मानिसहरूमा सामान्यतः एउटा कस्तो प्रवृत्ति पाइन्छ भने उनीहरू कुनै चीज वा विचारको उपभोग, वा प्रयोग, वा त्यसबाट फाइदा लिंदा त्यसको स्रोतलाई बिर्सने गर्छन् । ठूलो पद, वा नेतृत्वकारी स्थानमा पुगेकाहरूमा अधिकांश आफू क–कसको र कुन कुराका मद्दतबाट, कुन भर्याङ चढेर माथि पुगेका हुन, त्यसलाई चटक्क बिर्सन्छन, वा त्यसको विरोध समेत गर्छन । जीवनमा हामी कस्तो पनि देख्छौं भने तिनीहरूको भयानक रूपले पतन हुने गरेको छ । नयाँ पुस्ताले पुराना पुस्ताप्रति दर्साउने उदासीनता, वा विरोध, वा घृणा उक्त प्रवृत्तिकै एउटा अभिव्यक्ति हो । त्यस्तो खालको प्रवृत्ति गलत मात्र होइन, बेफाइदाजनक पनि हुन्छ । अनि उक्त प्रवृत्तिको विरुद्ध निम्न भनाइ तेर्स्याइएको छ– कुवा वा खोलाको पानी पिउँदा त्यसको स्रोतलाई नबिर्स । यसलाई अर्को रूपमा पनि भनिन्छ– पुल तरिसकेपछि त्यसलाई नबिर्स ।

मूलप्रति, स्रोतप्रति बेवास्ता गर्ने, वा त्यसतर्फ ध्यान नदिने प्रवृत्ति हाम्रो मार्क्सवादी फाँटमा कम्युनिस्टहरूको माझमा पनि सामान्यतः पाइन्छ । यहाँ हाम्रो तात्पर्य मार्क्सवादी उत्कृष्ट रचनाहरूतर्फ ध्यान र रुचिको कमी रहेको छ । मार्क्स, लेनिन, आदिका महान् तथा उत्कृष्ट कृतिहरूको अध्ययनको आवश्यकतालाई अधिकांश कम्युनिस्टहरू बेवास्ता गर्छन, र त्यस्ता कृति हुनेहरूमा धेरैजनाको लागि ती सजावटका चीज मात्र बनेका हुन्छन् । तर, त्यस्ता कृतिहरूको अध्ययन गर्नु एउटा खाँचोको कुरा हो, र उक्त खाँचोले समय–समयमा आफूलाई बडो जोडदार रूपमा प्रस्तुत गर्छ र सम्बन्धित सबैलाई घच्घच्याउने काम गर्छ । अहिले हाम्रो कम्युनिस्ट आन्दोलनभित्रको स्थिति त्यस्तै घच्घच्याउने, अभिप्रेरित गर्ने खालको छ । यस कुरालाई यहाँ स्पष्ट पार्न खोजिएको छ ।

यहाँ अहिलेको आन्दोलनको स्थितिलाई झल्काउने खालको एउटा कथा तल प्रस्तुत छ, जुन “ओमर खय्यामको रुबैयात” (अंगे्रजी संस्करण) मा सामाविष्ट “सलमान र आब्साल” शीर्षकको रूपकमा रहेको छ । श्लोकमा भनिएको उक्त कथाको सार निम्न प्रकारको छ ः

“भाग्यको खेलबाट अन्योलमा परेका एकजना कुर्द आफ्नो मरुभूमि छोडेर सहरतर्फ लाग्छ । उसले सहरलाई होहल्ला र खलबलीले भरिपूर्ण पाउँछ, उत्तेजित मानिसहरू यता–उता अघिल्तिर–पछिल्तिर दगुरादगुर गरिरहेको, कोही यात्रामा हिँडिरहेको त अरूहरू फेरि घर फर्किरहेको, दायाँबाट बायाँतर्फ र बायाँबाट दायाँतर्फ गइरहेको देख्छ, जताततै, सर्वत्र अशान्त जीवन देख्छ । त्यस्तो हलचल हेरेपछि कुर्द यात्राबाट थकित भएर एकातिर घुस्रन्छ र सुत्न चाहन्छ । तर ऊ के भन्छ भने ‘बिउँझेपछि यस्तो होहल्लामा मैले आफूलाई कसरी चिन्ने त ?’ त्यसैले आफू चिनिनका लागि, उसले आफ्नो पैतालामा एउटा लौका बाँधेर सुत्छ । उसको कुरा सुनेका एकजना दुष्टले बिस्तारै पछिल्तिरबाट त्यसको गोलीगाँठोमा बाँधेको लौका निकाल्छ, त्यसलाई आफ्नो पैतालामा बाँध्छ र ऊसँगै पल्टेर सुत्छ । पछि कुर्द बिस्तारै बिउँझन्छस आफ्नो चिनो खोज्छ, र चिनो उसले अर्काको गोलीगाँठोमा बाँधेको देख्छ । अनि ऊ जोडले कराएर भन्छ “ओ, मलाई अन्योलमा पार्ने निकम्मा बदमास ! तिमीले गर्दा म अन्योलमा परेको छु । यदि म म नै हूँ भने तिम्रो पैतालमा लौका किन ? यदि तिमी म हौ भने, अनि म कहाँको हूँ र को हूँ ?’
अनि कुर्द पुकार्छ, ‘हे ईश्वर ! अन्योलमा परेको कुर्द म हूँ, म अरू कुर्दभन्दा अधिक निस्सहाय छु ! मेरो अन्धकारमा एउटा ज्योतिको किरण छरिदिनोस् !”

