मागतिर लाग्छन् तर दण्ड वा सजाय गराउनतिर लाग्दैनन् । यसका पछाडी धेरै कारणहरु छन् । जसमध्ये आफूहरु दलालहरुसँगको सहमतिमा विदेसिनु एक प्रमुख कारण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर