झर्रोटर्रो : गाईजात्रे भाषण

आज गाईजात्राको दिन । नेपाल मण्डलमा निकै धुमधडकासँग गाईजात्रा मनाउने चलन छ । रैती मनुखेले गाईजात्रा वर्षमा एक दिन मनाउँछन् । यो जनै पूर्णिमाको भोलीपल्ट पर्छ । तर सरकारले भने आफ्नो कार्यकालभरी गाईजात्रा मनाउने भएको छ । गाईजात्रा मनाएर नै आफ्नो विकासे अभियान पूरा गर्ने सोच बनाएको छ । आज महागाईजात्राको दिन भएकाले सरकारका पर्धानमन्तरीले रैती मनुखेका नाममा विशेष सम्वोधन गरेर गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् । साथै उनले गाईजात्राको अवसर पारेर आफ्नो कार्यकालको विकास लक्ष्य पनि सार्वजनिक गरेका छन् । पर्धानमन्तरीले गरेको सम्वोधनलाई सबै रैती मनुखेले थाहा पाउन भनेर यहाँ जस्ताको तस्तै पस्किएको छ ।
पर्धानमन्तरीको सम्भाषण :

 ‘मलाई भोट दिने र नदिने देशका वासी रैतीजन !
आज गाईजात्राको पर्व भएकाले सबै रैतीजनमा गाईजात्रे शुभकामना छ । मान्नेलाई श्रीखण्ड नमान्नेलाई खुर्पाको बीँड भनेजस्तो गाईजात्रा मान्नेले यसको महत्व बुझ्चन् नबुझ्नेले यस्लाई हँसी मजाकमा उडाइदिन्चन् । सरकारले बोलेको कुरो हँसी मजाकमा उडाउने विषय हैन । अब उप्रान्त सरकारले बोलेको कुरोलाई हँसी मजाक मानेर गल्ती गर्ने काम कसैले नगरोस् भन्ने चेताउनी पनि दिन चाहन्चु । भदौरे मुलुकी ऐनले समाउला, होस विचार गर्नू । आज नेपाली रैती मनुखेको आफ्नै मौलिकतामा जन्मिएर निर्माण भएको पर्व गाईजात्रा भएकाले यस सुअवसरमा सरकारले गर्ने विकासका लक्ष्य यसै वक्तव्यमार्फत् सबैमा जानकारी गराउन चाहन्चु ।

मैले यो चुनाउ भन्दा पैला सरकारमा गएका बखत सबै रैतीजनका प्रत्यक घरका चुलोभित्रै ग्यास पाईप फिट गर्ने, देशमा पानी जाज चलाउने, रेल कुदाउने कुरो गर्दा सबैले हँसी मजाकमा उडाए । उडाउनेले ऐले पनि उडाइराख्या छन् । भुक्ने कुकुर भुक्दै गर्च हात्ती आफ्नै चाल भनेझैँ म आफ्नो बाचाबन्धन पूरा गर्न लागिपरेकै छु । म मेरै चालमा हिँड्चु । आखिरमा मैले ग्यास पाइप रैती मनुखेका घरघरमा फिट गर्दै यो अभियानको सुरुआत पूर्वबाट गरीनै सकेँ । घाम पूर्वबाट उदाउने भएकाले मैले आफ्नो बाचाकवोल पनि पूर्वबाटै उद्घाटन गरेर सुरुआत गरीसकेको छु । मलाई उतिबेला डेउडापति र हाम्रा दुई नम्बरी अध्यक्षले मिलेमतो गरेर पर्धानमन्तरीबाट नहटाएको भए यो कामको थलनी उहिल्यै भैसक्थ्यो । भेडाको मुखमा कुभिण्डो अटाए पो । आखिरमा हाम्रा दुई नम्बरी मेरै शरणमा मेरै निगाहमा आए । उतिवेला प्रभुसँग मिलेर मलाई सिध्याउन खोजेकै हुन् । प्रभुका अशली चेलो म नै थिएँ भन्ने कुरा थानीय चुनाउले बल्ल उनको खोपडीमा घाम लगाइदियो र तातिएर बल्ल मलाई चिने । जे होस् ऐले मेरै हालहुकुम भित्र आएको हुनाले शरणको मरण त गर्नु भएन । कुरो अन्तै बरालिन पो थाल्यो क्यारे ।

मैले बोलेको कुरा पूरा गरेरै छाड्चु भन्ने कुरो त ग्यास पाइप उद्घाटन गरेर देखाई हालेँ । अब त पत्याउन कर लागो होला । म यो अभियानलाई देशै भरि पु¥याउन चाहन्चु । हामीले खाना पकाउनलाई एलपी ग्यास नै प्रयोग गर्नु पर्च भन्ने त छैन । हाम्रो देशाँ त्यो उब्जिन्न पनि । बाहिरबाट ल्याउँदा नाकाबन्दीले कति सताउँच हाम्लाई । त्यसको बैकल्पिक उपाय हाम्रै देशमा प्रसस्तै छन् । चिन्न सक्नु परो । जसरी ऐले पूर्वमा बत्तीस घरमा ग्यास जोडियो त्यसैगरी देशै भरि जोड्ने उपाय मसँग छ । हाम्रो देशाँ ग्यास्टिकका रोगी धेरै छन् । प्रत्यक गाउँपालिका र नगरपालिकाका वडाहरूमा ग्याष्टिकका रोगीहर्लाई भेला पार्ने र तिनरुले उत्सर्जन गर्ने ग्यसलाई भण्डारण गरी डिपो खोल्ने । त्यहि ग्यास पाइपबाट प्रत्यक चुलो पठाउने व्यवस्था मिलाइने छ । हाम्रो देश हिमाल र पाहाडले भरिएको हुनाले डाँडाकाँडा भरी पानी जाज चलाउने व्यवस्था गरीने छ । समुन्द्रमा पुग्ने पानी हाम्रै डाँडाकाडाका मूलबाट जाने भएकाले उता जाने पानीलाई यतै रोकेर जलाशय निर्माण गरी पानीजाज चलाउन सकिने छ ।

मैले रेलको कुरा पनि सम्भव देखेको छु । हाम्रो आफ्नै प्रकारको मौलिक रेल चलाउने सोच बनाएको छु । विश्वमा कहिँ नभएको रेल हामीले चलाउन सक्चौँ । अरू देशमा रेलको लिग विच्छाउन पर्च तर हामीले हाम्रै सडकमा कुद्ने रेलको विकास गर्न पर्च । ट्याक्ट्रमा टराली गाँसेर माल ओसार्ने र मनुखे आसार्ने डिब्बा तयार गर्यौँ भने रेल कुदाउन सकिने छ ।

ऐले हाम्रो सरकारलाई कर लगायो भनेर चौतर्फी आलोचना भइरहेको छ । मैले पैला नै सङ्घीयता महङ्गो व्यवस्था हो, रैतीले धान्न सक्दैनन् भनेकै हुँ । त्यतिवेला मलाई सङ्घीयता विरोधी, राजासँग मिलेको आदि नाना प्रकारका नन्दीभृङ्गी आरोप लगाइयो । हाम्रा दुई नम्बरी अध्यक्षले त मेरो छाला मात्रै नभएर हड्डी देखाउनेगरी मलाई खोल्स्याउने दुस्वप्न देखे । मरै भित्रीयापट्टीका इलामे बाहुन पनि मेरा विरुद्ध लागे । रैतीले मेरा कुरा सुनेनन् । सङ्घीयता ल्याएपछि त स्वर्गै पुगिन्च जस्तो गरे । ऐले कर बढायो भनेर भन्नी ? कर नबढाए यत्रा मान्ने मन्तरी, थानीय सरकारका नेता के गरी पाल्ने ? त्यै भएर कर बढेको हो । अब रैतीले खुरुक्क कर तिर्ने र सङ्घीयताको फल लप….अ लप…अ चाट्ने । अब सङ्घीयताको बारेमा बहस गर्ने समय छैन । गर्नु पनि हुँदैन । हाम्रा तेत्रा कार्यकर्ता पालेको छ । सबै मन्तरी र मान्ने हुन पाका छन् । मेयर र गाउँपालिकाका मठाधिसहरू हुन पाका छन् । जे जस्तो भएपनि राम्रै भएको छ ।

देशको विकास गाउँपालिका र नगरपालिकाका वडाहरूका वडाधीसहरूलाई डोजर किन्न लगाएर उनका छोरा नातिहरूलाई ठेकेदार बनाएर बाटो नाला कुलो खन्नेमा लगाएर गरिने छ । बेरोजगारहर्लाई खाडितिर रोजगारको व्यवस्था गरिने छ । कहीँ जान नपाएर घरमै थन्किएकालाई सय दिनसम्मका लागि घरघरमा पैसा दिएर बसि बसि खाने व्यवस्था गरिने छ । सयदिनको पैसाले तीन सय पैँसट्ठी दिनसम्म पु¥याउनु पर्ने छ ।
१० भदौ २०७५