साझेदारी अभियान मात्र होइन, अपराधको नयाँ ‘ट्रेन’ बुझ्ने क्षमताको विकास गर

साझेदारी अभियान मात्र होइन, अपराधको नयाँ ‘ट्रेन’ बुझ्ने क्षमताको विकास गर

काठमाडौं । नेपाल प्रहरी र यसको सिंगो प्रशासन फेरि ‘मिस्लिड’ हुँदै छ । यसले आफूलाई समयानुकूल बनाउन विकसित अपराधको नयाँ ट्रेन पत्ता लगाउने र त्यसको समाधानका लागि क्षमता विकास गर्नेतिर गएको देखिदैन । यो फेरि राजनीतिक प्रेरित अभियानमा दिग्भ्रमित हुँदै जान थालेको छ । एउटा त प्रहरी प्रशासन राजनीतिकृत छ । यो पेशेवर छैन । दोस्रो कुरा, यसका अधिकारीहरुमा नीति योजना निर्माण क्षमताको अभाव रहँदै आएको छ । यो कुरा यस पाला पनि अभिव्यक्त भएको हुन गएको छ ।

हाल नेपाल प्रहरीले एउटा यस्तै अभियानको घोषणा गरेको छ । यसको उद्देश्य समाजमा हुने आपराधिक क्रियाकलाप निस्तेज पार्ने रहेको छ । यसको नामाकरण ‘समुदाय–प्रहरी साझेदारी’ भनेर गरिएो छ । गृह प्रशासनका अनुसार यो अभियानात्मक रुपमा सञ्चालनमा ल्याइने छ । यो अभियानलाई संस्थागत रुपमा सातवटा प्रदेशहरुमा चलाइने छ । जिल्ला तथा स्थानीय स्तरमा पनि अभियान विस्तार गरिने छ । शान्तिपूर्ण तथा सुरक्षित समाजका लागि भनेर थालनी गरिएको छ । यो अभियान जनतासँग जोडिने र मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ गरिएको बुझिन्छ । यो एक हदसम्म त ठीकै पनि छ । तर यो अभियानले केवल भावनात्मक पक्षको मात्र सम्बोधन गर्दछ ।

तर हाल प्रहरी र गृह प्रशासनप्रतिको जनविश्वास सहकार्य नभएकाले घट्दै गएको होइन । सारमा कुरा त के हो भने समाजमा पनि र स्वयम् प्र्रहरी प्रशासनभित्र पनि नयाँनयाँ अपराधहरु नयाँ विशेषताहरुसहित मौलाउँदै आएको जग जाहेरै छ । यसका रुप र तरिकाहरु बढी आपराधिक र सानोतिनो मेहनतले थाह नपाइने प्रकृतिका छन् । अबको प्रहरी प्रशासन अपराधको यो नयाँ ट्रेनलाई बुझेर उपचार गर्नतिर लाग्नु पर्छ ।

देशमा पछिल्लो चरणमा घटेका विभिन्न घटनाहरु निकै विकसित र नयाँ रुपका छन् । यसमा नेपाल प्रहरीको प्रत्यक्ष संलग्नता समेत छ । यसले सिंगो संस्थाकै साख खस्काउँदै लगेको छ । अपराधको स्वरुप र प्रकृतिमा निकै विकास भएको र वदलिएको स्वरुपका कारण यसले अनुसन्धानका लागि गुणात्मक क्षमताको माग गर्दछ । यस कारण यो अभियानसँग प्रहरी संयन्त्रमा गुणको विकास कसरी गर्ने भन्ने कुराप्रति गम्भीरतापूर्वक ध्यानजानु जरुरी छ । नत्र जनताका बीचमा जो, केही दिन हराउने, प्रचार गरेजस्तो पनि गर्ने आदि मात्र हुन सक्छ ।

नयाँ स्वरुप लिएर देखा परेका घटनाहरुमा निर्मला पन्तको बलात्कार र हत्याको घटना आफैमा प्रतिनिधिमूलक घटना बन्न गएको छ । देशैभरका जनताको र विशेष गरी स्थानीय जनताको गतिलो दबाब र झापडका कारण सरकार र गृह प्रशासनले जनताको उपस्थितिको महशुष गरेको हुनु पर्छ । तर जनता र प्रहरीको बीचमा सहकार्य नभएको कारण खोतल्नतिर लाग्नु पर्छ । त्यो हो, घटना किन रहस्यमय तरिकाले घट्यो ? कसले त्यो घटना घटायो ? प्रमाण मेटाउन कञ्चनपुर प्रहरी संस्थागत रुपमै किन लाग्यो ? किन बोल्दैनन् एस्पी विष्टका मातहतका प्रमाण मेटाउन परिचालन गरिएका सिंगो प्रहरीहरु ? यी कुरा भनेका प्रहरी सिंगो संस्था शुद्धीकरणसँग सम्बन्धित पनि छन् । क्षमता विकास, यन्त्र र संयन्त्रहरुको पेशेवर विज्ञता पनि जरुरी छ ।

