काठमाडौं– दुर्गम पहाडी जिल्ला गोरखाबाट काठमाडौंका लागि उडान भरेको अल्टिच्यूड एयरको एउटा हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सम्पर्क बिहीन भएपछि खोजीमा रहेको उक्त हेलिकप्टरको अहिलेसम्म केही पनि पत्तो लागेको छैन ।
तर एक जापानी नागरिकसहित छजना यात्रु बोकेर काठमाडौंका लागि प्रस्थान गरेको उक्त हेलिकप्टरमा पाइलट सहित सात जना रहेको बुझिएको छ ।
ए एल एच ओके कलसाइनको सो हेलिकप्टरका क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्होआनी डोल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ रहेको खुल्न आएको छ ।
संभावित दुर्घटना भएको ठाउँहरुमा धादिङ र नुवाकोटबाट हेलिकप्टर खोजीका लागि प्रहरीको टोली खटाइएको बताइएको छ ।