राक्षस जस्ता राणा, रावणको रुपका राजा, स्यालजस्ता पञ्च, खञ्चुवा कांग्रेसले रशातुल्य बनाएको नेपालमा नेपाल कम्युनिस्ट पार्टीको बहुमतीय सरकार बनाउन वाम एकता गरेका सिद्धान्त र युद्धकालका साथीहरूलाई बीचैमा थन्क्याएर सत्तारोण गर्न पुगेका पुष्पकमल दाहाल उर्फ प्रचण्डले आफ्नो गृह जिल्ला चितवनमा पुगेर जिल्ला सभालाई सम्बोधन गर्दै भनेछन्, ‘अहिले नेपालको विकास भएन भने कहिल्यै हुँदैन’ ।
हो, नेताहरू कहिलेकाहीं सत्य बोल्छन्, तर बोली र व्यवहारलाई एकैठाउँमा घोलेर काम गर्न निकै कठिन देखिएको छ । यो कठिनाइ अरुबाट होइन, जो सत्ताको वरिपरि बसेको छ उसैबाट हो । रातारात सत्तालाई उपयोग गरेर धनाढ्य बन्ने सोच भएका व्यापारी, नक्कली प्रमाणपत्र भिरेर जागीर खाने मात्र सोच भएका कर्मचारी र नेतागिरी गरेर राज्यको ढुकुटीमा भैंसीले झैं आहाल खेल्ने नेताहरू नै नेपालको विकासका बाधक हुन् ।
अहिलेको सरकार आफूलाई कम्युनिस्ट पार्टीको सरकार भन्छ, साँचो अर्थमा भन्ने हो भने नेपालमा कम्युनिस्ट नै छैनन्, कम्युनिस्ट बन्न र बुद्ध बन्न उत्तिकै तपस्या गर्नुपर्छ । कार्लमाक्र्स, लनिन र माओ त्यति सजिलोसँग कम्युनिस्ट भएका होइनन् । तै पनि हामीले सहयोग गर्दा यो सरकारलाई नै गर्ने हो, किनभने अरुभन्दा केही प्रगतिशील सोच यो सरकारको छ । भन्नाले जनताको आँगनआँगनमा यो सरकार पुग्ने प्रयास गरिरहेको छ । सिंहदरवारमा बसेर खुट्टा हल्लाउँदै जनताको थाप्लोमा गीर खेल्ने काममा यो सरकाले केही मात्रामा कमी ल्याएको छ । तैपनि गर्न निकै बाँकी छ । ती बाँकी रहेका काम यस्ता छन्—
सर्वप्रथम जनतालाई गणतन्त्र र कम्युनिस्ट सरकारको अनुभूति गराऊ, ता कि जनताले परिवर्तको सास फेरुन् । यसपछि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म सरकारमा रहेका निर्वाचित पार्टीका कार्यकर्तालाई काम, कर्तव्य र अधिकारको पाठ सिकाऊ ताकि उनीहरू जनताप्रति बफादार बनून् र देशप्रति कर्तव्यनिस्ट बनून् ।
कर्मचारीलाई अनुशासित बनाऊ र पुग्ने तलब देऊ, काम प्रति बफादार बनाऊ । आवश्यकभन्दा एक जना पनि कर्मचारी नराख । बढी भएका कर्मचारीलाई विकास निर्माणको काममा लगाऊ । भ्रष्ट कर्मचारी संरक्षदिने परम्पराको अन्त्य गर, भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त गर । योग्यलाई पुरस्कृत गर ।
खाद्यान्न, हरियो तरकारी, फलफूल, माछामासु दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर । पछिल्लो वर्ष किसानले उत्पादन गरेको दूधले बजार नपाएर, गोभेंडाले बजार नपाए कुहाएको र सडकमै दुध पोखिएको विषयमा गम्भीर भएर समीक्षा गर । दूग्ध उत्पादनका सामग्री तयार गर, गोलभेंडाको उच्चकोटीको जुस नेपालमै तयार गर । हुम्ला, जुम्ला, मुगु र यस्तै अन्य हिमाली क्षेत्रमा उत्पादित स्याउलाई बजारसम्म ल्याउने बन्दोबस्त गर ।
