छोरीको मृत्युको खबरले म अत्यन्त मर्माहत भएको थिएँ । लामो समयपछि घर फर्कंदा बाटामै सुन्न नचाहँदा नचाहँदै अचानक एक महिलाले सो खबर सुनाइन् । म एक युद्ध यात्री । क्रान्तिकारीहरुको नजरमा एक क्रान्तिकारी योद्धा, सक्षम कार्यकर्ता । प्रतिक्रियावादीहरुका लागि एक खुंखार आतंककारी । त्यसैले कामको चाप र व्यस्तताले पनि र क्रान्तिकारी दायित्वले पनि मेरो घर आउजाउ एकदम कम हुन्छ । काम विशेषले रुट पर्न गएमा महिनामा एक दुई चोटि अन्यथा महिनौंपछि घरपरिवारसंग मेरो भेट हुन्थ्यो र अद्यावधि त्यही नै हुन्छ ।
म त्यो बेला निकै लामो समयपछि घरतिर फर्किंदै थिएँ । आफ्नो पहिलो सन्तान, जसको जन्मदेखि नै हरेक आमा–बाबुले यौटा भिन्दै संसारको निर्माणको रेखाचित्र खिंचेको हुन्छ । त्यसैअनुरुप पालन पोषण गरेको हुन्छ । तर त्यही सन्तान सोह्र सत्रको वयमा जब भौतिक रुपमै अवसान हुन्छ, त्योबेला ती बाबु–आमाको छाती कसरी फुट्दो हो, अकल्पनीय छ ।
म स्तब्ध भएँ । मुटु भक्कानिएर आयो । छाती निचोरिएर आयो र आँखाबाट बरर्र अश्रुधार साउने भेल बनेर उर्लियो । रिंगटा लाग्ला झैं भयो । आफूलाई सम्हाल्ने कोशिष गरें । अडिने साहस पटक्कै भएन र बर्लंगै पछारिएँ ।
मेरो आँखा खुल्दा साथीले सालको पातले मेरो मुखमा हम्किंदै थियो । मैले पानी मागें साथीले सालकै पातमा अलिपरको खोल्सादेखि पानी लियो र पिलाइदियो । घर पुग्न अझैं डेढ दुई घन्टा हिंड्नुपथ्र्यो । मेरी छोरीकै समवयका अरु धेरै अनुहारहरु एकएक गरी मेरा आँँखा अगाडि नाच्न आए । कसैको बिहे भइसकेको छ, कोही नौ दश कक्षामा पढ्दैछन् । कसैले क्याम्पस ज्वाइन गरेका छन् र यसले मलाई झन् पीडा दियो । मैले आफ्नो मनलाई अन्तै डुलाएर भुल्न खोजें ।
‘राहुल दाइ, लाल सलाम !’
म झस्किएँ, पछाडिबाट विद्यार्थी संगठक नितु देखा परिन् ।
‘लाल सलाम !’ भनेर मैले उनीतिर हात बढाएँ ।
‘घरतिर जाँदै हुनुहुन्छ ?’
नितुको प्रश्नको जवाफ नै मबाट हरायो । किनकि म आफैं कहीं उराठलाग्दो मरुभूमिमा हराइरहेको थिएँ । म आफैंलाई होस नभएजस्तो । म घरतिर जाँदैथिएँ वा अन्यत्र कतै ?
