राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो क्रान्तिकारी पत्रकार महासंघ

राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो क्रान्तिकारी पत्रकार महासंघ

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । संगठनको दोस्रो राष्ट्रिय सम्मेलनको तयारीका लागि महासंघले काठमाडौंको अनामनगर घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा १९ र २० भदौमा विशेष राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न गरेको छ । विशेष राष्ट्रिय भेलाले ४ सदस्य पछि थप्ने गरी इन्द्र राउतको नेतृत्वमा २५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । भेला र आयोजक समितिको बैठकले लिएका निर्णय सार्वजनिक गर्नका लागि महासंघको सम्मेलन आयोजक समितिका अध्यक्ष इन्द्र राउतले शुक्रबार जारी गरेको वक्तव्यमा भेलाले पदीय जिम्मेवारी वहन नगरेको ठहर गरी अघिल्लो समितिका महासचिव केशरमणि कटुवाल, सदस्यहरु युवराज अर्याल, अनित पाण्डे र ज्ञानुमाया पंगेनीलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ । वक्तव्यमा भेलाले धनञ्जय अवस्थी (कञ्चनपुर), सागर श्रेष्ठ (काठमाडौं), विष्णु आले (ललितपुर), शिवशंकर पाण्डे (रौतहट), राजेन्द्र सुवेदी (कास्की)लाई आयोजक समितिको केन्द्रीय जिम्मेवारीमा थप गरेको पनि जनाइएको छ ।

राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै जिल्ला तथा प्रदेशको भेला सम्मेलन तिहारअघि नै गरिसक्ने निर्णय गरेको उल्लेख गरिएको वक्तव्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिताको खारेजीको माग गर्दै जिल्ला, प्रदेश तथा केन्द्रले विभिन्न कार्यक्रम गरी विरोध जनाउने र नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा सहभागिता जनाउने निर्णय समेत गरेको जनाइएको छ ।
वक्तव्यमा उल्लेख गरिए अनुसार भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राविरोधी सरकारले ल्याएको मुलुकी संहिताका विरुद्ध खेद प्रस्ताव पारित गर्दै उक्त ऐन खारेजी लगायत विभिन्न समसामयिक प्रस्तावहरु पारित गरेको छ । भेलाले अध्यक्ष इन्द्र राउतले प्रस्तुत गरेको विधान, प्रतिवेदन सम्मेलनसम्म समृद्ध पार्ने गरी सर्वसम्मतले पारित भएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :

प्रेस वक्तव्य

“भदौ १९ र २० गते काठमाडौंको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा सम्पन्न क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला तथा २१ गतेको आयोजक समितिको बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
१– भेलाको आरम्भमा सहिद कृष्णसेन इच्छुक लगायत जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरियो ।
२– भेलाको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले गर्नुभयो ।
३– भेलाको उद्घाटन सत्रमा महासचिव मोहन वैद्य ‘किरण’, क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, सहिद, वेपत्ता तथा घाइते योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा‘सागर’, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष लक्ष्मी मुडभरी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, क्रान्तिकारी पत्रकार महासंघका संस्थापक अध्यक्ष कुमार शाह, संगठनका सल्लाहकार हिरामणि दुःखीलगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भयो ।
४– संगठनका अध्यक्ष इन्द्र राउतले भेलाको बन्द सत्रमा प्रस्तुत गरेको विधान, प्रतिवेदन तथा आर्थिक प्रतिवेदन राष्ट्रिय सम्मेलनसम्म समृद्ध पार्ने गरी सर्वसम्मत रुपमा पारित भयो ।
५– भेलाले इन्द्र राउतको नेतृत्वमा ४ सदस्य पछि थप्ने गरी २५ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । अघिल्लो समितिका महासचिव केशरमणि कटुवाल, सदस्यहरु युवराज अर्याल, अनित पाण्डे र ज्ञानु पंगेनीलाई पदीय जिम्मेवारी वहन नगरेको ठहर गरी भेलाले हटाएको छ भने धनञ्जय अवस्थी (कञ्चनपुर), सागर श्रेष्ठ (काठमाडौं), विष्णु आले (ललितपुर), शिवशंकर पाण्डे (रौतहट), राजेन्द्र सुवेदी (कास्की)लाई केन्द्रीय जिम्मेवारीमा थप गरेको छ ।
६– भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राविरोधी सरकारले ल्याएको मुलुकी संहिताका विरुद्ध खेद प्रस्ताव पारित गर्दै उक्त ऐन खारेजी लगायत विभिन्न समसामयिक प्रस्तावहरु पारित गरेको छ ।
७– अन्तमा, अध्यक्ष इन्द्र राउतद्वारा साम्राज्यवादी सूचना भूमण्डलीकरणको आतंक, उपभोक्तावादी चिन्तन र संस्कृति, संशोधनवादी तथा अवसरवादीहरुको चौतर्फी घेराबन्दीलाई तोड्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा जनपक्षीय तथा क्रान्तिकारी पत्रकारिताको क्षेत्रमा गुणात्मक रुपमा अगाडि बढ्न र सम्मेलनको भव्य तयारीमा जुट्न आव्हान गर्दै भेलाको समापन गरियो ।
८– २१ गते भदौमा बसेको सम्मेलन आयोजक समितिको पहिलो बैठकले ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने ठोस गर्दै जिल्ला तथा प्रदेशको भेला वा सम्मेलन तिहार अगाडि गरिसक्ने निर्णय गरेको छ ।
९– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिताको खारेजीको माग गर्दै जिल्ला, प्रदेश तथा केन्द्रले विभिन्न कार्यक्रम गरी विरोध जनाउने र नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा सहभागिता जनाउने निर्णय समेत बैठकल गरेको छ ।”