अपराधका नयाँ ट्रेन्डहरुको पहिचान र उपचार नहुनुमा प्रहरीका अदक्षता र असक्षमताहरु प्रत्यक्ष जोडिएका छन् । गुण र क्षमताका कुरा ग¥यौं भने आखिर केन्द्रबाट खटाइएको अनुसन्धान टिमले पनि त हावा खाएर फर्कियो । केन्द्र पनि दक्ष र सक्षम देखिदैन । विश्वास, भावना र सहकार्यको कुरा निर्मला र अरुहरुका केसमा सहायक देखिन्छन् । मुख्य कुरा अनुसन्धानात्मक गुण र क्षमताको कुरा हो । प्रहरीले राम्रो काम गरोस्, जनता सधैं साथमा छन् । प्रहरीको सिंगो संस्थाले जनतामा ‘प्रहरी साथमा छ’ भनेर ढुक्क हुने वातावरण तयार पारोस् । त्यो ‘हामी प्र्रहरी जनताको साथमा छौं’ भन्ने ओंठे प्रतिवद्धताले मात्र संभव छैन ।

हामी नेपाली समाज विकासको कारणसँगै पछि नै छौं । अर्को कुरा, हाम्रो बानी भनेको हावादारी गफ चुटेर दिन बिताउने पनि रहेको छ । ‘नेपाल प्रहरी संसारमा टप टेनको सूचीमा पर्छ’ भनेर आत्मरति लिन पछि परेका पनि छैनौं हामी । नेपाल जलस्रोतमा दोस्रो धनी देश भन्ने पनि हामी नै हौं । त्यसको आधिकारिकता कही र कतै पनि छैन । उस्तै परेछ भने ओली र दाहाल जस्ता नेता विश्वमा कहीं पनि छैनन् भन्न बेर लगाउँदैनौ । देशको सीमाना चौपट भएको छ । अतिक्रमित भूमि भारतले हडपेको छ । देशमा घटेका र घट्ने गरेका अपराधका सन्दर्भमा पनि त्यही भएको छ ।

आज विश्व विज्ञान र प्रविधिका हिसाबले कहाँ पुगिसकेको छ । अध्ययन र अनुसन्धानका आयामहरुको पनि कति धेरै विकास भएको छ । तर अपराध पनि त उत्तिकै नयाँ नयाँ रुप र तरिका अपनाएर अघि बढिरहेको छ । विश्वमा अमेरिका, चीन, युरोप, रसिया जस्ता देशमा त्यहाँका आधुनिक र सवैभन्दा श्रेष्ठ मानिने सुरक्षा निकायले कति डरलाग्दा ‘फ्लप’ खाएका छन् ? यी कुराहरु हेर्नु पर्छ । एकदुई जना अधिकारीहरुलाई लापरवाहीको आरोपमा कारवाही गरेर मात्र नेपालको अपराधममा कमी आउँदैन । एक दुईवटा हातेमालो अभियान चलाएर मात्र हुने वाला पनि छैन । भोट माग्ने बेलामा जनता ढाँट्न अपनाएका तौरतरिका र पद्धतिहरु अपनाएर प्रहरीको क्षमता पनि वृद्धि हुँदैन । राजनीतिक तरिकाले सोचेर मात्र पनि हल हुँदैन । कि त त्यो राजनीतिक अपराध हुनु पर्यो । विशुद्ध अपराध हो भने त्यसको विशेषता विशुद्ध प्रकृतिको हुने कुरामा कुनै शंका रहन्न ।

त्यसैले राजनीतिक खालका गतिविधि गरेर वा अभियान चलाएर जनताको विश्वास पनि बढ्दैन । त्यसैले पहिलेका अनुसन्धानका नीति, विधि र पद्धतिहरुलाई पचाएर विकास भएका र नयाँ रुपमा देखा परेका अपराधहरुको प्रकृति, प्रवृत्ति र स्वरुपलाई पहिचान गरी उपचारको प्रक्रियामा ल्याउन पेशेवर क्षमता र दक्षताको विकास जरुरी छ । यसका साथै त्यसै खाले उपकरणहरुको जरुरी पनि छ । प्रहरी संगठन आफैमा मानिसहरुको समुच्चय हो । त्यसैले यो प्रहरी संगठन शुद्धीकरणको प्रक्रिया जरुरी छ ।