
काठमाडौं । प्रगतिशील लेखक संघ नेपालको ६६ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंंको जमलस्थित सांस्कृतिक संस्थान भवनको सभाहलमा ‘प्रलेस प्रतिभा पुरस्कार २०७५ वितरण तथा नेपाली कला साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव’ विषयक एक अन्तरक्रिया कार्यक्रमसहित यसको ६६ औं वार्षिकोत्सव शुक्रवार भव्य रुपमा सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा लेखक तथा सर्जक सीता वि. क.लाई यस वर्षको प्रतिभा पुरस्कार प्रदान गरिएपछि वरिष्ठ सौन्दर्य चिन्तक मोहन वैद्य ‘चैतन्य’ र वरिष्ठ साहित्यकार बेदुराम भुसालले एकएकवटा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै मोहन वैद्य ‘चैतन्य’ले अक्टोबर क्रान्तिलाई एक युगान्तकारी परिघटनाका रुपमा चित्रित गर्दै विश्वमा यसले पारेको प्रभावका बारेमा चर्चा गरेका थिए । अक्टोबर क्रान्तिले जनवादी, समाजवादी क्रान्तिहरुका साथै, राष्टिय मुक्ति आन्दोलन र कला, साहित्य तथा सौन्दर्य चिन्तनमा विश्वभर प्रभाव पारेका बेलामा त्यसको नेपालमा पनि निकै राम्रो र सकारात्मक प्रभाव पारेको उल्लेख गरेका थिए ।
चैतन्यले यसको परिणाम स्वरुप नेपालमा नेकपाको स्थापना भई पुष्पलालको नेतृत्व प्राप्त भएको कुरालाई स्वीकार गर्दै यसको प्रभाव वामइतर नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि पर्न गएको बताएका थिए । कार्यपत्रमा नेपालको प्रगतिवादी काललाई २००७ सालपछि, २०१७ सालपछि, २०४६ सालपछि र २०७२ सालमा संविधानसभामार्फत् संविधान बनेपछि गरी चार चरणमा विभाजित गरी त्यसको विशेषता पनि व्याख्या गरेका थिए ।
संघीय स्वरुपमा आएको वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था कसैका लागि पश्चगामी भएको र अरु कसैका लागि अग्रगामी छलाङ भएको स्वीकारोक्ति आएको कुरामाथि प्रकाश पार्दै चैतन्यले यस्तो अवस्थामा प्रगतिशील र प्रगतिवादी भनेको के हो यसबारेमा केही थप गम्भीर छलफल हुनुपर्ने सुझाव दिएका थिए । मार्क्सले भने झैं संसार बुझ्नु ठूलो कुरा होइन, तर संसार बदल्नु सबैभन्दा ठूलो कुरा हो भन्दै चैतन्यले लेखक तथा साहित्यकारहरु यथार्थवादी भएर मात्र हुँदैन क्रान्तिकारी चेतसहितको यथार्थवादी हुनु जरुरी भएको बताए । साहित्य यथार्थको कलात्मक प्रतिविम्वन भएकाले सिर्जना र सर्जक स्वयममा रुप र सारको एक रुपता हुनु पर्दछ ।
अर्का कार्यपत्र प्रस्तोता बेदुराम भुसालले नेपालमा अक्टुवर क्रान्तिको ठूलो प्रभाव रहेको र मालिकहरुका हातबाट श्रमिकहरुले शासनसत्ता खोसेको सन्देश निकै गहिरो र व्यापक भएको कुरामाथि प्रकाश पार्दै यसले विश्व मानव समाजको नयाँ अध्याय सुरु गरेका बताएका थिए । श्रमिक तथा मजदुर वर्गको त्यो गौरब आज सोभियत सत्ता ढल्दा पनि विश्वका जनमानसमा ज्युँदै रहेको उनले बताए ।
यसले समाजवादी र पुँजीवादीबीचको ध्रुवीकरणलाई प्रस्ट बनाएको उल्लेख गर्दै भुसालले यसले पूर्वी संंसारमा मुक्ति आन्दोलनको हावाहुरी नै ल्याएको बताएका थिए । उनका अनुसार यसको प्रभाव दर्शन, राजनीति र कलासंस्कृतिमा निकै परेको थियो ।
दुवै कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकार श्याम श्रेष्ठले कार्यपत्रमा रुसी अक्टोबर क्रान्तिको प्रभावको व्याख्या गर्दा स्वयम् अक्टोबर क्रान्ति नै नभएको भए मार्क्सवादको भविष्य के हुन्थ्यो होला यसबारे पनि कार्यपत्र बोल्नुपर्छ भनेका थिए । रुसी समाजवादी क्रान्तिपूर्व माक्र्सवाद एक प्राज्ञिक विषय त थियो नै तर अक्टोबर क्रान्तिपछि यसले वास्तविक प्रयोगसहितको विज्ञानको स्वरुप ग्रहण गर्न पुग्यो भन्दै श्रेष्ठले यसले सहभागितामूलक लोकतन्त्र, समावेशिता तथा समानुपातिकताका साथै महिला सशक्तिकरणमा निकै ठूलो योगदान पुर्याएको थियो भनने कुरामा जोड दिएका थिए ।
यति हुँदाहुँदै पनि अक्टोवर क्रान्तिका केही कमजोरीहरु थिए भन्दै श्रेष्ठले यो अति केन्द्रीकरणमा गयो, सत्ता नोकरशाही बन्न पुग्यो र वर्गको नाममा पार्टीका थोरै मानिसहरुले मात्र सत्ता चलाउन पुगे भन्दै श्रेष्ठले यसलाई आलोचनात्मक चेतले हेरेर नकारात्मक शिक्षा पनि लिनु जरुरी रहेको बताएका थिए ।
अर्का टिप्पणीकार सरला रेग्मीले अक्टोवर क्रान्तिको प्रभाव र नेपाली क्रान्ति तथा साहित्यका बारेमा कार्यपत्र प्रस्तोताहरुले निकै मेहनत गरेका भन्दै कार्यपत्रमा चिटठीपत्रहरुका बारेमा पर्याप्त प्रकाश पारिनु पर्ने बताएकी थिइन् ।
साहित्यकार तथा सर्जक निनु चापागाइँले अक्टोबर क्रान्ति आफैमा महान् त थियो, तर किन त्यसले पनि धक्का खायो भन्ने बारेमा गहिरिएर आलोचनात्मक रुपमा सोच्नुपर्ने कुरामा जोड दिएका थिए ।
अक्टोबर क्रान्ति दिवसका संयोजक सोनाम साथीले अक्टोबर क्रान्तिको प्रभाव नेपालको वामपन्थी, प्रजातान्त्रिक मात्र नभएर भुरेटाकुरे राजाहरुमा पनि परेको उदाहरण प्रस्तुत गरेका थिए । उनका अनुसार बझाङका राजा जयपृथ्वी बहादुर सिंहले लेनिनलाई रुसमा भेटेका र प्रभावमा परेका थिए ।
आर.एम् डंगोलले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रलेसका अध्यक्ष मातृका पोखरेलले गरेका थिए ।






























