काठमाडौं, भदौ ३ । केरुङ–काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी–काठमाडौं खण्ड निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार पारेको प्रारम्भिक सम्भाव्यता रिपोर्टको अनुसार रेलमार्ग पुरा हुन ९ वर्ष लाग्ने भएको छ ।
चिनियाँ प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, केरुङ–रसुवागढी–काठमाडौं करिब ७२.२५ किलोमिटर दुरीको हुनेछ । प्रतिकिलोमिटर रेलमार्ग निर्माण गर्न ३.५५ अर्ब लाग्ने अनुमान छ । अफ्ठ्यारो भूगोल भएकाले यो रेलमार्गमा ९८.५ प्रतिशत पुल तथा टनेल निर्माण गर्नुपर्नेछ । प्रारम्भिक अध्ययन प्रतिवेदनमा दुबै पक्षबीच छलफल भएपछि चिनियाँ पक्षले नेपाललाई उक्त प्रतिवेदन हस्तान्तरण समेत गर्नेछ ।
चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको एक टोलीले जेठमा केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गरेको थियो । टोलीले नेपालको रेल विभागसंग मिलेर झन्डै १० दिन लगाएर प्रारम्भिक अध्ययन गरेको थियो । सहमति अनुसार, प्रारम्भिक अध्ययनका लागि चीन सरकारले खर्च बेहोरेको थियो ।
प्रारम्भिक अध्ययनको प्रतिवेदन आएपछि डिपिआरको काम अघि बढ्ने रेल विभागका सुचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयको टोली चीनबाट फर्केपछि त्यसमा थप गृहकार्य हुनेछ ।
अघिल्लो बर्ष कार्तिकमा चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख च्याङ चियानको नेतृत्वमा आएको ३३ जनाको टोलीले केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलर्मागको सम्भाब्यताको प्रारम्भिक अध्ययन समेत गरेको थियो ।