तस्करीको सुनले बजार ढाक्दै

तस्करीको सुनले बजार ढाक्दै

काठमाण्डौं । तिज, दशैं र तिहार जस्ता ठूला चाड पर्वहरु नजिकिदै गर्दा बजारमा सुनको अभाव भएको बताइएको छ । आफूलाई मन परेका गहनाहरु बनाउन सुन पसलमा पुगेका ग्राहकहरुलाई गहना बनाउने कच्चा सुन नभएको भनेर रेडिमेड सुन पनि महंगो भाउमा बिक्रि गर्दै गरेको ग्राहकहरुको गुनासो छ ।

सरकारले बजारमा दैनिक २० किलो सुन राष्ट्र बैंक मार्फत् उपलब्ध गराउँदै आएको छ, तर सुन व्यापारीहरुको मागअनुसार दैनिक पैतीस किलो सुन उपलब्ध गराएमा मात्र बजारको मागलाई धान्न सकिने बताउँदै आएका छन् । दशैं र तिहारको बेलासम्म पुग्दा सुनको माग अझै बढ्ने अनुमान गरिएको छ ।

राष्ट्र बैंकका अनुसार बजारमा माग भए अनुसारको सुन उपलब्ध गराउन कानुनी ब्यबधानहरु रहेको बताउँदै आएका छन् । हालको कानुनी मापदण्डअनुसार पच्चीस किलो सुन मात्र सुन व्यापारीलाई उपलब्ध गराउन सकिन्छ । राष्ट्र बैंकमा स्टक सुन भएपनि माग अनुसारको सुन उपलब्ध गराउन प्रचलित ऐन नियम संशोधन गर्नु पर्दछ । यी कारणहरुले बजारमा सुन अभाव देखिएपछि सुुन तस्करहरु बढी मूल्यमा सुन बेच्नका लागि बार्गेनिङ गरिरहेका सुन व्यापारीहरुले खुलेआम बताउने गरेका छन् । उनीहरुका अनुसार ‘ग्राहक आएपछि रित्तो हात र्फकाउन भएन, महंगो मूल्यमा भए पनि भूमिगत सुन बेच्नु पर्ने बाध्यता छ ।’

यही मौका छोपेर नेपालमा वर्षेनी दशौ क्विन्टल सुन तस्करी गरेर भूमिगत सरकारी च्यानल मार्फत् नेपाली सुन बजारमा भित्र्याउने गरिरहेका छन् । शनम शाक्य हत्या काण्ड र तेत्तीस किलो सुन प्रकरणका साथै ३० क्विन्टल सुन नेपाली सुन बजारमा पचिसकेको छ ।