प्रवासमा संगठन विस्तार अभियान राम्रोसंग भएको देखियो । यसबारे बताइदिनुस् न ।

हार्दिक शुभकामना !

नेपाली एकता समाज भारतले विभिन्न प्रदेशहरुमा आफ्नो संगठनको भेला, सम्मेलन र बैठकका लागि हामीहरुलाई आमन्त्रण गरेको थियो । सोही आमन्त्रणअनुसार आमी त्यहाँ पुग्यौ पनि । म सहित पाँचजना साथीहरु अभियानमा सहभागी भएका थियौं । हाम्रो पहिलो कार्यक्रम हैदराबादबाट सुरु भयो । हैदराबादमा दुईवटा नगर समितिको संयुक्त रुपमा सम्मेलन सम्पन्न भयो ।

हामीहरु त्यसपछि मुम्बैमा गयौं । त्यहाँ तीनवटा नगर सम्मेलनहरु सम्पन्न भए । मुम्बैदेखि हामी दिल्लीहुँदै जम्मुकास्मीर गयौं । जम्मुकास्मीरको लेलद्दाखमा चारओटा नगर समितिको सम्मेलन सम्पन्न भयो ।

त्यसपछि हामी दिल्ली फर्कियौ । त्यहाँ एउटा नगर समितिको सम्मेलन सम्पन्न भयो । सोनीपतमा अर्काे नगर सम्मेलन सम्पन्न भयो । पञ्जाबमा अर्काे नगर सम्मेलन सम्पन्न भयो । कूल गरेर बाह्रओटा नगर सम्मेलनहरु सम्पन्न भए ।

त्यस दौरानमा अन्य गतिविधिहरु पनि केही भए ?

यी सम्मेलन कार्यक्रमहरुसँगै सांस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न भए । अन्तरक्रिया छलफल र बहसहरु पनि भए । आवश्यकताअनुसार समसामयिक प्रशिक्षण कार्यक्रमहरु पनि संचालन गरिए । यी कार्यक्रमहरु सम्पन्न गर्न हामीहरुलाई एक महिनाको समय लाग्यो ।

यसरी धेरै ठाउँमा कार्यक्रम सम्पन्न गर्दा यात्रा जस्तो पनि भयो । कस्तो अनुभूति गर्नु भएको छ ?

भारतको राजधानी सहर दिल्लीदेखि लद्दाख जम्मुकश्मिर सम्मको यात्रा गर्दा संगठन निर्माण तथा जनपरिचालन अभियान आफैमा यात्रा जस्तो पनि भयो । रमाइलो भयो । टिमबद्ध हिंडाइ र बसाइका हिसाबले हामीहरु पनि निकै उत्साहित भयौ । उपस्थित साथीहरु पनि निकै उत्साहित हुनु भयो । सम्मेलनको जमघट, साथीहरुको जिज्ञासा, सैद्धान्तिक स्तर र आजको आवश्यकतालाई हेरेर यस लगत्तै सैद्धान्तिक, राजनैतिक, वैचारिक लगाएतका प्रशिक्षण कार्यक्रमहरु लैजानु पर्ने जरुरी देखिएको छ । प्रशिक्षणको आवश्यकता टड्कारो देखियो । साथीहरुको सुझाव पनि हामीलाई त्यही खालको भयो । र, हामीले पनि साथीहरुलाई त्यही सुझाव दियौं । सहयोेग आवश्यक भएमा त्यहाँ पुग्ने वाचा पनि गरेर आएका छौं ।

जनसहभागिता कस्तो थियो ?

सम्मेलनहरु, भेटघाट र छलफलहरुमा जनसहभागिता निकै उतसाहवद्र्धक थियो । जुन जुन नगरहरुमा भेला सम्मेलनहरु गरिए, ती नगरका प्रायः सबै ठाउँबाट उपस्थिति रहेको थियो । जनमानसलाई हेर्दा लाग्दथ्यो अब प्रवासी नेपालीहरु नेपाली एकता समाज भारतमा सघनरुपले एकताबद्ध हुँदै गएका छन् । धेरैजसो त देशभित्र चलेका युद्ध र आन्दोलनहरुमा प्रत्यक्ष सहभागी भएकाहरु पनि थिए । छलफल र कुराकानीका क्रममा ती सबै कुराहरु सहजै स्मरण गरिए पनि । तर पनि देशमा अहिले बनेको सरकारले सबै खालको उत्पीडनको अन्त्य गरेर समानता ल्याउन सक्ने स्थिति नभएकोमा सबै एकमत थिए । जबसम्म देशमा जनगणतन्त्र स्थापना हुँदैन, तबसम्म देश र जनताको मुक्ति हुँदैन भन्नेमा सबै विश्वस्त थिए ।

अरु प्रदेशहरुमा संगठन विस्तारको सम्भावना कति छ ?

एकदमै सम्भावना छ । कस्मिर जस्तो दुर्गम ठाउँमा त भयो, अलि अग्लो ठाउँमा रहेछ साथीहरु बिरामी हुनुभयो । बीचमा भोपालमा पनि भयो । तर भोपालमा भने हामी जान पाएनौँ । भोपालमा त्यहाँ २१ मार्चमा महासचिव गएर सम्पन्न गर्नुभयो । नेपालीहरु पनि त्यहाँ बसोबास गर्नुुहुन्छ । अब कार्यक्रम बनाएर जनताको घर दैलोमा जानुपर्छ । संगठन नहुने कुरो नै भएन । नयाँनयाँ साथीहरुलाई भेट्यौ । उहाँहरु आउनुभयो । उहाँहरुले त्यो सामाजिक संगठन हो सामाजिक कार्यमात्र गर्छ भन्ने बुझ्नुभएको रहेछ । सामाजिक काम त गर्छ नै । तर सामाजिक कामले मात्र हाम्रो उद्देश्य पूरा हुँदैन । राजनीतिमा पनि हामी सचेत हुनुपर्छ भन्ने कुरा हामीहरुले उहाँहरुलाई सम्झायौ र बुझायौं ।
नेपाली एकता समाज भारतप्रति प्रवासी नेपालीहरुको आकर्षण बढ्नुका पछाडिका कारणहरु के रहेछन् ?

प्रवासी नेपाली संगठनहरु त अरु पनि छन् । सम्मेलनहरुमा ती सबैलाई बोलाइएको थियो पनि । तर पनि हाम्रो यो संगठनको नाम नै निकै आकर्षण गर्ने खालको प्रस्ट छ । दोस्रो कुरा, साथीहरु कम्मर कसेर संगठन विस्तारमा लाग्नु भएको छ । खटन र क्रियाशीलता निकै छ । नयाँ नयाँ ठाउँमा गएर पनि संगठन बिस्तार गरिरहनु भएको छ । दुर्गमभन्दा पनि दुर्गम ठाउँमा संगठन बिस्तार भएको छ । साथीहरुको यो खटाई र योजनाबद्धतामा कार्यक्रमहरु हुँदै गए भने संगठन दु्रत गतिमा बिस्तार हुने छ ।

अर्काे महत्वपूर्ण कुरो, हाम्रा साथीहरु त्यहाँ रहेका नेपाली प्रवासी संगठनहरु सबैसँग हातेमालो गरेर अगाडि बढिरहेका छन् । सबैसँग मैत्रीपूर्ण सम्बन्ध रहेको छ । यो पहल र सहकार्यलाई निरन्तरता दिन सुझाव पनि दिएका छौं ।

प्रवासमा संगठन व्यापक रुपमा बिस्तार हुँदा त्यसको असर देशभित्र कत्तिको पर्ने देख्नुहुन्छ ?

प्रवासमा हामीहरुले देशैभरका साथीहरुलाई भेट्यौं । त्यहाँ नेपालको मोटामोटी चित्र अनुभूत हुन्छ । डुल्दै जाँदा जम्मुकश्मिरतिर नेपालका हिमाली भागका साथीहरुलाई भेट्यौं । दिल्ली लगाएतका नगरहरुमा प्रायः नेपलभरिका साथीहरु भेट्यौं । नेपालभरका साथीहरुलाई भेट्दा रमाइलो पनि भयो । विचार र अनुभूतिहरु पनि एकै ठाउँमा केन्द्रित हुन आए ।

प्रवासमा संगठन विस्तार गरेर देशभित्र प्रवेश गर्दा कस्तो अनुभूति भएको छ ?

देशभित्र प्रवेश गर्दा न त उत्साहको वातावरण छ, न त आशाको । बरु यहाँ अत्याचार र विरोध प्रदर्शनको वातावरण छ । देशभर सरकारबाट गिरफ्तारी, धरपकड र कफ्र्यु जारी गरिएको छ । चेलीहरु बालात्कृत भएका घटनाले देश स्तब्ध छ । गोली चलाइएको छ र विद्यार्थीहरुको हत्या गरिएको छ । यो सरकारको देश र जनताप्रति प्रेम नै छैन ।

यी सस्याहरुलाई हल गर्न कस्ता खालका संघर्षका कार्यक्रमहरु उठान गरिए उपयुक्त होला ?

यी सबै अन्याय, अत्याचार, हत्या, बलात्कार, विभेद, दमन आदि सबै जनविरोधी राज्यको चरित्रसँग जोडिएका छन् । यिनका विरुद्ध संघर्षगर्दा देशको हित हुने संघर्षका कार्यक्रम, जनता र जनमुखी संघर्षका कार्यक्रमलाई अगाडि बढाउनु पर्दछ । यी सबै राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका छन् । संघर्षका विषयहरु मिल्ने सबै एकजुट भएर अगाडि बढ्नुपर्छ । यसका लागि हामीहरुले मेहनत गरिरहेका छौं ।

अन्त्यमा, जनतालाई के भन्न चाहनुहुन्छ ?

नेपाली जनताले के कुरा बुझ्नुपर्छ भने नेपालमा केही राजनीतिक परिवर्तनहरु त भए । राणा शासन गयो, पञ्चायती शासन गयो, संवैधानिक राजतन्त्र पनि गयो । यी सबै राजनीतिक परिवर्तनहरु थिए । तर सारमा राज्यसत्ता परिवर्तन भएकै थिएन र छैन पनि । सरकारमा जानेहरुको वर्ग, नैतिक चरित्र र धरातलमा केही पनि परिवर्तन भएन । नयाँ अनुहारहरु पुरानै राज्यसत्तालाई पुरानै ढंगले टालटुल पारेर भ्रम छर्दै सत्तामा बसिरहेका छन् । उनीहरुले केवल आफ्नो स्वार्थपूर्ति गरिरहेका छन् । यो कुरा जनताले बुझ्नुपर्छ र यसका विरुद्ध एकजुट भएर लाग्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर