बर्दघाट : देशभक्त जनगणतान्त्रिक मोर्चा बर्दघाट नगर समितिले सोमबार अवैज्ञानिक रुपमा लिएको कर खारेजीलगायतका २३ बुँदें माग राख्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाको कार्यालय हरियालीनगरबाट ¥यालीसहित निस्केको टोलीले नगर प्रमुख धीरज शर्मा बस्याल समक्ष ज्ञापन पत्र बुझाएको हो ।
मोर्चाका नगर संयोजक ज्ञानबहादुर केसीको नेतृत्वमा नगर कार्यालयमा पुगेको सो टोलीले अवैज्ञानिक कर खारेजी, ईरिक्सा चालकमाथि लगाइएको दोहोरो कर खारेजी एंवम् मृत्यदर्ता शुल्क खारेजी, कृषकहरुका लागि क्रेडिट कार्ड, बेरोजगार युवालाई स्वरोजगारको ब्यवस्थालगायतका माग राखिएको ज्ञापन पत्र प्रदान गरेको छ ।
देजमोको सो ज्ञापन पत्रमा सहज स्वास्थ्य उपचार, शिक्षामा निजीकरणको अन्त्य, महिला हिंसाको अन्त्य, बजार अनुगमन, कृषकहरुका लागि मलखाद र बीऊ लगायतका माग समेत रहेका छन् । ज्ञापनमा ती माग पूरा नभए सशक्त आन्दोलन गर्ने अवस्थाको सिर्जना नगर्न नगराउन समेत सचेत गराइएको छ ।
सो अवसरमा ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बस्यालले नगरले गर्न सक्ने मागहरु यथासमयमा नै पूरा गर्ने र गर्न नसकिने मागहरुलाई माथिल्लो निकायमा पठाउने बताएका छन् । उनले त्यहाँ पुगेको टालीलाई आश्वस्त पार्दै आन्दोलनको अवस्था आउन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।