कालापानी गायब पारिएको नक्सा प्रयोग गर्नेमाथि जनकारबाही

कालापानी गायब पारिएको नक्सा प्रयोग गर्नेमाथि जनकारबाही

नेपालमा आफ्नै नापी विभागले बनाएको नक्शा देशमा प्रयोगमा ल्यााइन्थ्यो । प्रधानमन्त्री, मन्त्री, सिडियो, सेना, पुलिस, कर्मचारी, विद्यालय, प्राइभेट संस्थाहरु र सबै व्यक्तिहरुले नेपालको आफ्नो नक्शा प्रयोग गर्ने गर्दथे । पाठ्यक्रमहरुमा त्यही नक्शाको आधारमा पढाइहुन्थ्यो । पहिलेका सरकारहरुले कमसेकम त्यति मात्र भएपनि देशको माटोका लागि काम गरेका थिए ।

अहिले त हाम्रो देशको नक्शा हाम्रो आफ्नै नापी विभाग र सरकारले तयार गरेको रहेनछ । हाम्रो देशको नक्शा भारतले तयार गरेको रहेछ । त्यो नक्शा भारतले आफैले किन तयार पार्न लाग्यो यसबारे जानकारी जरुरी छ । सन् १९६२ मा भारत र चीनको बीचमा लडाइँ भयो । लडाइँ हुँदैजाँदा जब चिनियाँ सेनाले भारतीय सेनाहरुलाई हटाए, हट्दै आएका भारतीय सेना नेपालको कालापानी भन्ने ठाउँमा आएर बसे । त्यो भूभाग नेपालभित्र पर्ने भएकाले चिनियाँ सेना त्यहाँ आएनन् । चीन त्यहाँ नआएपछि उनीहरु त्यही ठाउँमा अड्डा जमाएर बसे ।

युद्ध विराम भयो पनि । तर भारतीय सेनाले नेपालको कालापानी छाडेन । कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै गरिराख्यो । त्यसको विरुद्धमा नेपालमा आवाज उठ्यो–‘कालापानीबाट भारतीय सेना फिर्ता गर’ भनेर । एकपछि अर्को गर्दै नाराबाजी र संघर्षको आन्दोलनहरु उठे । त्यो आन्दोलनको दौडानमा धैरै नेपालीहरु शहीद पनि भए । तात्कालीन नेपाल प्रहरीले गोली चलायो । नेपालीको हत्या ग¥यो । तर त्यहाँबाट अहिलेसम्म भारतीय सेना हटेन ।

अहिलेसम्म भारतीय सेना किन बसिरहेको छ त ? चिनियाँ सेनाबाट लखेटिंदाका बखत भारतले केही दिन त्यहाँ रहेको भनी दिल्लीले जानकारी गराएपछि तात्कालीन राजा महेन्द्रले मौखिक रुपमा सहमति जनाएका भनिएको छ । यो बाहेक कुनै लिखित सहमति संम्झौता वा प्रमाण छैन । तत्कालका लागि राज्यको मौखिक आदेश र स्वीकृतिमा सेना त्यहाँ बसेको भनिएको छ । त्यसपछि निरन्तर संघर्ष र आन्दोलन हुँदै आयो ।

तर अहिले नेपालको नक्शाबाट उक्त स्थान कालापानी, लिम्पियाधुरा र लिपुलेक हटाइएको छ । हाम्रो अन्तर्राष्ट्रिय सीमाना मिचेर उक्त स्थान भारतीयको भूमिमा पारेको छ । अहिले भारतले बनाइदिएको नक्शामा कालापानी नेपालको सीमा बाहिर पारिएको छ ।

कालापानीलाई अहिले भारतले आफै बनाएको नक्सामा भारतभित्र पारेको छ । अब त्यो सीमा भारतमा पर्ने गरी बनाएपछि भारतले किन सेना राख्यो भन्ने कुरा त भएन । यो उसले अन्तर्राष्ट्रिय क्षेत्रमा आँखामा छारो हाल्ने गरी बनायो । हामीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाऊ भनेको भन्यै छौं ।

तर भारतले कालापानी भारतको सीमाभित्र राखिदियो र तदनुरुपको नक्सा ओली सरकारलाई गोप्य कुराकानी गरेर पठाइदियो । भारतले पठाएको यो नक्सालाई ओली सरकारले नक्सा तथा निशान छापमा राखेर देशका तीनवटै सरकारलाई पठाएको छ । नक्सा तथा निशान छाप सरकारी कार्यालयमा टाँग्न र प्रयोग गर्न निर्देशन दिएको छ । यो तुरुन्त बन्द गर्नुपर्छ । देशभक्त तथा अग्रगामी शक्ति तथा व्यक्तिहरुले यसबारेमा निकै नै आवाज उठाइरहेका छन् ।

