काठमाडौंमा ‘कालो मार्चपास’ प्रदर्शन, क्रान्तिकारीहरु ओली सरकारका विरुद्ध कालो टि–सर्ट लगाएर निस्किए सडकमा (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं र क्रान्तिकारी युवा लिग, नेपाल काठमाडौंको संयुक्त आयोजनामा गरिएको कालो मार्चापासको प्रदर्शनमा सैयौं क्रान्तिकारीहरु सडकमा उत्रिएका छन् ।

महंगी, बेरोजगारी, हत्या–बलात्कार, कालापानी क्षेत्र गायब पारिएको नक्कली नक्साको प्रयोग, राष्ट्रघाती नागरिकता विधेयक र गैरन्यायिक रुपमा गरिएको सडक विस्तारको विरोधमा आयोजना गरिएको कालो मार्चपास रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड, इन्द्रचोक, असन हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको छ । कालो टि–सर्ट, कालो झण्डा र व्यानरसहित प्रदर्शन गरिएको मार्चपासमा लिम्पियाधुरा–कालापानी क्षेत्र हाम्रै हो, राष्ट्रघाती नागरिकता विधेयकलगायत जनविरोधी र राष्ट्रविरोधी सबै ऐन कानुनहरु खारेज गर, महंगी र कालोबजारी नियन्त्रण गर, गैरन्यायिक सडक विस्तार बन्द गर, बेरोजगार युवाहरुलाई रोजगारी दे, नभए भत्ता दे, बलात्कारीहरुलाई कडा कारबाही गर, निर्मला पन्तलाई न्याय दे, भारतीय विस्तारवाद मुर्दावाद, वृद्धि गरिएको कर खारेज गर लगाएका सरकारविरोधी नारा लगाइएको थियो ।

मार्चपासमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा‘सागर’, पार्टी विपिएम तथा देजमो ३ नं. प्रदेशका संयोजक पवनमान श्रेष्ठलगायत उल्लेख्य रुपमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

विरोध सभालाई देजमोका केन्द्रीय अध्यक्ष सीपी गजुरेल लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।