तिहारको मसलामा चार गुणा वृद्धि

सरकार, व्यापारी र आयातकर्ताको मिलेमतो

प्रकाशित मिति : २०७५ कार्तिक १५

काठमाडौं । तिहारको लागि तयार पारिएका खाने मसलामा चार गुणा वृद्धि गरिएको छ । दसैंमा चिनीमा भएको कमिसनको निरन्तरता यस पटक तिहारको मसलामा पनि देखिएको छ । एक किलो मसलाको ७०० रुपैया मूल्य निर्धारण गरिएको छ । मसलाको भाउ छोइनक्नुको भएपछि सर्वसाधरण उपभोक्ता के गरुँ के नगरु भएका छन् । दसैंमा कमिसनका लागि खोलिएको सस्तो बजारको चर्चा पनि छैन यस पालाको तिहारमा । जनताले सरकारबाट हुने र दिइने सहुलियत आशा पनि गर्न छाडेका छन् ।

दसैं पछिको अर्को ठूलो चाड तिहारमा जनताले सरकारको कुनै पनि सहुलियत वा सस्तो पसल आदिको कुरासम्म पनि नसुनी आफ्नो गच्छेअनुसार तयारीमा लागेका छन् । विदेशबाट आउँदा स्वदेशमा आफ्नै इमिग्रेशनमा निरन्तर भोगिरहने पीडाहरु र नेपाल–भारतको सीमा क्षेत्रमा दैनिकीका रुपमा भोग्ने गरिरहेका पीडा पनि सुनाउन छाडेका छन् । दुःखका साथ तिहारको जोहोमा लागेका नेपाली सर्वसाधरणहरु त्यति उत्साहका साथ तिहार मनाउन पनि लागिरहेका देखिदैनन् ।

तिहारका लागि सबैले सामान्य रुपमा प्रयोग गर्ने मसलाको मूल्य निकै आकाशिए पछि जनतामा त्यति बढि उत्साह छाएको पनि देखिएको छैन । बजार अब बाध्यताको र कहरको बन्दै गएको छ । रहरको बजार र जनताको बजार अब सिद्धिइसकेको छ । चाडपर्व पनि संभ्रान्त तथा नवसंभ्रान्त वर्गको पेवाका रुपमा दर्ज हुन पुगेको छ । दलाल, तस्कर, कमिसनखोर, विचौलिया र आयातकर्ताको सिण्डिकेटमा नेपालको बजार कब्जामा परेको छ ।