नेपालको वैंकिङ क्षेत्रमा फेरि तरलताको संकेत

नेपालको वैंकिङ क्षेत्रमा फेरि तरलताको संकेत

काठमाडौं । नेपालको वैंकिङ क्षेत्रमा तरलताको संकेत देखिन थालेको छ । यो संकेतले नेपालको आर्थिक वृद्धिदरमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । ओली सरकारले आर्थिक समृद्धिको नारा दिइरहेका बेलामा वैकिङ क्षेत्रमै नकारात्मक प्रभाव देखिनु अवश्य पनि राम्रो कुरा भने होइन ।

दसैं तिहारको बेला भएकाले नगद प्रवाह पनि केही धेरै हुने र केही थोरै दिनका लागि भएपनि रकम प्रत्येक घरघरमा जम्मा गरेर राखिने भएकाले पनि प्रवाह भइरहेको रकमको मात्रामा केही कमी देखिनु स्वभाविकै पनि हो । तर योसँगै अर्को तथय पनि के हो भने विदेशिएका नेपालीहरु दसैंतिहारमा घर फर्कने र जम्मा गरेको पैसापनि लिएर आउने भएकाले त्यस्तो तरलताको संकेत नदेखिनु पर्ने हो ।

तथापि वैंकरहरुको चिन्ता भने संकेतका रुपमा देखिन थालेको तरलतातिर बढी जान थालेको छ । सरकारले स्वरोजगारका कार्यक्रहरु पनि ल्याएको छैन । साना उद्योगहरुलाई बढावा दिने कार्यक्रमहरु पनि चलाएको छैन । यदि यस्ता कार्यक्रहरु आम रुपमा चलेका वा चलाइएका हुन्थे भने जनताले स्वाभाविक रुपमा माग गर्ने ऋणभारका कारण यो तरलता देखिने थियो । वैंकहरु आफैमा पनि सीमारेखा र प्राथमिकताहरु तोकेर ऋण प्रवाह गरिरहेको अवस्थामा देखिन्छन् । जथाभावी र छरपष्टता पनि छैन ।

यस्तो अवस्थामा किन वैकिङ तरलता आउन पुग्यो । थोरै देखिएको भनेको डलरको भाउमा आएको वृद्धि पनि हो । तर त्यो रेमिटेन्सका कारण त्यति प्रभावी पनि नहोला नै । तर वैंकहरुले रकम नभएको र ऋण मागको भार बढिरहेको बताएक छन् ।

वैकिङ तरलतामा स्थायी रुपमा निरन्तर प्रभाव पार्ने एउटा मुख्य तत्व भनेको आत्मनिर्भर अर्थतन्त्रको विकास नहुनु नै हो । यसले देशलाई वैदेशिक ऋणभारमा चुर्लुम्म डुवाएको छ । अरु सहायक कुराहरु भनेको समयमा विकास बजेट खर्च गरिनसक्नु, विकास निर्माणक कामहरु सकिएर उत्पादन तथा व्यवसायिक फाइदा आउन नसक्नु, विकास निर्माणमा गरेको लगानी डुबिरहनु, भ्रष्टाचार, कमिसनखोरी र तस्करीभई राजस्वमा कमी आउनु तथा उत्पादन सामानहरु निर्यात गर्न र उचित मूल्य पाउन नसक्नु नै हुन् ।

समग्रमा भन्नुपर्दा देशको आर्थिक अर्थतन्त्र निर्यातमुखी नभई आयातमुखी हुनु नै यसको निरन्तर प्रभाव पारिरहेको मुख्य कारक तत्व हो ।