महालक्ष्मी नगरपालिकालाई देजमोको ३३ बुँदे ज्ञापनपत्र

महालक्ष्मी नगरपालिकालाई देजमोको ३३ बुँदे ज्ञापनपत्र

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल महालक्ष्मी नगरपालिकाको नगर समितिले महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई ३३–बुँदे ज्ञापन पत्र बुझाएको छ । दसैंको मुखमा आइपुग्दा जनताका दैनिक उपभोगका सामानहरुको मूल्यवृद्धि हुनु, कालाबजारी बढ्नु तथा देशका सीमासम्बन्धी समस्याहरु निकै गम्भीर बनेर आउनुका कारणहरुको खोजी गर्दै ती कारण तथा समस्याहरुको निवारणका लागि बुँदागत रुपमा मागपत्र पेश गरिएको बताइएको छ ।

मोर्चाका नगर समितिका अध्यक्ष गंगा महर्जनद्वारा हस्ताक्षरित विज्ञप्ति ग्रहण गर्दै नगरका मेयर श्रेष्ठले मोर्चाले प्रस्तुत गरेका मागहरु सकारात्मक र जायज रहेकाले यी मागहरु पूरा गर्नका लागि आफू लागि पर्ने बताउँदै यसका लागि सबैसँग सहमतिको प्रयत्न गर्ने कुरामा पनि जोड दिएका थिए ।

माग पत्र बझाएपछि मोर्चाको तर्फबाट माग पत्रका बारेमा थप प्रस्ट पार्दै मोर्चाका अध्यक्ष महर्जनले यदि यी जायज मागहरु पूरा नभएमा आफूहरु आन्दोलनमा जान बाध्य हुने बताएका थिए । मोर्चाका मागहरुमा स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको पहिचान गरी सूचीकरण गर्न, विकासमूलक आयोजना निर्माण कार्यमा उपझोक्ता समिति निर्माण गर्दा आसेपासे कार्यकर्तामुखी नभएर सर्वदलीय वा सर्वपक्षीय प्रतिनिधित्वमूलक सहभागिता गराउन, कृषियोग्य भूमि खण्डीकरण र प्लटिङ गरी बिक्रिवितरण गर्ने कार्य तत्कालै रोक लगाउन, कृषियोग्य जमिनको संरक्षणको नीति लागू गर्न र कृषिमा अनुदानका साथै आधुनिकीकरण गरी कृषि बजारको स्थापना गर्न जोड दिइयोस् भनिएको छ ।

त्यसै गरी जनताको ढाड सेक्ने गरी बृद्धि गरिएको कर अन्य शुल्कको अविलम्ब खारेज गरी सर्वसुलभ बनाउनु पर्ने, भूकम्प पीडितहरुको कम्तिमा पाँच वर्षसम्म लाग्ने सबै कर मिनाहा गरिदिने, सडक विस्तारले विस्थापित हुन पुगेका नागरिकलाई तत्काल क्षतिपूर्तिकोे व्यवस्था गरिदिने र सडक विस्तार आयोजनाको नाममा जनसरोकारका सांस्कृतिक सम्पदा र बस्ती माथिको अतिक्रमण तत्कालै रोकिनु पर्ने मागहरु राखिएका छन् ।

नगरपालिका भित्र रहेको सार्वजनिक सरकारी स्कुलहरुमा शैक्षिकस्तर वृद्धि गर्दै समय सापेक्ष सुधार र आधुनिकीकरण गर्दै स्थानीय मातृ भाषाको पठन पाठनको व्यवस्था गरिनु पर्ने कुरामा जोड दिंदै स्थानीय चुनावको क्रममा नागरिकका माझमा गरिएका प्रतिवद्धता अनुरुप सामाजिक सुरुक्षा भत्ता अविलम्ब बृद्धि गरिनु पर्ने कुरामा जोड दिइएको छ । यसै गरी इमाडोल हेल्थ पोष्स्ट, सानागाउँ हेल्थ पोष्ट, लुभु प्राथामिक स्वास्थ्य केन्द्र र लामाटार हेल्थ पोष्टलाई आधुनिकीकरण तथा स्तरीयकरण गरी जनतालाई सहज, सरल र निःशुल्क सबै किसिमको उपचार गर्ने व्यवस्था मिलाइनु पर्ने कुरामा ध्यानकेन्द्रित गर्नुपर्ने भनिएको छ ।

वातावरण प्रदुषणको रोकथाम गरिनुका साथै बिग्रिएका सडक र ढलको समयमै निर्माण गरेर पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्ने कुरामा जोड दिइएको छ । नगरभित्र रहेका सार्वजनिक जग्गा, मठ, मन्दिर, मस्जिद, चर्च, पाटी–पौवा, खोला, मुहानको तत्कालै संरक्षणको व्यवस्था गरिनु पर्ने भन्दै नगरभित्र व्यवस्थित ढल निकास तथा सार्वजनिक शौचालयको व्यवस्था मिलाइनुपर्ने माग गरिएको छ ।

नगरपालिकाले निशुल्क एम्बुलेन्सको सेवा संचालनमालयाउनु पर्ने कुरामा जोड दिंदै नगरपालिकाको आफ्नो आय–व्यय पारदर्शी तरिकाले सार्वजनिक गरिनु पर्ने मागमा जोड दिइएको छ । मागका अन्य कुराहरुमा भूकम्प पीडितको घर नक्सा पास गर्दा राज्यले तोकेको शुल्क लिई एकरुपता नक्सा पासको व्यवस्था गरिनुका साथै नगरपालिकाभित्रको अव्यवस्थित नाली निर्माण र राजकुलोको संरक्षण गरी स्थानीय किसानहरुको मागलाई ध्यान दिइनुपर्ने कुरामा जोड दिइएको छ । त्यसै गरी बेरोजगारलाई रोजगारको व्यवस्था गरिनुका साथै महिलालाई सीपमूलक तालिमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

प्रत्येक वडामा पुस्तकालय, खेलकुद मैदान, स्वास्थ्य खानेपानीको व्यवस्थाको गरिनुका साथै जनप्रतिधिहरुले लिइरहेको दोहोरो पारिश्रमिकलाई वास्तविक छानविन गरी प्रमाणित भएका तत्काल असुल उपर गरिने व्यवस्था गरी जनताको हमेशा सेवाको गर्छु भन्ने प्रतिनिधिहरुलाई जनताकै अथक परिश्रम र पसिना बगाएर कमाएर तिरेको करले मोटरसाइकल दिने कुरा बन्द गर्न पनि मा गरिएको छ । साथै, साबिक लुभु–वडालाई कम्तिमा ३ वडा र ६ नं. वडालाई कम्तिमा २ वडामा विभाजन गर्न माग गर्दै यस नगरपालिकाको १० नं. वडाको नारायण डाँडाका स्थानीय जनतालाई आवत जावत गर्ने क्रममा फेदी खोलामा ज्यादै समस्या भएको कारण उक्त स्थानमा पक्की पुल निर्माण गर्ने व्यवस्था अविलम्ब सुरु गर्न माग गरिएको छ ।

नगरभित्रको विद्युतीकरण पुराना जीर्ण पोलहरु तुरुन्त परिवर्तन गर्न माग गर्दै नगरको ८ नं. वडास्थित नगर विकासले प्लानिङ गरेर आवास क्षेत्र भित्रका सडक र ढल व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा अर्जुनलाल श्रेष्ठ, कुमार भट्टराई, केके मल्ल, दिनेश थापा, रामशरण तिमिल्सिना, मैते तामाङ रामशरण सापकोटा, विष्णु रेग्मी र राम तामाङलगायतका मोर्चाका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।