ओली सरकार कम्युनिष्ट सरकार होइन

ओली सरकार कम्युनिष्ट सरकार होइन

मुलुकको सरकारका विषयमा धेरै चर्चा र वहस चलेको छ । त्यो वहस के भने एकथरी मानिसहरु मुलुकको वर्तमान सरकार कम्युनिष्ट सरकार हो । मुलुकमा अब कम्युनिष्ट शासन आयो, जनवाद आयो । अब यहाँ क्रान्तिस्र्रान्तिका कुरा हुँदैनन्, अब मुलुक विकास र समृद्धिको दिशातिर जान्छ । नेपालमा कम्युनिष्ट सत्ता आयो । अब भारेभुरे कम्युनिष्ट यसैमा आएर बिलिन हुनुपर्छ ।
अब बाहिर बसेर कसैको अस्तित्व रहँदैन । हाम्रो एकतामा आउन नचाहनेहरु कम्युनिष्ट हुन सक्दैनन् । तिनीहरु कि त जडसूत्रवादी हुन् कि त उग्रवादी हुन् आदिआदि । यी कुराहरु भनेर आत्मरति लिइरहेका छन् ।

सरकारभन्दा बाहिर रहेका अर्काथरी मान्छेहरु के भन्छन् भने मुलुकमा अब क्मय्ुनिष्ट सरकार आयो, अब यसले अधिनायकवाद लाद्छ । हाम्रो हस्तित्व समाप्त हुन्छ । हाम्रो प्रभुत्व खत्तम हुन्छ । हाम्रो स्वर्गमा आगो लाग्छ । हामी सधै सरकारबाट बाहिरिन पर्ने भयो । हाम्रो लुटको संरचना सबै भत्किने भयो, बर्बाद भयो । सर्वनाश भयो आदि आदि भनेर चिच्याइरहेका छन् ।

वास्तवमा नेपालमा कम्युनिष्ट सरकार आएको हो कि होइन, कम्युनिष्ट सत्ता स्थापना भएको हो कि होइन अथवा भनौ वर्तमान ओली सरकार कम्युनिष्ट सरकार हो कि होइन ? आली एण्ड दाहाल कम्पनीहरु नै कम्युनिष्ट हुन् कि होइनन् । यसबारे चर्चा गर्नु सान्दर्भिक होला ।

वर्तमान सरकार बनेदेखि हालसम्मका नेपालका आधिकांश संचार माध्यमहरुले आफ्ना समाचार माध्यमहरुबाट भंगेरा टाउके अक्षर शीर्षक दिएर ‘नेपालमा पहिलो पटक बहुमतको कम्युनिष्ट सरकार बन्यो’, ‘अब नेपालको काँचुली फेरिने भयो’ । अब मुलुक रातारात समृद्धि र विकासको बाटोमा लम्कन्छ । अब यहाँ कोही भोको र नांगो बस्नु पर्दैन, कोही बेरोजगार बस्नु पर्दैन आदि आदि समाचार लेखेर मख्ख परिरहेका छन् ।

यहाँका आफूलाई बुद्धिजीवी ठान्नेहरु समेत सरकारको स्वरुप र अखबारे वा विद्युतीय संचार माध्यमहरु पढेर खुसीले गदगद भएका छन् । झन् सरकार पक्षका मान्छेहरुको त जमिनमा खुट्टा नै छैनन् । उनीहरु न कसैलाई पत्याउँछन् न गठ्याउँछन् । उनीहरु यति उन्मत्त छन् कि उनका अगाडि न कुनै सरकारी कर्मचारी बोल्न सक्छ न प्रहरी प्रशासन । न सिधासाधा जनता बोल्न सक्छन् न कुनै महानुभाव । स्थानीय सरकारदेखि केन्द्रिय सरकारसम्म अझ राष्ट्रपतिसम्मका सत्तासिनहरुदेखि सबै बसिभूत भएका छन् ।