‘बेचैन देखिनुहुन्छ, बिरामी हुनुहुन्छ ?’ –अत्यन्त मायालाग्दो गरेर उनले सोधिन् ।
‘नाइँ, त्यस्तो छैन ।’ –मैले यतिसम्म जवाफ दिनु आङ्खनो नैतिक कर्तव्य ठानें ।
‘ल, अगाडि हिंड्नोस् ।’ मैले उनलाई बाटो छोडिदिएँ ।
‘अहँ, तपाईं नै लाग्नोस् ।’ उनी पछि हच्किन खोजिन् ।
‘नाइँ, नाइँ, तपाईं नै लाग्नुस् ।’ म अरु पछि सरें र उनलाई बाटो दिएँ । उनी अघि लागिन् । मैले उनलाई सर्र पैतलादेखि शिरसम्म हेरें ।
यी नितु पनि मेरै छोरीकी उमेरकी होलिन् । सुनेको थिएँ– भखेर्रै पार्टीमै जनवादी विवाह गरिन् रे ।
‘नितु, बधाइ छ, बिहे गर्नुभएछ ।’
नितु एकैछिन लाजले रातो भइन् ।
‘तपाईंकी भदै रक्षाको पनि त बिहे हुन लाग्या’छ नि ।’ नितुले सायद आफूमाथि खनिने अरु प्रश्नहरुबाट भाग्न चाहन्थिन् ।
‘रक्षाको बिहे रे ? कोसंग ? कहिले हुँदैछ ? ’ एकैचोटी यी प्रश्नहरु ओइराएँ ।
अँ, हाम्रै संगठनको यशवन्तसंग । रक्षाले यशवन्तको प्रस्ताव स्वीकारिसकेकी छिन् । ’
नितुको जवाफले म छाँगाबाट खसेजस्तो भएँ । मेरी छोरीभन्दा एक बर्षले कम उमेरकी रक्षा भर्खर सोह्रौं बसन्तको संघारमा पाइला टेकेकी छिन् । अहिल्यै उनको बिहे ? अनि प्रस्ताव पास ?
यी हाम्रा कार्यकर्ता पनि के हुन लागेका ? पूर्णकालीन कार्यकर्ता भएर काम गर्नथालेको छ महिना भा’छैन बिहेको लागि चटारो पार्छन् अनि पार्टीले स्वीकृति नदिए घुर्की लगाउँछन् र पलायन हुन्छन् । एकैछिन अघिको छोरीको मृत्युले दिएको पीडाबाट मेरो ध्यानभंग हुन्छ । अर्को जब्बर समस्याको भारी मेरो शिरमाथि थपक्क बस्न आइपुग्छ ।
धेरै कमरेडहरुको तस्वीर मेरो अगाडि उपस्थित हुन्छ । कतिपय अनुहारहरु अझैं युद्धभूमिमा भेटिन्छन्, कोही हराइसकेका छन् । मैले धेरै कमरेडहरुको विवाहमा शुभकामना मन्तव्य दिएको छु । अबीरमाला पहिराइदिएको छु र उनीहरुबाट प्रतिबद्धता सुनेको छु । तर आजसम्मको यात्रामा ती सबै जोडीले मसंगको सहयात्रालाई निरन्तरता दिनसकेका छैनन् । कोही कोही त घुम्ती, मोड र खोल्साबाट लुसुक्क ओरालो झरेर बेपत्ता भएका पनि छन् । कोही कोही अमर जोडी बनेर मेरो आस्थाबाट कहिल्यै नहट्ने गरी धर्तीलाई आफ्नो अमूल्य रगतले सिंचेर धर्तीमै विलय भइसकेका छन् । बाँकी जेजति बचेका छन् ती एउटा नमूनाजोडी बनेर आदर्शका पात्र बनेका छन् र मसंगसंगैको सहयात्रालाई आजसम्म निरन्तरता दिइरहेका छन् ।
रक्षा अर्थात् सबिता । सबिता उनको पारिवारिक नाम हो । पार्टीमा लागेपछि उनले आफ्नो नाम बदलिन् याने कि यो हाम्रो पार्टीभित्र परम्परा जस्तो बनिसकेको छ । पार्टीमा काम गर्न थालेपछि आफूलाई भिन्दै नामले परिचय गराउने । तर म भने उनलाई पारिवारिक नामबाटै सम्बोधन गर्ने गरेको छु । यतिखेर मलाई ती मेरी भदै सबिता अर्थात् जसलाई मैले बच्चैदेखि प्यारो गरेर ‘सबु’ भनेर सम्बोधन गर्ने गरेको छु – को तस्वीर झल्झली सम्झना भइरहेछ । मेरो बिहा भएको झण्डै तीन बर्षपछि जन्मेकी यी बालिका अहिले तरुणी भइसकेकी छिन् ।