देशभक्त पत्रकारहरुले गएर सोधे नापी विभागका महानिर्देशकलाई । नेपालको नक्सा किन यसरी फेरियो ? कालापानी हटाइएकै हो । नापी विभागका महानिर्देशकले यो भएकै हो भनेर स्वीकार गरे । यो भारतले अर्काे नक्शा बनाएकै हो भनी प्रस्ट शब्दमा भने । यो नक्शा दिल्लीबाट नेपाल भित्र्याएकै हो र पूरै सरकारी कार्यालयहरुमा यही नक्शा र निशान छाप कायम छ भनेर स्वीकार गरे । देशमा कालापानी गायब पारिएको नक्सा टाँसिएको छ भनेर स्वीकार गरे । उनलाई किन यसो गरियो भनेर प्रश्न गर्दा उनले हामीले सरकारलाई जानकारी दिइराखेका छौं, तर सरकार आफैंले यसै गर्न निर्देशन दिएको छ । उनले भने– सरकारले मान्दैन, हामी के गरौं ?

लडाइँ लडेर हार्नु र आफ्नो भूभाग छाड्नु एउटा कुरा हो, तर नेपाल र भारतको लडाइँ नै भएका छैन, भूभागहरु एकपछि अर्काे गर्दै उसलाई छोडिएको छ । बिनालडाइँ भूभाग छाडेर आत्मसमर्पण गरी गद्दारी गरिएको छ । हामीले यो अवस्थालाई जोडदार रुपमा उठाएका छौं । नेपालले यी सारा भूभाग समेटिएको नक्सा तयार पार्नु पर्छ र प्रयोगमा ल्याउनु पर्छ भनेर आवाज उठाएका छौं । हामीले भनेका छौं, हरेक सरकारी कार्यालयहरुमा नक्शा प्रयोग गरिनुपर्छ र विद्यालय र पाठ्यक्रममा पनि त्यही नक्शा राखिनुपर्छ ।

हामीलाई भन्ने गरिन्छ, तपाईहरुको पार्टी ठूलो त छैन । तपाईहरुले भन्ने गरेको कसले सुन्छ ? तर हाम्रो जवाफ के हो भने हामीले जनतालाई सचेत बनाउन सक्छौं । सधैं लागिपरिरहेका छौं पनि । देश र जनताको पक्षमा लड्ने काम हाम्रो हो । तर एउटा कुरा यसपाला के प्रमाणित भएको छ भने दुईतिहाइको दम्भमा बनेको यो ओली सरकार जनता अगाडि झुक्न बाध्य भएको छ । क्याबिनेटबाट के निर्णय गरेको छ भने हाम्रो गल्ती भएछ, हाम्रै नापी विभागले बनाएको नक्शा प्रयोग गर्ने छौं भनी निर्णय गरेको छ ।

भूमिसुधार मन्त्रालयका मन्त्रीले के पनि स्वीकार गर्नुभएको छ भने हामीले हाम्रो गल्ती स्वीकार गरेका छौं, हामी नेपालले तयार पारेको नक्सा प्रयोग गर्छाैं । भारतले पठाएको नक्सा हटाउँछौं । तर हामीलाई थप जानकारी के पनि छ भने यी सारा पुस्तक पसल विद्यालय, मन्त्रालय, सेना, पुलिस, सशस्त्रका अफिसहरुमा र जनसाधारणका घरहरुमा भारतले बनाएका नक्कली नक्साहरु झुण्ड्याई नै राखेका छन् । यदि यी नक्साहरु हटाइएन भने हामी जनताको साथ लिएर कार्यालय, विद्यालय र अन्यत्र पसेर च्यातेर डढाउनु पर्नेछ । त्यो काम गर्न हामी बाध्य हुने छौं ।

सरकार र सम्बन्धित भूमिसुधार मन्त्रीले त्यो नक्सा सच्याउने र देशका सारा अफिसहरुमा प्रयोग गर्ने, गराउने कुरा स्वीकार गरेका छन् । तर त्यो प्रयोग भएन भने सीमा मिचिएका नक्सा र निशान छाप जनताले कारबाही गरेर र जलाएर नष्ट गर्ने छन् । हाम्रो कालापानी नभएको नक्सा ल्याइयो भने हामी त्यसलाई छाड्ने छैनौं । सार्वजनिक रुपमा कारबाही गर्न हामी बाध्य हुनेछौं । कारबाही गरेरै छाड्ने छौं ।

(कालापानी नेपालको नक्साबाट हटाइएको विरोधमा आयोजित कोणसभामा व्यक्त विचारका मुख्य अंशहरु– संपादक)