यतिबेला तिनीहरुले जस्तोसुकै अपराध गरे पनि न कुनै कानुन लाग्छ, न त कुनै सजाय नै भोग्नु पर्छ । कर्मचारी तन्त्रदेखि ठेकेदारीतन्त्रसम्म जताततै उनीहरुकै बोलवाला छ मुलुकमा । कुनै अपराधमा कोही कसैलाई प्रहरीले गिरफ्तार गरे पनि मन्त्री, सांसद वा कुनै बडे नेताजीको एक कल फोन आएपछि प्रहरी प्रशासन थरथरी काप्दै माफ गर्नु होला केटाहरुले गल्ती गरेर ल्याएछन् भनेर छोड्नु पर्ने अवस्था सिर्जना भएको छ । त्यति मात्र होइ, कुण्डले मुण्डले गुण्डा दादागिरी जे भए पनि सत्तापक्षको भएपछि प्रहरी प्रशासन र कर्मचारीतन्त्रले उनीहरुको सपोर्ट गर्नैपर्ने नगरे जागिरै चट् ।

यतिबेला सत्ताको नाममा गुण्डागर्दी निकै बढेर गइरहेको छ । त्यो प्रवृत्तिले सिंगै मुलुकलाई नै आफ्नै बपौती ठानेको छ । यसले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा समेत गंभीर आँच पुर्याएको छ । नेपालको राष्ट्रियता र सर्वभौम सत्तामाथि गंभीर प्रश्नचिन्ह खडा गरेको छ । स्वाभिमानी नेपालीका निम्ति यो चुनौतीको विषय पनि हो । यसलाई कुनै पनि हालतमा सहज र स्वभाविक मान्न सकिन्न । मुुलुकको शासन सत्ताको कुनै पनि निकायमा कुनै पनि काम विशेषले प्रवेश गर्दा आफ्नो काम सम्पन्न गर्नका लागि सत्ताधारीको गुलाम गर्नु पर्ने स्थितिले वर्तमान ओली सरकार र त्यसको गठबन्धन कम्पनी हिटलरको फासीवादको अभ्यास गर्दैछ भन्न हिचकिचाउनु पर्दैन ।

अब रह्यो यो सरकार कम्युनिष्ट सरकार हो कि होइन भन्ने सवाल । वास्तवमा यो सरकार कम्युनिष्ट सरकार होइन र हुन सक्दैन । योसँग न कुनै कम्युनिष्ट सिद्धान्त छ, न विचार, न कुनै कम्युनिष्ट आर्दश छ, न त कुनै वर्गीय पक्षधरता । यो त सर्वहारा वर्गीय विश्व दृष्किोणबाट च्यूत भएका मालेमावादी सिद्धान्त विचारलाई परित्याग गरी प्रक्रियावादी कित्तामा आत्मसमर्पण गर्न पुगेका भगौडाहरुको सरकार हो । योसँग न कुनै राष्ट्रियतासम्बन्धि एजेन्डा छ, न जनतन्त्र न जनजीवीकासम्बन्धी, न त कुनै खाका र भिजन छ । योसँग न स्वाभिमान छ, न स्वत्व । योसँग न राष्ट्र र राष्ट्रियता प्रतिको कर्तव्य छ, न त जनताप्रतिको जवाफदेहिता ।

अर्काेको रिमोट कन्ट्रोलबाट चल्ने सरकार कम्युनिष्ट सरकार हुन सक्तैन । नेपाल र नेपाली जनताको हितविपरीत रातारात भारतीय विस्तारवादसँग असमान सन्धिसम्झौता गर्ने सरकार कम्युनिष्ट सरकार हुन सक्तैन । यो मालेमावादी विधि र प्रक्रियाबाट क्रान्तिद्वारा स्थापित सरकार होइन । यसले त्यसप्रति कुनै साइनो सम्बन्ध राख्दैन । यो कुनै नयाँ सरकार पनि होइन । यो पुरानै प्रतिकृयावादी राज्यसत्ताको मातहतमा चल्ने र उनीहरुकै हितानुकुल काम गर्ने सरकार हो । यो सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दक्षिणपंथी संशोधनवादी तथा अवसरवादीहरुको खिचडी सरकार हो । यस्तो सरकारलाई वाम अर्थात् कम्युनिष्ट सरकार भन्नु दृष्टिकोणमा रहेको खोट र भ्रम शिवाय अरु केही होइन ।

वास्तवमा कम्युनिष्टहरु आमूल परिवर्तन चाहन्छन्् । पुरानो अर्थात् प्रतिकृयावादी शोषक, सामन्त तथा दलालहरुको राज्यसत्ता र सम्यन्त्रलाई उत्पीडित वर्गको व्यापक सहभागितामा गरिने क्रान्तिद्वारा सशस्त्र बल प्रयोगको माध्यमबाट ध्वस्त पारी सर्वहारा वर्गको नेतृत्वमा गठन हुने नयाँ राज्यसत्ता अथवा संयन्त्र नै साँचो अर्थमा कम्युनिष्ट राज्यसत्ता हुन्छ । त्यसको विधि र प्रक्रियाबाट बन्ने सरकार कम्युनिष्ट सरकार हुन्छ । उसको आफ्नै भिजन हुन्छ । आफ्नै नीति सिद्धान्त हुन्छ , आफ्नै रणनीतिक, कार्यनीतिक कार्ययोजनाहरु हुन्छन् ।

सिद्धान्त अनुरुपको आफ्नै लक्ष्य उदेश्य हुन्छ । उसको आफ्नै राष्ट्र र जनता प्रतिको जिम्मेदारी र जवाफदेहिता हुन्छ । राष्ट्र राष्ट्रियताको रक्षा गर्ने, जनतन्त्र जनजीविकाको ग्यारेण्टी गर्ने, राष्ट्रको सम्बृद्धि र उत्तरोत्तर विकास गर्ने आफ्नै नीति, विधि र योेजनाहरु हुन्छन् । आफ्नो मार्ग निर्देशक सिद्धान्त र विचारका आधारमा व्यापक शोषित उत्पीडित जनताको सहभागिता व्यापक जनशक्तिको परिचालन र वैज्ञानिक कार्ययोजनाकोे माध्यमबाट मुलुुकको र्सवाङ्गीण विकासमा जोड दिन्छ । कम्युनिष्ट सरकारले जनताको शक्तिलाई निर्णायक शक्ति मान्दै राष्ट्र निर्माणमा सहभागी गराउँछ । बेरोजगारीको पीडाले भौतारिएर कसैलाई विदेशका गल्ली धाउनु पर्दैन । गरीब र कङ्गालको देश भनेर मुलुकले बदनाम भोग्नु पर्दैन । वास्तविक कम्युनिष्ट सरकार भएको मुलुकमा राष्ट्रघात र जनघात गर्ने भ्रष्टाचार र कमिशन खाने तत्वहरुले छुट पाउँदैन ।

जल, जमिन, जंगल, जनशक्ति ओसार पसार गर्ने माफियाहरुले नै अहिले जस्तो संरक्षण र छुट पाएका छन् । त्यहाँ जनवादी केन्द्रीयता हुन्छ । वर्ग विभेदको अन्त्य हुन्छ । त्यहाँ योग्यता र क्षमता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था हुन्छ । त्यहाँ सबै जातजाति, लिङ्ग क्षेत्र वर्ग तथा समुदायको हक अधिकारहरु सुनिश्चित गरिन्छ । त्यहाँ वृद्धदेखि बालक सबैको उचित व्यवस्थापन र भरणपोषणका साथै जीवनको सुरक्षा हुन्छ । कम्युनिष्ट व्यवस्थामा बहुसंख्यले शासन गर्दछन् । त्यहाँ समाज विकासको प्रकृयासँगै वर्ग र सत्ताको पनि विलोप हुन्छ । वास्तवमा कम्युनिष्ट शासन व्यवस्था भनेको वर्गविहीन शासन व्यवस्था हो ।

उपरोक्त विश्लेषणबाट हामीले के निष्कर्ष निकाल्न सक्छौ भने वर्तमान सरकार कम्युनिष्ट सरकार होइन । यो कम्युनिष्ट झण्डाभित्र लुकेको क्रान्तिको धोकेबाज दक्षिणपंथी संशोधनवादी तथा विविधखाले अवसरवादी दलाल र गद्दारहरुको सरकार हो । योे सामाजिक फासिवादीहरुको सरकार हो । यसको भ्रममा नपरौ ।

कथित वाम र कम्युनिष्ट सरकार भन्ने भ्रमबाट मुक्त होऔ र उसको राष्ट्रघात र जनघातको भण्डाफोर गरौं । नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौ । यसैमा हामी सबैकोे भविष्य सुनिश्चित छ ।