मान्छे रुपको दास हुन्छ । त्यसमा पनि पुरुषहरु अलि बढी नै हुन्छन् । मैले यस्ता थुप्रै रुपका दासहरुलाई इतिहासममा पढेको छु । पुराणमा सृुनेको छु र वर्तमानमा भेटेको छु । नारी रुपप्रति लुब्ध भएर पुरुषहरुले ठूला ठूला अपराध गरेका थुप्रै घटनाहरु पनि मैले पढ्न र सुन्न पाएको छु ।
मलाई अचेल मेरी भदै सबुको रुप र यौवनदेखि डर लाग्न थालेको छ । सोह्र बर्ष पुग्दा नपुग्दै बिहेको प्रस्ताव ? म चिन्तामग्न बन्दछु ।
‘राहुल दाइ !’ नितुको सम्बोधनले म झस्किएँ ।
हामीले चुपचाप धेरै बाटोको दूरी नापिसकेका रहेछौं । हामी छुट्टिने बाटो आइसकेछ । हामीले पुनः हात मिलायौं र छुट्टियौं ।
‘कैल्हे फर्किनुहुन्छ कार्यक्षेत्रमा ?’ नितुले जाँदाजाँदै सोधिन् ।
‘सायद एकदुई दिन पछि । ’
मैले यति भन्दा उनी पुलमा झरिसकेकी थिइन् र मैले त्यहीं उभिएर उनी पुलको पल्लो छेउ पुग्दासम्म हेरिरहें ।
… … … … … …. … …
करिब एक महिनापछि मैले सबुको एरिया इन्चार्जलाई फोन सम्पर्क गरें । भलाकुसारीको औपचारिक प्रक्रियापछि मैले सबुको विषयमा जिज्ञासा राखें –‘के छ, सबिताले बिहे गर्दैछिन् रे हो ? ’
‘अँ, यार बबाल भइरा’छ । बरु एक पटक समय मिलाएर तपाई पनि आउनुस् न ।’
उहाँले यति भन्दानभन्दै सेटको लाइन कट्यो, त्यसपछि कति प्रयास गर्दा पनि उहाँसंग सम्पर्क भएन ।
‘…बबाल भइरा’छ …’
यही वाक्यांश मेरो कर्णकुहरमा प्रतिध्वनित भइरह्यो । कस्तो बबाल हो त्यो ? केही गलत आशंकाहरु मेरो मनभित्र उब्जिंदै र बिलाउँदै गए ।
म समय मिलाएर सबुको एरियातिर गएँ । तर संयोग उल्टो भयो । मैले सबुलाई भेट्न सकिनँ । उनी संगठनको कामको सिलसिलामा अन्य एरियातिर गएकी रहिछन् । मभित्रको खुल्दुली र कौतूहलताले पिङ खेल्न थाल्यो । अलि साँझ परेपछि चाहना आइपुगिन् । मैले सबुको बारेमा उनीसंगै सोधें । कुरो के रहेछ भने सबिताको प्रस्ताव बाझिएको रहेछ । अर्थात् उनले पहिलो प्रस्ताव जसबारे मैले सुनेको थिएँ, त्यसलाई लत्याइदिएकी रहिछन् र दोश्रो प्रस्तावलाई स्वीकृति दिएकी रहिछन् । दुवै प्रस्तावकहरु आ–आफ्नो दाबीमा अडिग रहेछन् । झण्डै कुरुयुद्ध होलाजस्तो ।
चाहनाले सबुको दोश्रो प्रस्तावकको बारेमा आफूले थाहा पाएजति विवरण सुनाइन् । अरु कुराले मलाई त्यति छोएन । किनकि जात–पात, धन–सम्पत्ति, यी सबै गौण कुराहरु हुन् र सच्चा प्रेमीहरु आफ्नो प्रेमको लागि यी सारा कुरालाई त्याग्न सक्छन् । तर जब मैले सबुको घरदेखि उक्त प्रस्तावकको घरसम्मको दूरी नापे,ं म कहालिएँ । पूरा पाँच दिनको पैदल बाटो । विकट भू–धरातल, कहीं घना जंगल, कहीं कहालीलाग्दो उकालो, कहीं जंघार । ओहो ! उनीसंग धेरै टढा भइने कल्पनालेमात्र पनि मेरो आङ सिरिङ्ग भयो ।
