पोखरा, भदौ २३ । पोखराको बेगनास तालमा डुंंगा पल्टिँदा एकको मृत्यु भएको छ । उक्त डुंगामा ९ जना सवार थिए ती मध्ये ५ अझै बेपत्ता छन् भने ४ जनाको उद्दार गरिएको छ । उद्दार गरिएको एकजनाको भने मृत्यु भएको छ । उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।
बेगनास ताल नजिकका एक स्थानीय गणेश कंडेलको घरमा दर खान आएका उनका आफन्तहरु डुंगामा ताल घुम्न गएका एक स्थानीयले बताए । सोही क्रममा डुंगाबाट एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।