पोखरा, मंसिर ४ । पर्वत, स्याङ्जा र कास्कीको संगमस्थल पञ्चासेमा एसियाकै सबैभन्दा लामो दूरीको केबलकार निर्माण हुने भएको छ । आइतबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पोखरासहितको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा साढे ८ किलोमिटर दूरीको एसियाकै लामो केबलकार निर्माण गर्न लागिएको हो ।
परियोजनाका अध्यक्ष रामचन्द्र शर्माका अनुसार पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडले ३ अर्बको केबलकार सहित १० अर्बमा सम्पूर्ण काम सक्ने लक्ष्य राखेको छ । अहिले एसियाकै लामो दूरीको केबलकार भेतनामको वाना हिल केवलकार हो जसको दूरी ८ किलेमिटर लामो छ । तर पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडले भेतनामको भन्दा करिब ५ सय मिटर दूरी बढी लामो केबलकार निमार्ण गर्ने भएको अध्यक्ष शर्माले जनाए । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।
घाँटीछिनादेखि ठूलाखेत, भन्ज्याङ, हुँदै पञ्चासेको तालसम्मको क्षेत्रमा स्टेसन राख्नका लागि अध्ययन भइरहेको र उक्त केबलकारमा दैनिक १० हजार जनासम्म आवत–जावत गर्न सकिने अध्याधुनिक केबलकार निर्माण हुने भएको शर्माले जनाए । कम्पनीले महत्वकांक्षी योजनासँगै सञ्चारकर्मीदेखि कर्पोरेट हाउसदेखि विदेशीको ऋणमा उक्त योजनामा लगानी हुन भएको उनले जनाए ।
उक्त कम्पनीले केबलकारसहित होटल, रिसोर्ट, मदिराजोन, फनपार्क, सहिद पार्क, ट्रेकिङ रुट, साइक्लिङलगायतका योजनामा समाजका हरेक हिसावले समेट्नका लागि न्यूनतम एक लाखदेखि २५ लाख रुपैयाँसम्म लगानी गर्न सकिने भएको अध्यक्ष शर्माको दाबी छ । उक्त योजना सफल भई सञ्चालनको साढे ६ वर्षमै लगानी उठाउने गरी आफूहरूले बृहत् योजना बनाएको शर्माले बताए । कास्की, पर्वत र स्याङ्जाका धेरै भन्दा धेरै व्यत्तिहरूको सहभागिताको लागि आफूहरूले सेयर सदस्य खुलाएको उनले जनाए । ०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसक्ने शर्माको दाबी छ ।
नेपालकै ऐतिहासिक क्षेत्र पञ्चासेमा हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिँडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४–५ घण्टाको पैदलमा जान सकिन्छ । पञ्चासे २ हजार ५ सय १७ मिटरको उचाइमा छ ।
दैनिक १० हजार जना क्षमता उक्त केबलकारबाट पहिलो चरणमा ५ हजारबाट सुरु गरिने उनले जनाए । केबलकार निर्माण हुने स्थलमा खासै जोखिम नरहेको परियोजनाका अध्यक्ष शर्माले बताए ।
१० अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका स्थानियलाई ३ अर्ब बराबरको सेयर दिइने भएको छ । उक्त सेयर पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले प्राप्त गर्ने परियोजनाले जनाएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, सर्वसाधारण सबैलाई छुट्टाछुट्टै सेयर दिइने तयारी गरेको छ । परियोजनाका अध्यक्ष शर्माका अनुसार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । त्यहाँ प्रायः सामुदायिक वन, सरकारी वन र केही निजी जग्गाहरू छन् । निजी जग्गा घाँटी छिनामा भएकाले स्थानीयवासीसँगको छलफलमा उनीहरूले विकास लिएर आउन लागेको केबलकार निर्माणलाई सघाउने प्रतिबद्धता जनाउँदै सहमति दिएको उनले दाबी गरे ।
पर्यटक तान्ने उद्देश्यले निर्माण गर्न लागेको परियोजनाले केबलकार निर्माणबाहेक विभिन्न क्षेत्रमा पनि हात हाल्ने भएको छ । परियोजनाले हेरिटेज प्लाजा बनाउने भएको छ । ३ हजार रोपनीमा घाँटीछिनामा बनाइने यस हेरिटेज प्लाजामा स्थानीयले उत्पादन गरेका टिपिकल ह्यान्डि क्राफ्टलगायतका सामानहरू बिक्रीको केन्द्र बनाइने भएको उनले जनाए ।
परियोजनाअन्तर्गत वाटर सोज (फाउन्टेन म्युजिकल), प्रेमपार्क, आधुनिक फनपार्क एग्रिकल्चर फार्म बनाइने भएको छ । श्रवणकुमार आश्रम बनाइनेछ । श्रवणकुमारको सम्झाना स्वरुप त्यहाँ आश्रम बनाइने भएको छ । जहाँ असहायः वृद्धवृद्धाहरू राखिने भएको छ ।
त्यस्तै मदिरा सेवन गर्न चाहनेलाई धार्मिक क्षेत्र भएकाले छुट्टै अल्कोहल जोन बनाइने भएको छ । सरकारले निश्चित क्षेत्रमा मात्रै मदिरा बेच्न पाइने कानुन निर्माण गरिरहेकाले त्यसलाई सघाउन र धार्मिक क्षेत्रमा कुनै असर नगरोस् भन्ने उद्देश्यले छुट्टै अल्कोहल जोन बनाउन लागिएको शर्माले बताए ।
उक्त परियोजनाको लागि करिब ३ हजार रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिने तयारी भएको बताइन्छ । उक्त प्रोजेक्टमा ४२ प्रतिशत सेयर सदस्य र ५८ प्रतिशत ऋण लिने भएको छ ।