मलाई अझैं सम्झना छ –मेरी ठूली बैनीको बिहे हुँदा जब बैनीलाई डोलीमा अन्माउनेबेला भो, मेरो बुवा डाको छोडेर क्वाँ क्वाँ गरी रुनुभएको थियो । उफ् ! कस्तो हुँदोरहेछ यो आफ्नो सन्तानप्रतिको माया । हुन त सबु मेरी आफ्नी सन्तान होइनन् तर पनि उनको अनुहारमा आफ्नी छोरीको अनुहार झल्झली देख्छु । तब नै मलाई उनीप्रति माया झन् गाढा भएर आउँछ । म एक भयानक आशंकाले घेरिन पुग्छु ।
कथम्कदाचित उक्त प्रस्तावकले गद्दारी ग¥यो भने मेरी सबुको के दशा होला ? उनको निम्ति मात्र दुईटा विकल्प हुनसक्छन्– कि त ऊसंगै सहमत भएर क्रान्तिप्रति गद्दारी गर्ने कि भने ऊसंग सम्बन्ध विच्छेद गर्ने । यी दुवै कुराले मेरो हृदयलाई समान रुपले आघात पु¥याउँछन् । त्यसमा पनि गद्दारी गर्ने कुराले म अरु सम्वेदित बन्छु ।
विगत दश बर्षदेखि जनयुद्धरुपी सवारी बाहन अन्धकार बस्तीबाट सुदूर पूर्वको उज्यालो क्षितिजको गन्तव्यतर्फ कुदिरहेछ । म लगायत थुप्रै यात्रुहरु सवार छौं यस बाहनमा । बाहन रात दिन हुँइकिरहेछ, चुँइकिरहेछ अन्धकारलाई चिर्दै गल्छी, भञ्ज्याङ र मोडहरुलाई पार गर्दै । यात्रुहरु चढ्ने र ओर्लने क्रम जारी छ । कोही झुङ्न थालेका छन्, कोही चनाखो आँखा चारैतिर कुदाइरहेछन् । म यी सारा दृश्यहरु हेरिरहेछु ।
जसै उकालोमा मोड आउँछ, चालक ब्रेक थिच्छ, वाहन घच्च्याक्क गरेर रुक्छ । चालक स्टेरिंग घुमाउँछ, बाहन अलि पछि सर्छ । बाहन पछिल्तिर गुड्न थालेको भ्रममा डरपोक यात्रुहरु फटाफट हाम फाल्छन्, बाहन फेरि अगाडि बढ्छ । म सन्तोषको सास फेर्छु र सबैको अनुहारतिर नजर डुलाउँछु– प्रदीप्त बनेका छन् सबैका अनुहारहरु । आँखा सबुको अनुहारमा गएर टक्क रुक्छ । उदास उदास, केही बिर्सेजस्तो, केही हराएजस्तो, आत्तिएजस्तो । उनका नेत्रवीरबाट पानीको मूल फुट्छ र गुलाबी गालालाई सिंचेर कुर्तालाई भिजाउँदै कोमल पाउलाई पखाल्न पुग्छन् ।
म आफ्नो सीटबाट उठ्छु र सबुको नजिक गएर सोध्छु– के भो नानु ? सबु बोल्दिनन् । बादल अरु घना भएर आयो र मुसलधारे पानी बर्षियो । मैले एकचोटी चारैतिर नजर घुमाएँ । केही समय अगाडि सबुसंगै बाहनमा छिरेको उनको प्रस्तावक प्रेमी संघर्षको उकालो मोडमै हाम फालेछ । उसले आफूलाई एक योद्धाको हैसियतबाट च्युत गराएछ । मैले बुझें । सबुलाई सान्त्वना दिने प्रयास गरें ।
मलाई यतिखेर आफ्नी छोरीको मृत्युप्रतिको पीडाले छोइरहेको थिएन । मैले उसको मृत्युलाई बिर्सिदिएको थिएँ र ऊ मृत्युृशैयाबाट उठेर आई मेरो काँखमै लाडे बनेर घोप्टिरहेकी कल्पनाले म असीम आनन्दमा डुबेको थिएँ । हामी सवारबाहन यतिञ्जेलसम्म अनेक घुम्ती, द्यौराली, उकाली र ओरालीहरुलाई पार गर्दै उज्यालो गन्तव्यतर्फको अविराम यात्रामा निरन्तर हुँइकिइरहेको थियो, कुदिरहेको थियो ।