ऐन कानुनमा बाधा अड्चन छन् भने त्यस्ता ऐन कानुन संशोधन गर । नेपालबाट भारततिर बग्ने पानीलाई चुरेभन्दा पनि माथिको किनारहुँदै पूर्वपश्चिम नहरको बस्दोबस्त गर । यत्ति गर्न सक्यो भने नेपालले खाद्यान्नको भण्डार नै विदेश पैठारी गर्न सक्छ ।
शिक्षामा आमूल परिवर्तन गरी रोजगारमूलक शिक्षा देऊ, कक्षा १ देखि ८ सम्म भाषा मुलक, ८ देखि १२ सम्म सिपमूलक र त्योभन्दा माथि अनुसन्धानमूलक शिक्षा देऊ, यसो गर्न सकियो भने बेरोजगारी समस्या आधाभन्दा बढी स्वदेशमै खपत हुन्छ भने विदेश जान चाहने युवा पनि दक्ष भएर जाने छ । स्थानीय सरकारको वडावडासम्म स्वास्थ चौकी पुर्याऊ, गरीब विरामीले पनि सस्तो र सुलभ औषधोपचार गर्न सकून् ।
हत्या, बलात्कार, बोक्सीको आरोप लगाएर गाउँ निकाला गर्ने, छाउपडी बस्न बाध्य पार्ने जानाजान यातायतका पाङ्ग्राले ज्युँदो मानिस मारेर कम खर्चबाट उम्कने अपराधी सवारी चालक लगायतलाई आजीवन कारावासमा राखेर सजाय दिने कानुन बनाऊ, बैदेशिक रोजगारीका नाममा सोझासिधा नेपालीलाई ठगी गर्ने अपराधीलाई बिगोसहित असूल गर्ने कम्तिमा २० वर्ष सजाय दिने कानुन बनाऊ, कानुन बनाउने मात्रै होइन, कार्यान्वयन गर । कार्यान्वयन गर्ने निकायले टेरेन भने उसैलाई सजाय गर्ने कानुन बनाऊ ।
यो हिजोआजको कागजी विकास, काठमाडौं उपत्याकामा मेट्रो ट्रेन, बाहिरी चक्रपथ, केबुल कार, चिनियाँ रेल, भारतीय रेल आउने र बन्ने हल्लालाई बन्द गर, काम गर । पूर्वपश्चिम रेल, काठमाडौं, पोखरा, लुम्विनी रेल गुड्ने सपना नदेखाऊ । काम गर, जस त्यसै पाउँछौ । दु्रत मार्ग र सिमरा विमानस्थल छिटोभन्दा छिटो निर्माण गर, बन्नै लागेका पुलपलेसाहरू, निर्माणाधीन सडकहरू चाँडो बनाऊ ।
ठेकेदाको ईशारामा नाच्ने होइन, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई दण्ड दिने र कामगर्नेलाई पुरस्कृत गर्ने व्यवस्था गर । हाइड्रो पावर कम्पनीहरू प्रोपगण्डा होइन, पारदर्शी बनाऊ । हिमाली र पहाडी भागमा डोर ल्याउनुभन्दा केबुलकार बनाऊ । पहिरोको जोखिम कम गर । यी काम गर्न पैसा तिमीसँगैं छ, रेमिटेन्सलाई प्रयोगमा ल्याऊ, उनीहरूले आर्जन गरेको रकमले उनीहरू गाउँघर निर्माण गर । विश्वास दिलाऊ । नाफा बितरण गर ।
तिमीले पाएको पाँच वर्षमा यी माथि उल्लेख भएका काममध्ये २५ प्रतिशत मात्रै काम ग¥यौं भने तिम्रो ठेकेदारी डकारलाई जनताले स्यावासी देलान्, अन्यथा कान चिरिएको जोगी !