अस्तिको हिजो र हिजोको हिजो यानेकि बिहीबार र शुक्रबार नेपाल मण्डलको राजधानी खाल्टोमा बङ्गालको खाडीवाला मण्डलहरूको पिकनिक सम्मेलन भयो । त्यसलाई उनीहरूले बिमिस्टेक सम्मेलनको नाउँ दिए । यो विमिस्टेक सङ्गठनको ढेँडु मुखिया थियो नेपाल मण्डलको सरकार । मिस्टर उखानप्रसाद नै यो सङ्गठनका प्रमुख मुखिया थिए । नेपाल मण्डल र अरू छ वटा मण्डलका सरकार र सत्ताका ढेँडुहरू यो पिकनिक सम्मेलनमा सामेल थिए । साथमा ढेँडुहरूका कारिन्दाका रूपमा सबै मण्डलका एकेक थान मन्तरीहरू पनि सो पिकनिकमा सहभागि थिए । तिनरुको पिकनिकले अठार बुँदे केकेजाति काठमान्डु घोषणापत्र अर्थात् घोप जारी गरे । यो बाई मिस्टेकले जारी गरेको घोषणापत्र यस प्रकार छ –
१. सर्ब प्रथम यो बाई मिस्टेक पिकनिकको व्यवस्थापन नेपाल मण्डलको सरकारले गरेकोमा यहाँका मुखिया हाम्रो सङ्गठनका पनि ढेँडु मुखिया मिस्टर उखानप्रसादलाई धन्यावाद दिने प्रस्ताव जारी गर्दछ ।
२. त्यसपछि सार्कलाई पेण्डुलम बनाउन सफल भएकोमा र यो बाई मिस्टेक सङ्गठनलाई बलियो बनाएर गुज्जरभैयालाई टाउको दुखाउँदै आएको पाकिस्तानलाई एक्लाउन सफल भएकोमा मिस्टर गुज्जरभैयालाई मुरीमुरी धन्यावाद र बधाइ दिने प्रस्ताव जारी गर्दछ ।
३. बाईमिस्टेकलाई प्रयोग गरेर उत्तरतिरको ग्रेटवाल सर्खारलाई घेरा हाल्ने गुज्जर सर्खारको रणनीतिलाई सबैले स्वीकर गरेका छौँ भन्ने प्रस्ताव जारी गर्दछ ।
४. तेस्रोमा नेपालमण्डलमा खानपिन, उठनबसनको राम्रो प्रवन्ध मिलाएकोमा र यहाँका रैतीहर्लाई जाममा सुकाएर, तड्पाएर, हिँडडुल गर्न पनि नियम कानून लगाएर, सास्ती दिएर, गाडिमोटर गुडाउन रोक लगाएर, राजामहाराजाहरूको सानसौकत दिलाउँदै सवारी चलाएकोमा मिस्टर उखानप्रसादको सरकारलाई धेरै धेरै धन्यावाद दिने घोषणा जारी गर्दछ ।
५. राष्ट्रका पति सम्मान्ने आधापति महोदयाले दिवाभोज र सरकारका मुखिया मिस्टर उखानप्रसादले रात्रीभोज खुवाएर रुचीअन्सारका रमझम पिलाएर कृतकृत्य बनाएकोमा धेरै धेरै धेरै धन्यावाद दिने प्रस्ताव जारी गर्ने घोषणा गर्दछ ।
६. यहाँका मठमन्दिर, गुम्वा, चैत्य आदि इत्यादिमा घुमफिर गर्ने प्रवन्ध मिलाएकोमा मिस्टर उखानप्रसादलाई लाखलाख धन्यावाद दिने प्रस्ताव जारी गर्दछ ।
७. यो बिमिस्टेक सङ्गठनमा सामेल भएका मुलुकहरूमा आलोपालो गर्दै यस्तै खानपिनको पिकनिक सम्मेलन मनाउने र राष्ट्र र सरकारका मुखियाहर्ले देशाटन गर्ने, घुमफिर गर्ने, ऐसाराम लिने, मोजमस्ती गर्ने कुरालाई निरन्तरता दिने प्रस्ताव जारी गर्दछ ।
८. मिस्टर उखानप्रस्तावको काठमान्डुमा रेल गुडाउने, पानी जाज उडाउने, घरघरमा ग्यास पाइप पु¥याउने, हावाबाट बिजुली निकाल्ने आदि इत्यादि हावादारी प्रस्तावलाई हावामै उडाउन सर्बसम्मतले पास गर्दै आङभन्दा टाङ ठूला प्रस्ताव अघि साररेर रैती मनुखेलाई मख्ख पार्दै मूर्ख बनाउन सफल भएकोमा मिस्टर उखानप्रसादको नाउँ गिनिजबुकमा लेखाउने प्रस्ताव जारी गर्दछ ।
