काठमाडौं । कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार निधन हुन पुगेको छ । हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो ३ ः ५० मा निधन भएको हो । हुमागाईको आइतबारै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । हुमागाईप्रति अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठ, केस तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ, अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी, क्रान्तिकारी माओवादीका केस शारदा महत लगायतका नेता कार्यकर्ता तथा पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए । क्रान्तिकारी माओवादीका नेताहरुले हुमागाईको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकार हुमागाईं क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य समेत रहेका थिए ।
यसैबीच, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक श्रद्धाञ्जली वक्तव्य जारी गरी हुमागाईको निधनले संगठनलाई स्तब्ध तुल्याएको भन्दै हुमागाईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, “करिब चार दशकदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध रही जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका बरिष्ठ पत्रकार तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार÷काठमाडौं जिल्ला संयोजक, नेपालभूमि साप्ताहिकका संस्थापक सम्पादक, वर्गदृष्टि साप्ताहिकका स्तम्भकार तथा साहित्यकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा निधन हुन पुगेको छ । कलेजो रोगको उपचार गराइरहनु भएका उहाँको आज दिउसो ३ ः ५० मा सानेपास्थित जेष्ठ नागरिक केयर होममा निधन भएको हो । उहाँको निधनले हाम्रो संगठनलाई स्तब्ध तुल्याएको छ । उहाँको निधनबाट हाम्रो संगठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपुरणीय क्षति हुन पुगेको छ । चौतर्फी अवसरवाद र प्रतिक्रियावादको घेराबन्दीका बीच पनि आफूलाई क्रान्तिकारी तथा जनपक्षीय पत्रकारिता आन्दोलन एवम् आमूल परिवर्तनको धारामा जीवन समर्पण गर्नुभएका रामचन्द्र हुमागाईप्रति उच्च सम्मान व्यक्त गर्दै हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । र, यस दुःखद् घडीमा उहाँको निधनबाट शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।”