काठमाडौं । कार्तिक ३ गते, २०७५ मा मिडियाहरुमा दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएको समाचार प्रकाशित छ । बैतडी जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ ।
कार्तिक १ गते २०७५ मा काभ्रेबाट तीन वर्षमा डेढ सय महिला तथा बालबालिका हराएको समाचार मिडियाहरुले प्रकाशित गरे । समाचार अनुसार सो अवधिमा हराएका ३ सय ९६ महिला तथा बालबालिकामध्ये २ सय ५१ जना मात्र फेला परेका छन् ।

२४ श्रावण २०७५ मा मिडियाहरुमा प्रकाशित समाचार अनुसार झापामा आर्थिक वर्ष २०७४÷०७५ मा ५१२ जना महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४÷२०७५ मा महिला ३६६, बालक ४४ र बालिका १०२ हराएका छन् । प्रहरीले ३६६ महिलामध्ये २६७ जना फेला परेपनि उनान्सय महिला र २४ जना बालबालिका अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा विगत चार वर्षमा हराएका भेटिने कमै मात्रामा छन् । आव २०७१÷२०७२ मा हराएका ३३० महिलामध्ये १६० मात्र भेटिएका छन् भने १७० जना अझै बेपत्ता अवस्थामा रहेका छन् ।

त्यस्तै २०७२÷२०७३ मा महिला तथा बालबालिका ३५५ जना हराएको निवेदन परेकामा २३६ फेला परेको प्रहरीले जनाएको छ । तिनमा ११९ अझै बेपत्ता छन् । आव २०७३÷२०७४ मा हराउने महिला तथा बालबालिका ४२८ थिए जसमा फेला परेका २७६ छन् । एक सय ५२ जना अझै बेपत्ता छन् ।

१५ साउन २०७५ मा राससमा प्रकाशित समाचार अनुसार दाङमा बितेको वर्षमा ४ सय बढी महिला तथा बालबालिका हराएका छन् । समाचार अनुसार दाङमा बर्षेनी चार सय बढी महिला तथा बालबालिका हराएको भनि प्रहरीमा निबेदन पर्ने गरेको छ । वितेको आर्थिक बर्ष (आव ०७४÷०७५) को १२ महिनामा पनि ४ सय ४ जना बालबालिका हराएको भनि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीमा निबेदन परेको छ । जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार २ सय ६१ महिला, ७४ बालक र ६९ जना बालिकाहरु वेपत्ता भएको भनि निबेदन परेको छ । हराएका ४ सय ४ जना मध्ये १ सय १५ जना मात्रै फेला परेको र २ सय ८९ जना महिला तथा बालबालिका बेपत्ता कै सूचिमा रहेको प्रहरी सहायक निरिक्षक नन्दकली कटुवालले जानकारी दिए । त्यसैगरि अघिल्लो आर्थिक बर्षमा पनि २ सय २८ जना महिला तथा बालबलिका हराएको भनि सेवा केन्द्रमा निबेदन परेको थियो । हराएकामध्ये २८ जना महिला ५ बालक र १४ जना बाकिला गरि ३८ जना मात्रै भेटिएको तथ्यांक रहेको छ । बाँकि २ सय ९१ जना अझै फेला पर्न सकेको छैनन् ।

राससमै २७ साउन २०७५ मा प्रकाशित समाचार अनुसार बाँकेको नेपालगञ्जमा रहेको माइती नेपालको कार्यालयमा आफन्तको खोजीको लागि निवेदन दिनेको संख्या पछिल्लो १६ वर्षको अवधिमा करिब पाँच हजार पुगेको छ । पछिल्लो विगत छ महिनाको अवधिमा मात्रै ३०० भन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ। ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाका मुख्य समस्या गरिबी नै हुनसक्ने संयोजक कोइरालाको भनाइ छ ।’ कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमलुक र केही भारतमा हराएका जानकारी दिँदै संयोजक कोइराला विगतका वर्षभन्दा यसवर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको बताउँछन् ।