९. भुटानी शरणार्थीहरू सात समुन्द्र पारी जाने लर्को बढेर यहाँ सङ्ख्या घटेको हुनाले क्षतिपूर्ती गर्न भुटानमा बाँकीटाँकी रहेका गोर्खाभाषीहरू सबैलाई भु सर्खार र भा सर्खार मिलेर नेपाल मण्डलतिर खेद्ने प्रस्ताव जारी गर्दछ ।
१०. नेपाल मण्डलमा रहेका शरणार्थीहरूले आफ्नो मुल्कमा फर्कन पाउने भन्ने जतिलाई छिट्छिटो सातसमुन्द्र पारी खेद्ने र चुपचाप लाइर क्याम्पमा बस्न निर्देशन दिने प्रस्ताव जारी गर्दछ ।
११. हिन्दी सर्खार र नेपाल सर्खारको अनुमति नलिएर कोशीबाँधका वरपर वस्ने, त्यहाँ जन्म लिने र कोशी पीडित भनेर रुवाकल्ली गर्ने मधेशतीरका रैतीहर्लाई स्वा…..द भेट भन्ने र डुबेर मरे पनि, बगेर मरे पनि, घरखेत बगाएर बिचल्ली परे पनि, भोकभोकै मरे पनि हाम्लाई क्यै मत्लव छैन भन्ने गुज्जर सर्खार र उखाने सर्खारको प्रस्ताव सर्बसम्मतले पास गर्ने घोषणा जारी गर्दछ ।
१२. पाहाडका डाँडाकाँडा, भीर पखेरामा बस्ने, खोलाखालीका किनारातिर बस्ने अनि भुकम्प, बाढी पैरोले बगाएर, घर ढलेर चापेर मरिम, भोकभोकै परिम भनेर कोकोहोलो मच्चाउनेलाई मच्चाइ राख हाम्लाई केको खाँचो भन्ने उखाने सर्खारको प्रस्तावलाई जस्ताको तस्तै जारी गर्ने ।
१३. बाढीपैरो, भूकम्प पीडितहर्लाई राहत दिने भनेर विदेशबाट आएका राशनपानी गोदाममै थन्काएर सडाउने, पैसाजती ढुकुटीमा राखेर लामोसमयसम्म दमपच पार्ने, राहतका राम्रा राम्रा सामान मान्नेहर्ले सुटुक्क कुम्ल्याउने प्रस्तावलाई जसकोतस जारी गर्दछ ।
१४. नेपालका नदीनाला बगेर दख्खिनतिर जाने भएकाले कि त नेपाल सर्खारले तिनलाई थुनेर यतै राख्न सक्न परो नत्र पानी र जवानी पहाडमा रहन सक्दैनन् भन्ने गुज्जरवाणी अन्सार तिनमा दख्खिनको हक लाग्ने भएकाले आफ्नो एकलौटी हसुर्ने अधिकार सुरक्षित राख्ने गुज्जर सर्खारको प्रस्तावलाई स्वीकार गर्ने प्रस्ताव जारी गर्दछ ।
१५. हिन्दी सर्खारले चाहे अन्सार नचल्ने मण्डल र तिनका सर्खारलाई जतिवेला पनि ढाल्ने, अर्को सर्खार वदल्ने, सर्खारका निर्णय सबै हिन्दी सर्खारका दूतहर्ले भनेअन्सार चल्न पर्ने नियम पास गर्ने र त्यसलाई कानून जस्तै पालना गर्नपर्ने प्रस्ताव पारित गर्दछ ।
१६. अबदेखि सार्क सङ्गठनलाई क्रमशः प्यारालाईस लगाइदिने र गुज्जर सर्खारको अनुकूल नहुँदासम्म कोमामा राख्ने निर्णय गरेको प्रस्ताव जारी गर्दछ ।
१७. आर्को पिकनिक आगौ वर्षमा आर्को मण्डलमा गर्ने प्रस्ताव जारी गर्दछ ।
१८. अन्त्यमा यो बाईमिस्टेक पिकनिक सम्मेलन भव्य, सानदार र महत्वपूर्ण निर्णय गर्दै सफल भएको प्रस्ताव सबैमा जानकारी गराउने प्रस्ताव जारी गर्दछ ।
१७ भदौ २०७५