काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेले बेलायतलाई इयुबाट अलग गराउने प्रस्तावमाथि बहुमत जुटाएकी छिन् । ब्रेकजिटका लागि लामो बहस र विवादपछि प्रधानमन्त्री मे आफ्नो मन्त्रीमण्डलबाट बहुमत जुटाउन सफल भएकी हुन् ।
पाँच सय पचासी पृष्ठ लामो मस्यौदामा व्यापक छलफलपछि सहमति जुटेकोमा सहमत हुने सबैप्रति उनले आभार व्यक्त पनि गरेकी छिन् । सम्बन्ध बिच्छेदसँगै बेलायतले युरोपियन युनियनलाई केही मोटो रकम तिर्नुपर्ने पनि उक्त मसौदामा उल्लेख गरिएको छ ।
यसपछि ब्रेकजिटका लागि इयुको शिखर वैठक बस्ने छ । शिखर वैठकबाट बेलायत इयुबाट अलगएको घोषणा गरिने छ वा यसले आधिकारिकता प्राप्त गर्ने छ । इयु र बेलायत ब्रेकजिटका लागि काम पूरा हुन लागेकोमा एकअर्कामा खुशी पनि आदान प्रदान गरिरहेका छन् ।
यता बाहिरिने प्रक्रिया टुंगोतिर जाँदै गर्दा टेरिजा मेको कन्जरभेटिभ पार्टीभित्र पनि अलग्गिन नहुने भन्नेमा दह्रो भिन्न मत पनि रहँदै आएको छ भने विपक्षी लेबोर पार्टीले यसका बारेमा पार्टी भेला बोलाएरै आवश्यक छलफल गरिने र पक्ष वा विपक्षमा मत दिन सकिने बताएको छ । तर यसका नेता जेरेमीले भने ब्रेकजिट आफैमा आधा बाटोको यात्रा भएकाले कतै पनि नपुगी गन्तव्यहीन अवस्थामा रहन जाने प्रतिक्रिया दिएका छन् ।
मसौदामा बहुमतको सहमति जुटिसकेपछि प्रधानमन्त्री टेरिजा मे भने यसको कार्यान्वयनमा डटेर लागेकी छन् ।