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा प्रवेश गर्ने र रहेका धेरैजनाको स्थिति धेरै हदसम्म उक्त कुर्दको जस्तै रहेमा आश्चर्यको कुरा रहँदैन । नव–आगन्तुक आफू मार्क्सवादका समर्थक, वा आफूलाई मार्क्सवादी ठानेर यसभित्र प्रवेश गर्छस अनि प्रवेश गरेपछि “मार्क्सवाद–लेनिनवाद” को चिन्हपाटी झुण्ड्याइरहेका धेरै समूहहरू देख्छ, माओ विचारको चिन्हपाटी राख्ने पनि देख्छ । साथै, उसले नाना रूपका कम्युनिस्टहरू, आफूलाई कम्युनिस्ट भनेर हिँड्नेहरू पनि देख्छ । सबै माक्र्सवादको कुरा गर्छन, आफूलाई “सच्चा” मार्क्सवादी लेनिनवादी भन्छन, एकले अर्कोलाई अमार्क्सवादी, अवसरवादी वा संशोधनवादी भन्छन् । को मार्क्सवादी हो को होइन, कुनचाहिँ सच्चा मार्क्सवादी हो, त्यो छुट्याउन उसलाई कठिन हुन्छ, र उसले छुट्याउन सक्दैन । माथि कथाको कुर्दझैं, ऊ अलमलमा पर्छ, अन्योल र दिशाभ्रमको सिकार बन्छ । अहिले धेरै संख्यामा मुलुकका कम्युनिस्टहरू त्यस्तै अन्योल र भ्रममा रहेको देख्न त्यति गह्रो छैन । त्यस्तो दिशाभ्रम, अस्पष्टता र अन्योलको स्थितिमा तिनीहरूका लागि निश्चय पनि “ज्योतिको एउटा किरण” को आवश्यकता पर्छ, जसले गर्दा अन्योलबाट मुक्त हुन र सत्य पत्तालगाउन उसले बाटो पाउन सकोस् ।

स्पष्ट छ, कम्युनिस्टहरूका लागि चाहिने “ज्योतिको किरण” भनेको विज्ञानको किरण हो, मार्क्सवादको प्रकाश हो । साँचो भन्ने हो भने, मार्क्सवादको प्रकाशमा मात्र यी सारा अस्पष्टता तथा दिशाभ्रमको चरित्र तथा सारलाई बुझ्न सकिनेछ, त्यसले मात्र कम्युनिस्टहरूलाई त्यसबाट मुक्त हुने सही बाटो र उपायलाई देखाउन सक्नेछ र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा सिकाउनेछ । मार्क्सवादी लेनिनवादी धरातलमा उभिएर नै जोसुकैले जीवन र संघर्षको यथार्थतालाई बुझ्न र सो बुझाइको आधारमा सही नीति जान्न सक्नेछ । कुन कुरा ध्यान योग्य छ भने यहाँ “मार्क्सवाद–लेनिनवाद, माओविचार” को नाउँमा जेजति लिखतहरू निस्किरहेका छन् ती सब मार्क्सवादको श्रेणीमा दर्ज हुन कदापि सक्दैनन, र त्यस्तै, आफूलाई “मार्क्सवादी–लेनिनवादी” घोषणा गरेर हिँडिरहेका सबैजना कदापि मार्क्सवादी होइनन् । त्यस्ता खालका “मार्क्सवाद” र “मार्क्सवादीहरू” को मद्दतबाट कसैले पनि पार पाउन सक्ने छैन ।

उपरोक्त स्थितिमा आवश्यक “ज्योतिको किरण” प्रप्त गर्नका लागि, कम्युनिस्टहरू मूल स्रोततर्फ लाग्नुपर्छ । त्यस्तो मूल स्रोत भनेको, माथि बताइएझैं मार्क्स, एन्जेल्स, लेनिन स्टालिन र माओ त्सेतुङका उत्कृष्ट कृतिहरू हुन् । त्यो स्रोत ज्ञानको विशाल खानी हो, विशाल सैद्धान्तिक शास्त्रागार हो, जसको मद्दतबाट ठोस यथार्थतालाई बुझ्न र समाजको क्रान्तिकारी रूपान्तरणलाई हासिल गर्न सकिन्छ । उक्त ज्ञानको प्रकाशबाट आफूलाई ज्ञानी र प्रबुद्ध बनाउन सक्ने जोसुकैले ठीक–बेठीक, सत्य–असत्य छुट्याउन र असल बाटो समात्न सक्नेछ । साँचो हो, त्यसले वर्तमान स्थितिको ठोस व्याख्या प्रस्तुत गर्न सक्दैन, तर उक्त स्थितिको सही व्याख्या–विश्लेषणका लागि र सही कार्यदिशाको प्रतिपादनका लागि चाहिने आधार र उपायहरू निश्चय नै प्रदान गर्न सक्छ र गर्छ ।

मुलुकको ऐतिहासिक विकासको जुन क्षणमा अहिले हामी कम्युनिस्टहरू रहेका छौँ, जुन क्षणले हाम्रो सामु नयाँ चुनौती, नयाँ सम्भावना र नयाँ अवसरहरू प्रस्तुत गरेको छ, त्यस क्षणले मार्क्सवादी–लेनिनवादी विज्ञानको (मार्क्स, एन्जेल्स, लेनिन, स्टालिन तथा माओका कृतिहरूको) नयाँ शिराबाट अध्ययन गर्नुपर्ने आवश्यकतालाई इङ्गित गरिरहेको छ । यसरी अध्ययनबाट तिनका गहन सारतत्व तथा निर्देशनहरूको मनन गर्न सकिएको खण्डमा, त्यसले निश्चय पनि यस नयाँ परिस्थितिलाई गहन रूपमा बुझ्न र त्यसमा सही बटो पहिल्याउनमा ठूलो मद्दत गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार