काठमाडौं, भदौ ३ । गत शुक्रबार रातिदेखि आएको अविरल वर्षा र खाँधीखोल्चाको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजार जोडिने साँधीखोल्चाको पुल केही मिटर तल धकेलिए पछि बाह्रबिसे–तातोपानी सडकखण्डमा गुड्ने यातायात ठप्प भएको थियो । लगत्तै शनिबार राति करिब १०.३० तिर फेरि साँधीखोल्चामा ठूलो बाढी आयो र बाह्रबिसे तातोपानी जोड्ने पुल बगायो र सीमा सम्पर्क पूर्ण रुपमा टुट्यो ।
शनिबार राति आएको बाढीले पुल पूर्ण रुपमा बगाए पछि त्यहाँ ठूला ठूला ढुंगा आएर साँधीखोल्चा थुनिदाँ बाढी बजार तिर माडियो र बजारलाई जलमग्न बनायो । गएको साउन ३० गते बाह्रबिसे नगरपालिका वडा न ४ को ओख्रेनी भिरकुनामा आएको पहिरोको कारणले भिरकुना हुँदै ओख्रेनी र त्यस भन्दा तलका घरहरु ठूलो क्षति पुगेको थियो । अहिले उनीहरु छिमेकीको शरण लिँदै आइरहेका छन् ।
भीरकुनाबाट झरेको पूरा पहिरो आइसकेको छैन त्यसैले जोखिम झन् बढ्दै गएको छ । बजारका अधिकांश पसलमा भित्र पानीको बहाव पसेर क्षति पुर्याएको स्थानीयले बताएका छन् । साँधीखोल्सा वरीपरी रहेका झण्डै ६ घरमा अत्यधिक क्षति पुगेको छ । छेउका ४ घर उच्च जोखिममा छन् ।
नगर क्षेत्रभर बाढी र पहिरोको त्रास बढेपछि उद्धारका लागि प्रहरीलाई खटाइएको बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताउनुभयो ।सुरक्षा र उद्धारको लागि प्रहरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । भौतिक क्षतिको तंथ्याक संकलन भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।