पुस १६, २०७४ मा प्रकाशित एक समाचार अनुसार एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा नआएका हुन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार बाँकेमा २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये चार जनाको उद्धार गरिएको छ । उनीहरूलाई भारतको रेडलाइट क्षेत्रबाट उद्धार गरिएको जनाइएको छ । त्यस्तै सुर्खेतबाट भारत गएका १ सय ७१ महिला हराएको निवेदन परेकामा २ को मात्र उद्धार गरिएको छ । दाङका ९२ महिला हराएकामा खोजी गर्दा २ जनालाई उद्धार गरिएको छ । आर्थिक प्रलोभनमा परी भारत लगिएका महिलाहरू बर्दिया, सल्यान, रोल्पा, दैलेख, जाजरकोटलगायत जिल्लाका छन् ।

२९ चैत्र २०७४ मा प्रकाशित समाचार अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नवलपरासी जिल्लाबाट २२१ महिला र बालबालिका हराए । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । गत आर्थिक वर्षमा १२८ महिला, ११ बालक र ३९ बालिका हराएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलले जनाएको छ ।

१४ साउन २०७५ मा मिडियाहरुमा प्रकाशित समाचार अनुसार आव ०७४÷०७५ मा तनहुँमा २ सय ५५ हराए महिला तथा बालबालिका हराएका छन् । आर्थिक वर्ष ०७४÷७५ मा २ सय ५५ जना महिला तथा बालबालिका हराएकोमा १ सय ९८ जना मात्रै फेला परेका छन् । हराएका ५७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस अवधिमा २ सय ६ जना महिला हराएकोमा १ सय ५८ जना फेला परेको र ४८ जना अझै पनि फेला नपरेको प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए । १९ जना बालक हराएकोमा १६ जना फेला परेका छन् भने ३ जनाको खोजी कार्य जारी छ । त्यस्तै ३० बालिका हराएकोमा २४ जना फेला परी ६ जना अझै बेपत्ता छन् ।

आर्थिक वर्ष ०७३÷७४ मा १ सय ९४ जना महिला तथा बालबालिका हराएकोमा सबै फेला परेका थिए । उक्त अवधिमा १ सय ५५ महिला, १३ बालक र २६ बालिका हराएपनि प्रहरीले सबैलाई सकुसल फेला पारेको थियो । आर्थिक वर्ष ०७२÷७३ मा १ सय ४४ र ०७१÷७२ मा १५२ महिला तथा बालबालिका हराएपनि उनीहरु सबै फेला परेको प्रहरीले जनाएको छ ।

भदौं २, ०७५ मा प्रकाशित समाचार अनुसार कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।” उनका अनुसार सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् ।

साउन १८, २०७५ मा प्रकाशित एक समाचार अनुसार धनुषामा एक वर्षमा ६० जना महिला र बालबालिका हराएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला तथा बालबालिका कार्यालयमा ७९ जना हराएको उजुरी दर्ता भएको छ । जसमध्ये १९ जना महिला तथा बालबालिका भेटिएका कार्यालयका तथ्याङ्कमा उल्लेख छ । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष ४९ जना महिला, १६ जना बालिका र १४ जना बालक गरी ७९ जना हराएका थिए । हराएको मध्ये ८ जना महिला, ६ जना बालिका र ५ जना बालक गरी १९ जना मात्र भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिए ।

हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन । यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरू १० देखि १६ वर्षका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । उनका अनुसार यसैगरी आव २०७३÷७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए । तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन । यस्तै आव ०७२÷७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए ।

१७ बैशाख, २०७५ मा प्रकाशित समाचार अनुसार चितवनमा ०७४ को चैत मसान्तसम्ममा ३ सय ४८ जना महिला तथा बालबालिका हराएका छन् । आव ०७४÷७५ को चैत मसान्तसम्ममा महिला २ सय १ जना, पुरुष ६१ जना, बालक १४ जना र बालिका ५२ जना हराएका छन् ।

बैशाख २६, २०७५ मा प्रकाशित एक समाचार अनुसार जिल्ला प्रहरी कार्यालय मोरङमा आर्थिक वर्ष २०७४÷०७५को पछिल्लो नौ महिनामा मात्रै ५ सय ८४ जना मानिस हराएको उजुरी दर्ता भएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ३ सय ६७ जना हराएका थिए । त्यस्तै २०७२÷०७३ मा ४सय ११ जना हराएका थिए भने आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तसम्ममा ६ सय ३४ जना हराएका थिए । यसरी हराउनेमा महिलाको संख्या बढी रहेको तथ्यांकमा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२÷७३ मा ७९ जना मानिस हराएका थिए । जसमध्ये महिला ६२, बालक ११ जना र बालिका ६ जना थिए । हराएकामध्ये महिला २५, बालक र बालिका ५–५ जना गरी ३५ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म ४४ जना सम्पर्कबाहिर छन् । आर्थिक वर्ष ०७३÷७४ मा ९८ जना हराएका थिए । जसमा महिला ७०, बालिका ११ र बालक ९ थिए । जसमध्ये अहिलेसम्म महिला १२, बालिका ५ र बालक ४ जना मात्रै भेटिएका छन् । बाँकी ७९ जना अझै पनि सम्पर्कबाहिर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । आर्थिक वर्ष ०७४÷०७५ को आठ महिनामै ९८ जना हराइसकेका छन् ।

आव २०७३÷७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला, १० बालक र पाँच बालिका नभेटिएको जिप्रका सल्यानले जनाएको छ । हराएको निवेदन परेकामध्ये आठ महिला, चार बालक र आठ बालिका मात्र फेला परेको जिप्रका स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ को साउन महिनादेखि पुस महिनासम्म महिला तथा वालवालिका गरेर दुई सय दुई जना हराएका छन् । यसरि हराउनेमा सबैभन्दा धैरै महिला रहेका छन् ।

उल्लेखित समाचारहरुले देखाउँछ महिला तथा बालबालिकाहरु हराएको तथ्यांक निकै डरलाग्दो, भयावह र गम्भीर छ । गरिबी, सामाजिक विभेद, आर्थिक अभावलगायत विभिन्न कारणले गर्दा घर छाडेर जानेको संख्या जिल्ला जिल्लामा बढ्न थालेको छ । महिलाले प्रायः आर्थिक अवस्था कमजोर भएपछि धन कमाउन, श्रीमान–श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यसँगको बेमेल तथा घरेलु हिंसामा परेर पनि घर छाडेर जाने गरेको प्रहरीले जनाएको छ । आर्थिक प्रलोभनमा पारेर हराएका महिलालाई देशका विभिन्न ठाउँबाट बेचबिखन, देहव्यापार, यौनधन्दालगायत क्रियाकलापमा देश बाहिर लगिएको हुन सक्ने विश्लेषण पनि प्रहरीले गरेपनि चेलीबेटी बेचविखनमा संलग्न मानव तस्करहरुको गिराहलाई भने प्रहरी प्रशासनले पक्राउ गर्न सकेको छैन ।

‘हामीसँग हराएका महिलाको उद्धारका लागि कानुनी संयन्त्र छैन । त्यसैले सबैको खोजी हुन सकेको छैन,’ माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘नेपालको कानुनले संयन्त्र गठन गर्ने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।’ कतिपय महिला फेसबुकको सम्पर्ककै भरमा भारत जाने र हराउने गरेका छन् । अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा मायाप्रेम गर्ने र बिहेबारी गर्ने भन्दै भारत जाने गरेका घटना पनि छन् । त्यस्तै खाडी मुलुकमा रोजगारीका लागि जाने भन्दै कतिपय महिला भारत पुग्ने गरेका छन् । तर उनीहरूलाई भारत लैजाने गिरोह छिटपुट रुपमा पक्राउ परे पनि अधिकांश भने पक्राउ पर्न सकेका छैनन् । सरकारले यस विषयमा गम्भीरता देखाएको पाइएको छैन । विगतका सरकारले जस्तै ओली नेतृत्वको सरकारले पनि उदासिना देखाइरहेका छन् ।

(विभिन्न मिडियाहरुको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार